म्याग्दी/ आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीको बेनीमा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
जिल्ला समन्वय समितिमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापा र प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले संयुक्त रुपमा उद्घाटन गरे । जिल्ला अदालत म्याग्दीका न्यायाधीश समेत रहेका मुख्य निर्वाचन अधिकृत थापाले निर्वाचन आयोगको कार्यतालिका अनुसार सम्पूर्ण प्रक्रिया अघि बढाइने बताए । प्रमुख जिल्ला अधिकारी आचार्यले निर्वाचन भयरहित, स्वतन्त्र र निष्पक्ष हुने विश्वास दिलाउँदै शान्तिपूर्ण र सुरक्षित निर्वाचन सम्पन्न गराउन प्रशासन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए । जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले जिल्लाभित्र रहेका मतदाता, मतदानस्थल तथा हालसम्म गरिएको कामका बारेमा जानकारी गराएका थिए । नेपाल पत्रकार महासंघका अध्यक्ष हरिकृष्ण गौतमले निर्वाचनलाई सफल पार्ने दायित्व पत्रकारको पनि दायित्व भएकाले स्वतन्त्र र निष्पक्ष रुपमा कलम चलाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
मुख्य निर्वाचन कार्यालयबाट निर्वाचनसम्बन्धि सम्पूर्ण गतिविधिका साथै उम्मेदवारहरुको उम्मेदवारी दर्ता, निर्वाचनका लागि कर्मचारी परिचालन, निर्वाचनसम्बन्धी सामग्रीको व्यवस्थापनका साथै सबै मतदानस्थलसम्मको विवरण उपलब्ध हुनेछ ।आगामी फागुन २१ गते गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि म्याग्दीमा कुल ८६ हजार तीनसय ९७ मतदाता कायम भएका छन् । प्रतिनिधि सभातर्फ १ निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ८२ वटा मतदानस्थल र १ सय १९ वटा मतदान केन्द्र कायम गरिएको छ । जिल्ला सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले १५ वटा अति संवेदनशील, ५८ वटा संवेदनशील र ८ वटा मतदानस्थललाई समान्य भनेर बर्गिकरण गरेको छ ।





