काठमाडौं / निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिलाई मान्यता दिने निर्णय गरेको छ। शुक्रबार दुवै पक्षसँग छलफलपछि आयोगले थापालाई सभापतिमा मान्यता दिने निर्णय गरेको हो। राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गरेर थापालाई मान्यता दिने निर्णय भएको आयोगले जनाएको छ।
कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी र आयुक्त सगुन शम्शेर जबराले विशेष महाधिवेशन पार्टीको सर्वोच्च निकाय रहेकाले त्यसको निर्णयलाई आधिकारिकता दिने पक्षमा उभिए । आयुक्त जानकीकुमारी तुलाधरले भने त्यस निर्णयप्रति आफ्नो असहमति दर्ज गराइन् । आयोग स्रोतका अनुसार ‘यस निर्णयमा मेरो असहमति छ’ उनको भनाइ त्यति मात्रै थियो ।
एक जना आयुक्तको असहमति भए पनि आयोगको बहुमतले विशेष महाधिवेशनको निर्णयलाई प्रक्रियासम्मत मानेको हो। यसबारे आयोगबाट जानकारी आएको कांग्रेस प्रवक्ता देवराज चालिसेले बताए। ‘आयोगले आधिकारिकता दिएको जानकारी दिनु भएको छ। हाम्रो साथी पत्र बुझ्न जाँदैछन्,’ चालिसेले भने। गत पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा थापाको अगुवाइमा विशेष महाधिवेशन आयोजना गरिएको थियो। विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको थियो।
त्यसबारे थापासहितको पदाधिकारीको टोलीले बिहीबार आयोगमा निवेदन दिएका थिए। उनीहरूले विशेष महाधिवेशनका सबै विवरण बुझाएको थियो।
त्यस्तै, शुक्रबार शेरबहादुर देउवा नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य पनि निर्वाचन आयोग पुगेका थिए। उनीहरूले पनि आधिकारिकताको दाबी गर्दै विवरण बुझाएका थिए।
त्यसपछि शुक्रबार अपराह्न आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरूले थापा नेतृत्वको टोलीसँग विशेष महाधिवेशनका विषयमा छलफल गरेको थियो। उनीहरूसँगको छलफलपछि आयोगले आधिकारिकता दिने निर्णय गरेको हो।





