पोखरा/आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनको सञ्चालन तथा व्यवस्थापनका लागि कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
निर्वाचन क्षेत्र नम्बर १ का लागि पशुपंक्षी अनुसन्धान, विकास तथा प्रशिक्षण केन्द्र रामघाट, क्षेत्र नम्बर २ का लागि सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजनाको कार्यालय ड्यामसाइड र क्षेत्र नम्बर ३ का लागि गण्डकी प्रदेशको कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्रालयको प्रशासन तथा सहकारी विकास महाशाखाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । क्षेत्र नम्बर ३ को कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत रहेको छ ।कास्कीमा मुख्य निर्वाचन अधिकृतमा कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलवासे रहेका छन् । यसैगरी निर्वाचन क्षेत्र नम्बर १ का लागि सीता रेग्मी र क्षेत्र नम्बर २ कालागि निर्मलाकुमारी खड्का निर्वाचन अधिकृत तोकिएका छन् ।
प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन यही माघ ६ गतेका दिन हुँदै छ । त्यसअअघि निर्वाचन सम्बन्धि कामलाई अघि बढाउन निर्वाचन अधिकृतको कार्यालय खोलेर कर्मचारी पनि पठाउने तयारी गरिएको हो । कास्की सहित देशभरका सबै १६५ वटै निर्वाचन क्षेत्रमा अधिकृतको कार्यालय स्थापना गरिएको हो । आयोगले ७७ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतर ८८ जना निर्वाचन अधिकृतहरु तोकिसकेको छ । जिल्ला न्यायाधीशहरुबाट मुख्य निर्वाचन अधिकृत र न्याय सेवाका द्वितीय श्रेणीका अधिकृतलाई निर्वाचन अधिकृत तोकिएको छ ।
निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनका लागि सबैको सहयोग आवस्यक– बेलबासे
कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेलवासेले निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरण सम्पन्न गर्नमा सबै पक्षको आवस्यक सहयोग र समन्वय आवस्यक रहेको बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनापछि बोल्दै उनले यसका लागि राजनीतिक दलहरु खेलाडीको भूमिकामा रहने जनाए । ‘निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरण सम्पन्न गर्नमा सबैको सहयोग आवस्यक छ’, उनले भने, ‘सबै पक्षबाट सहयोगको अपेक्षा राखेका छौ । पत्रकारको भूमीका पनि महत्वपूर्ण रहने भएकाले सही सूचना सम्प्रेषण हुनुपर्छ ।’ उनले जनताले चुनेका प्रतिनिधिबाट देशको कानुन बन्ने र जनताले अनुभूती हुनेगरी कानुनी शासनको सर्वोच्चता हुने बताए ।
कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्वाचन केन्द्रीत सुरक्षा व्यवस्था तयार गरी कार्यान्वयनमा गइसकेको बताइन् । उनले १ हजार ९ सय ७८ सुरक्षाकर्मी परिचालन गरी मतदान केन्द्र लक्षित गरी नियमित चेकजाँचको व्यवस्था मिलाइएको पनि बताइन् । राजनीतिक दलहरुसंग आवस्यक समन्वय भइरहेको र सवारी साधनलगायत स्रोत साधनको व्यवस्थापनमा पनि जुटिएको भन्दै उनले गत भदौ २४ मा कास्की कारागारबाट भागेका कैदीबन्दी फिर्ता ल्याउन विशेष रणनीति पनि तय गरिएको जनाईन् । ‘शान्ति सुरक्षाको हिसावले हामी तयारी अवस्थामा छौ’, प्रजिअ शर्माले भनिन्, ‘निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न हुनेमा विश्वस्त रहन आग्रह गर्छु ।’
प्रदेश निर्वाचन कार्यालय पोखराका अधिकारी नारायण ढकालले निर्वाचन आयोगको कार्यतालिका अनुसार आज निर्वाचन अधिकृतको कार्यालय स्थापन गरिएको बताए । उनले कास्कीमा १५३ मतदानस्थलमा ३६३ मतदान केन्द्र रहेका र तीन लाख आठ हजार ५७२ मतदाता रहेको बताए ।
बागलुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
फागुन २१ गतेलाई तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि शुक्रबार बागलुङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । बागलुङ क्षेत्र नं. १ को निर्वाचन सम्बन्धी कार्यका लागि जिल्ला समन्वय समिति बागलुङको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
बागलुङ क्षेत्र नं. १ का मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारीले कार्यालयको औपचारिक शुभारम्भ गर्दै मुख्य निर्वाचन अधिकृत अधिकारीले निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि सहयोग गर्न जिल्लास्थित राजनीतिक दलहरु, नागरिक समाज, सुरक्षा निकाय, पत्रकार लगायत सरोकारवालाहरुसँग आह्वान गरिन् ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले सरकारका तर्फबाट गर्नु पर्ने काम र शान्ति सुरक्षामा कुनै कमी नआउने जानकारी गराउदै निर्वाचन सफल पार्न राजनीतिक दलहरुको सक्रियता र समन्वय आवश्यक रहेको बताए ।
४ पालिकाका ३७ वटा वडामा ९८ हजार ४६ मतदाता, ४८ वटा मतदान स्थल र १ सय १५ मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालय बागलुङका निर्वाचन अधिकारी यज्ञ प्रसाद रिजालले जानकारी दिए । यस्तै क्षेत्र नं. २ मा ६ वटा पालिकामा ९५ हजार ३ सय ३५ मतदाता, १ सय १५ मतदान केन्द्र रहने रिजालले बताए ।
क्षेत्र नं. २ को निर्वाचन अधिकृत भीम प्रसाद सुवेदी रहका छन् । ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारमा क्षेत्र नं. २ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।





