विश्वव्यापी संकटको रूपमा मुटु रोग
आजको २१ औँ शताब्दीमा मानिसले प्रविधिको क्षेत्रमा अभूतपूर्व प्रगति गरे पनि आफ्नै शरीरको सबैभन्दा महत्वपूर्ण अंग मुटुको रक्षा गर्न चुकेको देखिन्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को तथ्याङ्क अनुसार, विश्वभर हुने कुल मृत्युको करिब ३२ प्रतिशत कारण हृदय रोग नै हो । प्रतिवर्ष करिब १ करोड ८० लाख मानिसले मुटुको समस्याका कारण ज्यान गुमाउँछन् ।
नेपालजस्तो विकासोन्मुख देशमा त यो समस्या झन् भयावह बन्दै गएको छ । हिजोका दिनमा सरुवा रोग प्रमुख चुनौती थिए भने आज ‘नसर्ने रोग’मा मुटु रोग पहिलो नम्बरमा छ । पहिले यो धनी र वृद्धहरूको रोग मानिन्थ्यो, तर आज न्यून आय भएका र २०–३० वर्षका युवाहरू पनि यसको सिकार भइरहेका छन् ।
१. हृदयघात के हो ? वैज्ञानिक बुझाई
हाम्रो मुटु एउटा पम्प हो, जसले शरीरभरि अक्सिजन र पोषक तत्व पु¥याउँछ । तर, यो पम्पलाई चलाउन मुटुका मांसपेशीलाई पनि निरन्तर रगत चाहिन्छ । मुटुलाई रगत दिने नलीहरूलाई कोरोनरी धमनी भनिन्छ ।
जब यी नलीहरूमा वर्षौँदेखि बोसो, कोलेस्टेरोल र अन्य पदार्थहरू जम्मा हुन्छन् (जसलाई मेडिकल भाषामा Atherosclerosis भनिन्छ), तब नलीहरू साँगुरो हुँदै जान्छन् । कुनै दिन त्यो बोसोको ढिक्का फुट्छ र त्यहाँ अचानक रगतको ढिक्का (Blood Clot) जम्छ । यसले रगतको प्रवाह पूर्ण रूपमा बन्द गरिदिन्छ । रगत नपाएपछि मुटुको त्यो भागको मांसपेशी मर्न थाल्छ । यसै गम्भीर अवस्थालाई हृदयघात भनिन्छ ।
२. जाडो महिना र हृदयघातको ‘खतरनाक’ सम्बन्ध
जाडो महिनामा अस्पतालका आकस्मिक कक्षहरू हृदयघातका बिरामीले भरिएका हुन्छन् । यसका पछाडि ठोस वैज्ञानिक कारणहरू छन्ः
–रक्तनलीको संकुचनः चिसोबाट बच्न हाम्रो शरीरले छालाको सतहमा रहेका रक्तनलीहरूलाई खुम्च्याउँछ । यसले गर्दा भित्री नलीहरूमा रगतको चाप अचानक बढ्छ । उच्च रक्तचाप हृदयघातको प्रमुख कारक हो ।
–हर्मोनल परिवर्तनः चिसोमा शरीरमा ‘स्ट्रेस हर्मोन’ (जस्तै एड्रेनालिन)को मात्रा बढ्छ, जसले मुटुको धड्कन तेज बनाउँछ र मुटुलाई बढी काम गर्न बाध्य पार्छ ।
–रगतको बाक्लोपनाः वैज्ञानिक अनुसन्धानका अनुसार जाडोमा रगतमा फाइब्रिनोजेन जस्ता प्रोटिनको मात्रा बढ्छ, जसले रगतलाई बाक्लो बनाउँछ र ढिक्का जम्ने सम्भावना बढाउँछ ।
–अक्सिजनको माग र आपूर्तिमा असन्तुलनः बाहिरको चिसो वातावरणमा शरीरको तापक्रम स्थिर राख्न मुटुले बढी ऊर्जा खर्चनुपर्छ तर साँघुरिएका नलीले पर्याप्त रगत दिन सक्दैनन् ।
३. जोखिममा को छ ?
तपाइलाई लाग्न सक्छ म त तन्दुरुस्त छु, मलाई केही हुँदैन । तर हृदयघात एक ‘साइलेन्ट किलर’ हो । निम्न व्यक्तिहरूले विशेष सावधानी अपनाउनुपर्छः
–उच्च रक्तचाप र मधुमेहका बिरामीः यी दुई अवस्थाले रक्तनलीको भित्री तहलाई कमजोर बनाउँछन् ।
–धुम्रपान र सुर्तीजन्य पदार्थ सेवनकर्ताः निकोटिनले मुटुको धड्कन बढाउँछ र कार्बन मोनोअक्साइडले रगतमा अक्सिजन घटाउँछ ।
–मोटोपना र निष्क्रिय जीवनशैलीः दिनभर कुर्सीमा बसेर काम गर्ने र व्यायाम नगर्ने मानिसको शरीरमा ‘खराब कोलेस्टेरोल’ बढ्छ ।
–युवा पुस्ताको तनावः करियर, आर्थिक र सामाजिक दबाबका कारण आजका युवाहरूमा मानसिक तनाव उच्च छ, जसले सिधै मुटुमा असर गर्छ ।
४. लक्षणहरूः शरीरले दिने अन्तिम चेतावनी
हृदयघात सधैँ चलचित्रमा देखाए जस्तै अचानक ढल्ने गरी मात्र हुँदैन । धेरैजसो अवस्थामा लक्षणहरू बिस्तारै सुरु हुन्छन्ः
–छातीमा असहजताः छातीको बीच भागमा कसैले थिचेको जस्तो, गरुङ्गो वस्तु राखेको जस्तो वा ढुङ्गाले थिचेको जस्तो महसुस हुनु ।
–दुखाइको विस्तारः यो दुखाइ देब्रे हात मात्र होइन, दाहिने हात, घाँटी, बंगारा, काँध वा ढाडसम्म पुग्न सक्छ ।
–पसिना आउनुः चिसो मौसममा पनि निधारमा चिसो पसिना आउनु हृदयघातको बलियो संकेत हो ।
–ग्यास्ट्रिकको भ्रमः धेरै नेपालीहरूले मुटुको दुखाइलाई ‘ग्यास्ट्रिक’ भनेर बेवास्ता गर्छन् । यदि पेटको माथिल्लो भागमा पोल्ने, वाकवाकी लाग्ने र बेचैनी हुने भइरहेको छ भने त्यो मुटुको समस्या हुन सक्छ ।
–सास फेर्न कठिनः थोरै हिँड्दा पनि लखतरान हुनु वा सास फुल्नु ।
५. अनिवार्य स्वास्थ्य परीक्षण
हृदयघातबाट बच्नका लागि ‘चेकअप’ गराउन बिरामी हुनै पर्छ भन्ने छैन । ३० वर्ष नाघेपछि वर्षमा एक पटक निम्न जाँच गराउनु अनिवार्य छः
–ईसीजीः यसले मुटुको चाल र पुरानो वा नयाँ चोटको संकेत दिन्छ ।
–इकोः मुटुको भल्भ र पम्पिङ क्षमता हेर्न यो भिडियो एक्सरे जस्तै हो ।
–ीLipid Profile: यसले रगतमा कोलेस्टेरोल, ट्राइग्लिसराइड र एचडीएल (राम्रो बोसो) को मात्रा देखाउँछ ।
–TMT (Treadmill Test): मेसिनमा हिँडाएर मुटुलाई भार दिँदा नलीमा अवरोध छ कि छैन भन्ने कुरा यसबाट थाहा हुन्छ ।
–HbA!c: यसले पछिल्लो ३ महिनाको औसत सुगरको मात्रा देखाउँछ ।
६. बच्ने उपाय र जीवनशैलीमा परिवर्तन
मुटु रोगबाट बच्नु भनेको अस्पतालको खर्च बचाउनु मात्र होइन, गुणस्तरीय जीवन बाँच्नु पनि हो । यसका लागि निम्न बुँदाहरू पालना गरौँः
–खानपानमा सुधारः ‘सेतो विष’ भनिने नुन, चिनी र मैदाको प्रयोग न्यूनतम गरौँ । ट्रान्स फ्याट (डालडा, प्याकेटका खानेकुरा, जंक फूड) बाट टाढै रहौँ ।
–फाइबरयुक्त खानाः दिनमा कम्तीमा ४०० ग्राम फलफूल र सागसब्जी खाने गरौँ ।
–शारीरिक सक्रियताः दिनमा कम्तीमा ३० मिनेट पसिना आउने गरी हिँडौँ । तर जाडोमा बिहान ५ बजेको चिसोमा होइन, घाम लागेपछि वा न्यानोमा हिँडौँ ।
–तनाव व्यवस्थापनः प्राणायाम, योग र ध्यानले मुटुको धड्कनलाई शान्त राख्न मद्दत गर्छ ।
–नियमित औषधिः यदि तपाईं रक्तचाप वा सुगरको औषधि खाइरहनुभएको छ भने, डाक्टरलाई नसोधी एक दिन पनि औषधि नछुटाउनुहोस् ।
७. आपतकालीन अवस्थामा के गर्ने ?
यदि कसैलाई हृदयघात भएको शंका लागेमाः
–बिरामीलाई तुरुन्तै आरामदायी अवस्थामा बसाउने वा सुताउने ।
–नजिकैको अस्पतालमा फोन गर्ने ।
–यदि उपलब्ध छ भने Aspirin (३०० mg) को चक्की चपाउन दिने । यसले रगतको ढिक्कालाई थप बढ्न दिँदैन ।
–बिरामीलाई हिँडाउनु हुँदैन, स्टेचर वा गाडीमा हालेर लैजानुपर्छ ।
निष्कर्षः
हृदयघात एउटा जटिल समस्या भए पनि यो धेरै हदसम्म रोकथाम गर्न सकिने रोग हो । हाम्रो सानो सावधानी—जस्तै जाडोमा न्यानो बस्ने, खानपानमा नियन्त्रण गर्ने र नियमित जाँच गराउनेले हामीलाई र हाम्रो परिवारलाई ठूलो बज्रपातबाट बचाउन सक्छ । मुटुलाई माया गरौँ, किनकी मुटु धड्किए मात्र जीवन चल्छ ।
यो लेख जनचेतनाका लागि तयार पारिएको हो । कुनै पनि लक्षण देखिएमा तुरुन्त विशेषज्ञ चिकित्सकसँग परामर्श लिनुहोस् ।





