मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

भुइँचालोको जोखिम आँकलन गर्दै पोखरा

भुइँचालोको जोखिम आँकलन गर्दै पोखरा

‘भूकम्प प्रतिरोधी घर निर्माणमा उदासीन’


  • ढोरपाटन संवाददाता
  • माघ ४ २०८२, आइतबार

पोखरा/नेपाल भूकम्पीय जोखिमको हिसाबले ११ औं स्थानमा पर्छ । भौगोलिक दृष्टिकोणले भारतीय प्लेट र युरेसियन प्लेट ठोक्किने क्षेत्रमा पर्दछ । २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७.९ रेक्टर स्केलको भूकम्पले झण्डै ९ हजार मानिसको ज्यान गयो भने करिब २२ हजार मानिस घाइते भएका थिए । यस्तै ६ लाख घर पूर्णरुपमा ध्वस्त भएका थिए ।

भूकम्पको उच्च जोखिममा पोखरा पनि पर्छ । पोखराको बीच भागमा सेती नदी लुकेर बगिरहँदा यसले भित्रभित्रै कति कटान ग¥यो भन्ने यकिन छैन् । बेला बेला पोखराका विभिन्न स्थानमा भ्वाङ पर्ने गर्दछ । अब भने पोखरा महानगरपालिकाले दाताको सहयोगमा पोखरा भूकम्पीय जोखिमको आधारमा कस्तो छ भन्ने कुराको अध्ययन गर्ने भएको छ । अन्नपूर्ण आरोहण गरेको ७५ औं वर्ष पुगेका कारण फ्रान्स सरकारको सहयोगमा पोखरामा जमिनको भूकम्पीय अध्ययन ‘सेस्मीक माइक्रोजोनेसन’ गर्ने भएको हो । यो भूकम्पको जोखिमका आधारमा स–साना भाग (जोन)मा वर्गीकरण गर्ने वैज्ञानिक अध्ययन हो ।

जसले पोखराको जमिनको प्रकार (माटो, ढुंगा, बालुवा आदि), भूकम्पीय तरङ्गको प्रभाव, भूकम्पको सम्भावित क्षति, तरलीकरणको जोखिम र भू–स्खलनको सम्भावनाबारेमा अध्ययन गर्ने पोखरा महानगरपालिकाका मेयर धनराज अचार्यले सुनाए ।

‘मौरिस हर्जोगले अन्नपूर्ण आरोहण गरेका ७५ औं वर्ष पुरा भएको सन्दर्भमा फ्रान्स सरकारले पोखरामा केहि सहयोग गर्ने बताएपछि पोखराको भौगोलिक अवस्थाको एक्सरे गर्न लागिएको छ । खासगरि अन्नपूर्णको काखमा पोखरा रहेका कारण फ्रान्स सरकारले यहाँ केही गर्ने इच्छा देखाएको हो सोही क्रममा हामीले सेस्मीक माइक्रोजोनेसन गर्ने भएका हौं,’ उनले भने, ‘यसले पोखराको अध्ययन गर्नेछ । कहाँको जमिन कस्तो छ भन्ने कुराको बारेमा अर्थात सामान्य भाषामा भन्दा जमिनको एक्सरे गर्नेछ ।’ सो अध्ययनलाई युएनडिपी र एडीबीको सहयोग रहनेछ ।

मेयर आचार्यले सेती नदि पोखरामा लुकेर बगेका कारण जमिनमुनि कति भाग खोक्रो छ भन्ने अहिलेसम्म यकिन तथ्यांक नहुँदा यसले पछि ठूलो विपद् निम्त्याउन सक्ने सुनाए ।

यस्तै पोखरामा भूकम्प प्रतिरोधी घर निर्माण गर्न घरधनीले वेवास्ता गर्ने गरेको उनले सुनाए । उनले पोखरा महानगरपालिकाले भवन तथा पूर्वाधार निर्माण मापदण्ड–२०८० लागु गरेपनि अधिकांशले त्यसलाई टाल्ने काम गर्दै आइरहेको बताएका छन् । शुक्रबार २८ औं भूकम्प सुरक्षा दिवस मनाउने क्रममा उनले सो कुरा बताएका हुन् । सशस्त्र प्रहरी बल कालिका गण र महानगरपालिकाको संयुक्त आयोजनामा भूकम्प सुरक्षासम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको थियो ।

मानिसहरुले विपद् नपरेसम्म त्यसलाई वेवास्ता गर्ने गरेको सुनाए । पोखरा भौगोलिक हिसाबले जोखिमपूर्ण ठाउँमा छ । घाचोकदेखि तलको भागबारेमा विज्ञहरुले धेरै सुझाव र अवस्थितिको बारेमा जानकार दिएको । पोखराका विभिन्न क्षेत्रमा भ्वाङ पर्न समस्या रहेको छ भने भूकम्पीय जोखिमको उच्च जोखिममा रहेको क्षेत्र भएको आचार्यले सुनाए । २०७२ सालको विनाशकारी भूकम्प पछिको केही समयको अवस्थामा सबै ठूला घर भएकाहरु खुला ठाउँमा त्रिपाल मुनी बसेको र त्यो सम्झदा सबैको जीउ सिरिंग बनाउने बताउँदै भने,‘विनाशकारी भूकम्पपछिका केही समय अग्ला घरमा बस्ने सबै भुइतलमा सरेको, त्रिपाल राखेर बसेको र कति दिनसम्म लयमा फर्किन नसकेको त्यो अवस्था सबैले भोगेकै विषय छ । मापदण्डभित्र पर्छ भनेर नदी किनारमा बस्न नमिल्ने कुरा गरेको छ । रातारात नदि किनारमा हामी अत्यन्त कम्जोर संरचना बनाएर बसेका हुन्छौं । कतिबेला बाढी आउँछ थाहा हुँदैन । आएपछि मात्रै यस्तो नगरेको भए हुन्थ्यो भन्नेमा पुगिराखेका हुन्छौं । आफै बस्ने घरपनि कम्तिमा यति मापदण्ड पूरा गर्नुपर्छ भनेर लेखिरहेको हुन्छ । पढेलेखेका जाने बुझेका मान्छेले पनि आफै बस्ने घरमा मापदण्ड पालना गरेको पाउँदैनौं । महानगरपालिको लामो समयपछि विल्डीङ कोड देशका ७५३ पालिकामध्ये पहिलोचोटी लागू गरेका छौं ।’

नेपाल सरकारले १९९० सालको भूकम्पपछि नेपालमा निर्माण गरिने भवनहरु भूकम्प प्रतिरोधि बनाउनका लागि निर्देशन जारी गर्दै आइरहे पनि त्यसको वेवास्ता हुँदै आइरहेको छ । पुराना घरहरुमा रेट्रोफिट गर्नुपर्ने र कतिपय घरहरुमा घरधनीले आफ्नो घर कति सुरक्षित छ भनेर हेर्नुपर्ने आजको आवश्यक रहेको छ । यस्तै महानगरपालिकाले अब बन्ने नयाँ संरचनामा महानगरपालिकाले लागु गरेको विल्डिङ कोड कार्यान्वयन गरे ठूलो भूकम्पीय जोखिम र अफ्टेराहरुबाट जोगिन सक्ने आचार्यले बताए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले पोखराको अध्ययन गर्ने सुन्दा खुसी लागेको बताउँदै अध्ययन पश्चात पोखराको जोखिमपूर्ण क्षेत्रमा कडा गर्न अनुरोध गरिन् । उनले भूकम्पको जोखिमबारेमा विभिन्न अन्तरक्रिया र सचेतनामुलक कार्यक्रम गरेर भन्दा पनि सुरक्षा निकायलाई उद्धारमा आवश्यक पर्ने प्रविधि दिनुपर्नेमा जोड दिइन् ।

‘मेसिन जिल्लामा कति छन् ? आवश्यक पूर्वाधार कति छन् ? सुरक्षा निकायले कसरी काम गरिरहेका छन् भन्ने विषय पनि समिक्षा गर्न जरुरी छ । हामीले जनचेतना र अन्तरक्रियाका कार्यक्रमहरु धेरै गर्छौँ यद्यपि यसको लागि चाहिने सबै सामानहरुको व्यवस्थापन गर्नुपर्छ पोखरामा खुला स्थान न्यून मात्रामा देखेका छौं । अव्यवस्थित वसोवास बढिरहेको छ जसले गर्दा घटना घटिसकेपछि सुरक्षित कहाँ बस्ने भन्ने कुराको पनि जोखिम बढेर गएको छ,’ उनले भनिन्, ‘पोखराको नक्सांङ हुने जुन कुरा आएको छ यदि त्यो सम्भव भएमा त्यो जोखिम क्षेत्रमा हाम्रा निर्माणका कामहरु पूर्णरुपमा बन्द गरिनुपर्छ भने यहाँ भवन संहिताको मापदण्डको पालना अबका दिनमा सबै निकाय मिलेर यसलाइ शसक्त बनाउनुपर्ने र विशेष गरेर पोखरा महानगरपालिकाले मापदण्डको पालना कडाइका साथ गर्नुपर्छ ।’

पोखरा महानगरपालिका भवन तथा पूर्वाधार निर्माण मापदण्ड–२०८० (पहिलो संशोधन २०८१) संहिताअनुसार पोखरामा चार वर्गका भवनहरु रहनेछन् । जसलाई क,ख,ग र घ वर्गमा वर्गीकरण गरिएको छ ।

सशस्त्र प्रहरी बल कालिका गणका प्रमुख एसपी सूर्यप्रसाद तिमिल्सेनाले नेपाल भूकम्पको जोखिममा रहेको सुनाए । उनले शुक्रबार भूकम्पमा फसेकाहरुको कसरी उद्धार गर्ने भन्ने विषयमा सेमुलेसन (कृत्रिम अभ्यास) गरिएको जानकारी दिए । उनले पोखरामा कालिका गणले नागरिकलाई सचेत गराउँदै विभिन्न विपद्जन्य घटनामा आधारित कृत्रिम अभ्यासहरु गर्दै आइरहेको बताए । शुक्रबार मालेपाटनस्थित बाराही माविको खेल मैदानमा भूकम्प आएपश्चात कसरी उद्धार गर्ने केके गर्ने भन्ने विषयमा अभ्यास गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->