आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

‘क्यान्सर लागेर कोही मर्न नपरोस्’

‘क्यान्सर लागेर कोही मर्न नपरोस्’


  • ढाेरपाटन संवाददाता
  • माघ ५ २०८२, सोमबार

बागलुङ/सन् २०२० मा सिन्धुपाल्चोकका हर्क लामालाई पिसाब थैलीको क्यान्सर भयो । उनले लामो समय लगाएर उपचार गरे । धेरै खर्च पनि लाग्यो । अहिले निको भएका छन् । उपचारको क्रममा धेरै खर्च लागेको, बिरामी भएर बस्दा रोजगारी गुमेको र आयआर्जनको थप उपाय नभएपछि समस्या भोगेका उनी अहिले भने क्यान्सरविरुद्धको अभियानमा निस्केका छन् ।

काठमाडौंकी कविता चित्रकारलाई पनि २०२२ मा स्तन क्यान्सर भयो । उपचारपछि निको भएपनि औषधि सेवन गर्दैछन् । अझै केही समय उनको उपचार चल्नेछ । तर, उनले बिरामी भएर पनि हिम्मत बटुलेर मेची महाकाली यात्रामा निस्केकी छिन् । घर परिवारले आशै मारेकी उनले हिम्मत बटुलेर आफू मात्र बाँच्ने नभइ क्यान्सरपीडित हरेक नागरिकले बाँच्न पाउनुपर्छ भन्ने अभियान नै संचालन गरेकी हुन् । भन्छिन्, ‘म त बाँचे, देशभर कोही पनि क्यान्सर लागेर मर्न नपरोस् ।’

क्यान्सरपीडितलाई ‘बाँच्ने अधिकार’ को अभियान बनाएर लामा र चित्रकार सहितको टोली यात्रामा निस्केको हो । क्यान्सरका बिरामीसहित चिकित्सक र खेलाडी समेतले उनीहरुको यात्रामा साथ दिएका छन् । यात्रासँगै क्यान्सर पीडितलाई उपचार कोष बनाउने अभियान बनाएर सहयोगमा विभिन्न क्षेत्रका व्यक्तिले साथ दिएका छन् । मेची–महाकाली यात्राका लागि उनीहरुले मध्यपहाडी लोकमार्ग रोजेको बताए । लोकमार्गको यात्रामा भेटिने आम नागरिकसँग उनीहले साक्षात्कार गरिरहेका छन् ।

पुस १७ गते जनवरी १ का दिनदेखि पाँचथरको चिवा भञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्म जाने लक्ष्य उनीहरुको छ । फेबु्रअरी ४ का दिन विश्व क्यान्सर दिवशमा उनीहरुले सहयोग रकम सार्वजनिक गरेर अक्षयकोष स्थापना गर्ने लक्ष्यसमेत राखेका छन् । यात्राको क्रममा आसपासका क्षेत्रमा क्यान्सरविरुद्धको सचेतना अभियान, सहयोग संकलन र अन्तरक्रियासमेत गर्दै हिँडेको लामाले बताए ।

यो अभियानमा धुलिखेल अस्पतालका स्त्रीरोग विशेषज्ञ डा. सुमन ताम्राकार, हाडजोर्नी विशेषज्ञ डा. विकास पराजुलीसहित १५ जना सहभागी छन् । उनीहरुले साइकलमा यात्रा गरेका छन् । साइकल यात्राको क्रममा हरेक जिल्लामा सामाजिक अगुवा, स्थानीय तहका प्रमुख, उपप्रमुख र संचारकर्मीसँग भेट गर्दै यात्रा गरेको ताम्राकारले बताए । ‘क्यान्सरको उपचार नेपालमै संभव छ, खर्च अभावमा कोही मर्न नपरोस्,’ उनले भने, ‘यो अभियानले बन्ने कोषबाट उपचार गर्ने मात्र नभइ आम नागरिकमा सन्देश प्रवाह पनि गर्न निस्केका हौं ।’

यो अभियानमा संकलन हुने रकममा धुलिखेल अस्पतालले त्यति नै थप गरेर अक्षयकोष बनाउने योजना छ । यो कोषबाट विपन्नलाई निशुल्क उपचार सेवा दिने, समस्यामा परेकोलाई राहत दिने लक्ष्य राखिएको उनले सुनाए । साइकल कल्चर कम्युनिटी र धुलीखेल अस्पतालले यो अभियानलाई साझेदारीमा संचालन गरेको हो । यो अभियानमा टोलीले १ हजार ५ सय बढीलाई क्यान्सरविरुद्धको सचेतना दिइसकेका छन् ।

अभियानमा क्रसकन्ट्री र डाउन हिल साइकल यात्रामा ४ पटकसम्म च्याम्पियन भएकी पोखराकी उषा खनाल, ५ पटक च्याम्पियन भएका अजय पण्डितसमेत सहभागि भएका छन् । उनीहरु जताजता पुग्छन्, त्यहाँ सामान्य खाना खाने र सामान्य बसाइपछि यात्रामा निस्कने गरेका छन् । स्थानीय तह, व्यक्ति, संस्था र समाजसेवीहरुले यो अभियानमा साथ दिएको ताम्राकारले बताए । ‘हामीले यति उति सहयोग केही भनेका छैनौं, बरु अभियानबारे जानकारी गराउने र क्यान्सर रोगबारे सचेतनाका काम मात्रै गरेका छौँ,’ उनले भने, ‘स्वेच्छाले रकम दिनेहरु बढीरहनुभएको छ । शनिबारसम्म २३ लाख रुपैयाँ संकलन भैसकेको समेत उनले बताए । जनवरी ३० मा अभियन सकिएपछि फेब्रुअरी ४ गते विश्व क्यान्सर दिवसमा उक्त रकम सार्वजनिक गरिने छ ।

पछिल्लो समय राज्यले पनि क्यान्सरपीडितलाई उपचारमा सहयोग गर्न थालेको छ । नेपालमै अधिकांश उपचार संभव भएका छन् । धुलिखेल अस्पतालले त अझैबढी चासो दिएर बिरामीको उपचारमा काम गरेकोले यो अभियानमा पनि साथ पाएको लामाको भनाइ छ । टोलीलाई बागलुङ नगरपालिकाले स्वागत गर्दै अभियानमा साथ दिने आश्वासन दिएको छ । नगरपालिकाले दीर्घरोगीलाई उपचार कोष बनाएको र त्यसबाट क्यान्सर रोग लगायतका पीडितलाई उपचारमा सहयोग गर्दै आएको उपप्रमुख राजु खड्काले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->