पृष्ठभूमि
विश्व क्यान्सर दिवस प्रत्येक वर्ष फेबु्रअरी ४ (February 4) तारिखका दिन मनाउने गरिन्छ र यसवर्षको विश्व क्यान्सर दिवस नेपाली पात्रो अनुसार माघ २१ गते मनाईँदै छ । गतवर्षदेखि (२०२५–२०२७ सम्म) को विश्व क्यान्सर दिवसको अन्तर्राष्ट्रिय नारा United by Unique अर्थात् विशिष्टताद्वारा एकताबद्ध भन्ने रहेको छ । यसको अर्थ क्यान्सर रोग एक विशेष रोग हो जसलाई हामीले बेवास्ता गर्नुहुँदैन र यो रोगलाई सामूहिक तवरले मात्र परास्त गर्न सकिन्छ वा यसबाट बाँच्न सकिन्छ । यदि हाम्रो एक्लो प्रयासले रोग नियन्त्रण गर्न खोज्यौं भने त्यो असम्भव हुन्छ । त्यसकारण विशेष खतरनाक र चुनौतीपूर्ण रहेको क्यान्सर रोगका विरुद्ध हामी सबै एकवद्ध भएर रोकथाममा लाग्नु जरुरी छ भन्ने अर्थ लाग्छ । सन् २०२२ को तथ्यांक अनुसार महिला पुरुष दुवैमा प्रायः समान तरिकाले (१०.३ मिलियन पुरुष र ९.७ मिलियन महिला) क्यान्सरको संख्यात्मक फैलावट भएको देखिन्छ । साथै सबैभन्दा बढी क्यान्सर क्रमशः स्तन, फोक्सो, ठुलो आन्द्रा वा मलद्वार, पौरुष ग्रन्थी र पेटको भएको पाइन्छ । नेपालमा पनि क्यान्सर डरलाग्दो रुपमा देखापरिरहेको छ र सबैभन्दा बढी फोक्सो अनि स्तन क्यान्सर भएको देखिन्छ ।
नेपालीमा अर्बुद रोगका नामले चिनिने क्यान्सर रोग (Oncology) प्रायः मृत्युजन्य दीर्घ रोग भएका कारण यसको रोकथाम, छिटो निदान र छिटो उपचार नै मुख्य जान्नैपर्ने कुराहरु हुन् । क्यान्सर सम्बन्धी तथ्याङ्क हेर्ने हो भने यो रोग संसारमा हुने मृत्युको दोस्रो प्रमुख कारण हो । सन् २०२२ को तथ्यांक अनुसार प्रत्येक वर्ष क्यान्सरबाट मात्रै संसारभर १० मिलियन व्यक्तिको मृत्यु हुन्छ । जम्मा मृत्युको ७० प्रतिशत न्यून र मध्यम आयस्रोत हुने विकासोन्मुख मुलुकहरुमा रहेको छ । यसरी क्यान्सरबाट अनाहकमा हुने ४० प्रतिशत मृत्युलाई क्यान्सर सम्बन्धी चेतना अभिवृद्धि र व्यक्तिले जीवनशैलीमा परिवर्तन गरेमा मात्र रोक्न सकिन्छ । क्यान्सरको रोकथामका लागि धूम्रपान तथा मद्यपान सेवन नगर्ने, पौष्टिक वा सन्तुलित सात्विक आहार सेवन गर्ने र शारीरिक परिश्रम वा अभ्यास गर्ने उपाय सबैभन्दा बढी प्रभावकारी हुनेकुरा विभिन्न अध्ययन अनुसन्धानले देखाएका छन् । यसैगरी एक तिहाइ मृत्युलाई नियमित शारीरिक परीक्षण गरेर, छिटो रोग पत्ता लगाएर र समयमै औषधी उपचार गरेर निको बनाउन सकिन्छ ।
क्यान्सर रोगको परिचय
नाम सुन्ने बित्तिकै सिरिङ्ग लाग्ने रोग क्यान्सर संसारमा मानव मृत्युको १५% कारक तत्वको रूपमा रहेको छ । जुन रोग एकदेखि अर्को व्यक्तिमा प्रायः नसर्ने तर निकै खतरनाक रोग हो । क्यान्सर किन र कसरी हुन्छ त भन्ने कुरा बुझ्न मानव शरीरका कोषहरूको बारेमा कोषका क्रियाकलापहरू तर्फ नजर लगाउनु पर्ने हुन्छ । मानव शरीर अनगिन्ती कोषहरूले बनेको हुन्छ र कोषहरू प्रत्येक दिन बन्ने, बिग्रने वा मर्मत हुने भइरहेका हुन्छन् । यी सबै क्रियाकलापहरू सामान्य र नियमित तथा नियन्त्रित रूपमा भइरहेका हुन्छन् । तर यी कोषहरूको वृद्धि विकासको क्रम असामान्य र अनियन्त्रित रूपमा हुन पुग्यो भने शरीरमा असामान्य अवस्था उत्पन्न हुन्छ । त्यही असामान्य परिस्थिति जुन निकै दर्दनाक हुन्छ, त्यही अवस्था नै क्यान्सर हो । शरीरमा हुने यसरी अनियन्त्रित कोषहरूको वृद्धिबाट स—साना गिर्खाको रूप बन्न जान्छ । यी गिर्खाहरू पनि २ प्रकारका हुन्छन् । एक प्रकारका गिर्खाहरू जुन शरीरमा नफैलिने र हानी नगर्ने प्रकारका हुन्छन् । त्यसलाई बिनाईन प्रकारका गिर्खाहरू(Benign tumour) भनिन्छ । अर्का प्रकारका गिर्खाहरू भने शरीरलाई नोक्सान गर्ने र शरीरभर फैलिने हुन्छन् । त्यसलाई म्यालिग्नेण्ट् प्रकारका गिर्खाहरू (Malignant tumour) भनिन्छ । यही ःMalignant tumour नै क्यान्सर (Cancer) हो । यसरी कोषहरूको असन्तुलित वृद्धिले गर्दा शरीरका अन्य अङ्गमा दबाब पर्नाले तथा शरीरका अन्य स्वस्थ कोषहरूलाई चाहिने पोषणयुक्त तत्वको अभावले ती कमजोर हुँदै जाने र रोगग्रस्त कोषहरू एक ठाउँबाट अर्को ठाउँमा फैलिँदै जाँदा अन्य भागहरूमा पनि असर पर्न सक्छ । जस्तैः श्वासप्रश्वास, रक्तसञ्चार, पाचन, मष्तिष्क÷स्नायु, प्रजनन्, मूत्र आदि प्रणालीहरूमा अवरोध आउनाले व्यक्तिको मृत्यु हुनसक्छ ।
क्यान्सर रोगका मुख्य कारणहरू
क्यान्सर रोग लाग्ने खास कारण खुल्न नसकेतापनि विभिन्न अनुसन्धानबाट क्यान्सर ८०–९०% खानपान, रहनसहन र जीवनशैलीबाटै हुन्छ भन्ने कुरामा सबै वैज्ञानिकको एकमत रहेको छ । तैपनि क्यान्सरका केही कारणहरू यसप्रकार छन्–
१) वातावरणीय तत्व
२) वंशाणुगत तत्व
३) व्यक्तिगत तत्व
१) वातावरणीय तत्व
क्यान्सर उल्लेखनीय रूपमा वंशाणुगत तत्वबाट प्रायः हुँदैन । यी तत्वहरूमध्ये सबैभन्दा प्रमुख तत्व चाहिँ वातावरणीय तत्वलाई नै मानिएको छ । क्यान्सरका लागि जिम्मेवार मुख्य वातावरणीय तत्वहरू यसप्रकार छन् ।
सुर्ती तथा सुर्तीजन्य पदार्थको सेवन
क्यान्सरको लागि सबैभन्दा बढी जिम्मेवार तत्व सुुर्ती वा सुर्तीजन्य पदार्थ (जम्मा मृत्युको २२ प्रतिशत) मानिएको छ । सुर्तीजन्य पदार्थबाट चार हजार भन्दा बढी हानिकारक तत्वको शरीरमा प्रवेश हुन्छ र तीमध्ये ४०० भन्दा बढी तत्वहरूले क्यान्सर गराउन सक्छन् ।
मादक पदार्थको सेवन
निरन्तर रूपमा मादक पदार्थ सेवन गर्ने बानी क्यान्सरको अर्को कारण हो । यस्ता पदार्थले मुख, पेट, घाँटी, स्तन, खानानली र कलेजोको क्यान्सर हुनसक्छ ।
खानपान सम्बन्धीे बानी व्यवहार
३५% क्यान्सर हुने माध्यम नै खानपान हो । सुकुटी माछा, पोलेको मासु, बासी सडेगलेका, ढुसी परेका खाना, हानिकारक रङ्गको प्रयोग गरिएका खाना, रासायनिक मलबाट उत्पादित फलफूल र तरकारी जस्ता खानाको प्रयोगबाट पनि क्यान्सर हुन सक्छ ।
विकिरण
सूर्यका हानिकारक केही किरण, एक्स—रे को बढी प्रयोग र अन्य प्रकारका घरायसी तथा औद्योगिक विकिरणहरूबाट पनि क्यान्सर हुन सक्छ ।
वातावरणीय प्रदूषण
क्यान्सर गराउने अर्को प्रमुख कारण प्रदूषित वातावरण, हावा र पानीको प्रदूषण, सवारी साधन र कलकारखानाबाट निस्कने धुलो र धुँवा जस्ता पदार्थहरूले पनि क्यान्सर गराउन सक्छन् ।
विषाणुहरू (भाईरसहरू)
Human Papilloma Virus (HPV) ले पाठेघरको क्यान्सर, Hepatitis B virus (HBV) ले कलेजोको क्यान्सर गराउन सक्छन् ।
परजीविहरू
सिस्टोसोमियासिस (Schistosomiasis) भन्ने परजीविले मुत्रथैलीको क्यान्सर बनाउँछ ।
रितिरिवाज, बानी वा जीवनपद्धति
सामाजिक, सांस्कृतिक, आर्थिक, रहनसहन, व्यक्तिको व्यक्तिगत आनीबानी, सुखसयल खालको जीवनपद्धति जिउने तर शारिरीक अभ्यासको कमी र मोटोपन जस्ता तत्वहरूले पनि क्यान्सर गराउन सक्छन् ।
२) वंशाणुगत तत्व
कुनैपनि क्यान्सरहरू एकपुस्ता देखि अर्को पुस्तामा गर्भाधारण हुनेबेलामा जीनको माध्यमबाट वंशाणुगत रूपले पनि सरेको पाइन्छ । जस्तैः स्तन क्यान्सर, एकप्रकारको आँखाको क्यान्सर आदि ।
३) व्यक्तिगत तत्व
व्यक्तिगत तत्व अन्तर्गत निम्न तत्वहरू क्यान्सरसँग सम्बन्धित हुन्छन् । जस्तैः
–लिङ्गः पुरुषमा पौरुष ग्रन्थि र लिङ्गको क्यान्सर हुन्छ भने महिलामा स्तन र पाठेघरको क्यान्सर हुनसक्छ ।
–उमेरः धेरैजसो क्यान्सर रोग पाको उमेरमा बढी देखापर्छ ।
–जातिः काला जातिमा भन्दा गोरा जातिमा छालाको क्यान्सर बढी हुन्छ ।
–विवाहः कम उमेरमा बिहे गर्ने, धेरैजनासँग यौन सम्पर्क राख्ने र बढी बच्चा जन्माउने महिलामा पाठेघरको क्यान्सर बढी पाइएको छ ।
–व्यक्तिगत सरसफाईः पाठेघर, लिङ्ग, मुख, छाला आदिको क्यान्सरको प्रमुख कारण व्यक्तिगत सरसफाईको कमी भएमा बढी मात्रामा हुने पाइएको छ ।
–दुर्बलताः शरीरमा रोगविरुद्ध लड्ने क्षमताको कमीको कारण पनि क्यान्सर हुने गर्दछ ।
–घर्षणः शरीरको कुनै भाग लगातार घर्षणमा रहेमा पनि क्यान्सर हुनसक्छ । जस्तैः टेढा दाँतहरूले मुखमा घर्षण गराइरहेमा मुखको क्यान्सर हनसक्छ ।
क्यान्सर रोग लागेमा देखापर्ने प्रमुख लक्षण तथा चिन्हहरूः
विभिन्न प्रकारका अङ्गहरूमा भएको असर अनुसार यस रोगका चिन्ह र लक्षणहरू देखिन्छन् । केही चिन्ह र लक्षणहरू यसप्रकार छन्–
क) ठुलो आन्द्रा र मलद्वारको क्यान्सर भएमा
–दिसा गर्ने बानी व्यहोरामा परिवर्तन हुनु,
–दिसा पातलो वा कब्जियत हुनु र रगत देखापर्नु,
–पेट असजिलो हुनु र फुलिनु,
–दसा ननिख्रिएजस्तो लाग्नु,
–तौल घट्नु,
–थकाई लाग्नु ।
ख) पुरुषको पौरुष ग्रन्थिको क्यान्सर भएमा
–पिसाब छिटोछिटो हुनु,
–पिसाब गर्दा दुख्नु,
–पिसाबमा रगत वा पिप देखिनु,
–लिङ्ग उत्तेजित हुँदा दुख्नु ।
ग) अण्डकोषको क्यान्सर भएमा
–अण्डकोषको आकार, प्रकार र कडापनमा परिवर्तन हुनु,
–अण्डकोष सुनिनु वा दुख्नु,
–तल्लो पेट र ढाड दुख्नु ।
घ) छालाको क्यान्सर भएमा
–शरीरमा भएका कोठी (Mole) वा मुसा (Wart) मा परिवर्तन आउनु,
–निको नहुने प्रकारका घाउहरू आइरहनु ।
ङ) स्तनको क्यान्सर भएमा
–स्तनमा गाँठागुँठी देखापर्नु,
–स्तनबाट रगत वा पीप बग्नु,
–स्तनको आकार फरक हुनु,
–छुँदा दुख्ने हुनु ।
च) पाठेघरको क्यान्सर भएमा
–गुप्ताङ्गबाट गन्हाउने तथा रगत मिसिएको अस्वभाविक तरल पदार्थ बढी मात्रामा बग्नु,
–महिनावारी हुँदा धेरै दिनसम्म बढी मात्रामा रगत देखापर्नु,
–यौन सम्पर्क पछि दुख्ने र रगत बग्ने हुनु,
–महिनावारी नभएको समयमा पनि रगत बग्नु,
–महिनावारी बन्द भइसकेका महिलाहरूको योनीबाट पनि अस्वाभाविक रूपमा रगत बग्नु ।
छ) मुखको क्यान्सर भएमा
–मुखमा घाउहरू देखापनुर्् र निको नहुनु,
–जिब्रोमा घाउ हुनु र निको नहुनु,
–सास गन्हाउने, घाँटी दुख्ने र निल्न अप्ठेरो हुनु,
–मुखभित्र सेतो वा रातो दागहरू देखापर्नु ।
ज) फोक्सोको क्यान्सर भएमा
–खकारमा रगत देखिनु,
–दम बढने र लगातार सुख्खा खोकी लागिरहनु,
–छाती दुख्ने र अप्ठ्यारो भइरहनु तथा स्वर धोद्रो हुनु,
–भोक नलाग्ने, ज्वरो आउने, तौल घटने, दुब्लाउने, थकाइ लाग्ने, गल्ने हुनु ।
क्यान्सर रोगको रोकथाम र नियन्त्रणका उपायहरू
क्यान्सर रोग लाग्न नदिन र यसको नियन्त्रण गर्न यस रोगका कारक तत्वहरूमा ध्यान दिई रोकथामका उपायहरू अपनाउनु पर्दछ । यसको लागि निम्नप्रकारका उपायहरू अपनाउन सकिन्छ–
–चुरोट, सुर्ती, जाँड, रक्सी र लागु पदार्थको सेवन नगर्ने,
–बासी, सडेगलेका र ढुसी परेका खाना नखाने,
–पोलेर डढेको माछा, मासु तथा भुटेको खाना नखाने, सकभर शाकाहारी जीवनशैली अपनाउने,
–अखाद्य रङ्ग प्रयोग गरी बनाइएका खानेकुरा नखाने,
–चिल्लो, मसालादार, बोसोयुक्त र बढी नुनिलो खाना नखाने,
–धुलो, धुँवा, विकिरण र वातावरणीय प्रदूषणबाट बच्ने र बचाउने,
–आफ्नो गुप्ताङ्ग सधैं सफा राख्ने,
–मौसम अनुसारका सागपात, तरकारी, रेशादार खाद्यपदार्थ र फलफूल दिनहुँ खाने,
–महिलाहरूले कम्तीमा प्रत्येक बर्ष पाठेघरको जाँच (PAP smear test) गराइरहने,
–स्तनमा गिर्खा, गाँठागुँठी, दुखाइ भए नभएको आफैं नियमित रूपमा जाँचिरहने र त्यस्तो पाइएमा परामर्श लिने,
–नियमित शारीरिक व्यायाम गरी मोटोपन घटाउने,
–शरीरमा चोटपटक लागेमा वा कुनैपनि रोग देखापरेमा तुरुन्त जँचाउने,
–स्वास्थ्य परीक्षण नियमित रूपमा गराइरहने,
–बच्चालाई स्तनपान गराउने, यसबाट स्तन क्यान्सरको जोखिम पनि कम हुन्छ,
–यो रोगबारे स्वास्थ्य शिक्षा दिई व्यापक जनचेतना सृजना गर्ने,
–उद्योगमा काम गर्नेले सुरक्षाका सामग्री ग्लोभ्स, मास्क वा चस्मा आदि लगाउने ।
अन्तमा, माथि उल्लेख गरिएका बाहेका अन्य स्वास्थ्यकर्मी वा चिकित्सकहरूबाट प्राप्त विविध खालका उपायहरू अपनाई यो रोगबाट बाँच्न सकिन्छ । क्यान्सर वास्तवमा छिटो निदान गरी सुरुको अवस्थामै पत्ता लगाउन सके र उचित उपचार गर्नसके छिटै र प्रभावकारी रूपमा निको हुन्छ । तर छिटो उपयुक्त निदान नभइ वा उचित उपचार नपाइ रोग शरीरभर फैलन पुगेमा धन तथा ज्यान दुवैको नोक्सान हुनसक्ने हुँदा समयमै यो रोगबारे कुरा बुझी रोकथाम र नियन्त्रण गरी स्वस्थकर जीवनयापन गर्न सकिन्छ । सबैमा यो रोगबाट बाँच्नसक्ने प्रेरणा मिलोस्, शुभकामना ।





