सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

पर्वतका एक हजार किशोरीलाई एच.पि.भी खोप लागाईँदै

पर्वतका एक हजार किशोरीलाई एच.पि.भी खोप लागाईँदै

प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख बद्रीराज आचार्यका अनुसार जिल्लाका ७ ओटा गाउँपालिकामा रहेका ६१ वटा वडामा रहेका १ सय २७ विद्यालयका छात्रा तथा विद्यालय नजाने १० वर्ष उमेरका किशोरीहरूलाई यो खोप लगाइने छ ।


  • ढोरपाटन संवाददाता
  • माघ २४ २०८२, शनिबार

पर्वत/जिल्लाका करिब एक हजार किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भि. खोप लगाइने भएको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतका अनुसार यो खोप अभियान फागुन महिनामा सञ्चालन गर्ने नीति भए पनि यस वर्ष माघ महिनामा नै खोप लगाउन थालिएको हो । पर्वतका सामुदायिक तथा निजी विद्यालयको कक्षा ६ मा अध्ययनरत छात्रा, विद्यालय बाहिरका १० वर्ष उमेर समूहका बालिका, गत वर्ष खोप लगाउन छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा र विद्यालय नजाने ११ वर्ष देखि १४ वर्ष उमेर समूहका किशोरी गरी ९ सय ४९ जना छात्रा तथा किशोरीहरूलाई खोप दिने तयारी भइरहेको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख बद्रीराज आचार्यका अनुसार जिल्लाका ७ ओटा गाउँपालिकामा रहेका ६१ वटा वडामा रहेका १ सय २७ विद्यालयका छात्रा तथा विद्यालय नजाने १० वर्ष उमेरका किशोरीहरूलाई यो खोप लगाइने छ । माघ २७ गतेदेखि २९ गते सम्म सञ्चालन हुने खोप अभियानमा निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरूलाई सम्बन्धित विद्यालयमै खोप केन्द्र खडा गरी खोप लगाइने छ । पर्वतमा खोप अभियानलाई एकै चरणमा सञ्चालन गरिँदै छ । जसका लागि १ सय २७ जना स्वास्थ्यकर्मी र १ सय २७ जना स्वयंसेवक परिचालन गरिने कार्यालय प्रमुख आचार्यले बताए ।

महिलाहरूको शारीरिक र प्रजनन स्वास्थ्यसँग जोडिएको एच.पि.भि. खोप लगाउने अभियानलाई सफल बनाउन सबैको सहयोग हुनुपर्ने प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले बताए । क्यान्सरजस्तो प्राणघातक रोगप्रति सबै सचेत र सजग हुनुपर्ने बताउँदै उनेले कोही पनि छुट्न नहुने उनको भनाइ छ । यद्यपि विशेष कारणवश कोही छुटेमा थप एक साताको समय दिएर भए पनि समेटिने प्रजिअ पौडेलले बताए । जिल्ला खोप समन्वय समिति पर्वतका संयोजक विष्णुराम बि.क.ले खोप अभियान सञ्चालनको सन्दर्भमा कुनै समस्या नआओस् भनेर प्रचार प्रसारलाई व्यापक बनाउनुपर्ने बताए । खोपप्रति नकारात्मक धारणा बनाउन नहुने उनको भनाइ छ ।

पर्वतमा गत वर्ष ४ हजार ७ सय ४९ जनालाई एच.पि.भि. खोप लगाइएको थियो । एक सय ९५ वटा खोप केन्द्रमार्फत उनीहरूलाई खोप लगाइएको थियो । यस वर्ष सङ्ख्या थोरै भएका कारण एकै चरणमा खोप लगाउने तयारी गरिएको भए पनि गत वर्ष भने दुई चरणमा खोप लगाइएको थियो ।

ह्युमन प्यापिलोपा भाइरस (एच.पि.भी) पाठेघरको मुखमा हुने क्यान्सरको प्रमुख कारक हो । यो भाइरसका २ सय भन्दा बढी किसिमका प्रजातिहरू हुने र तीमध्ये कम्तीमा १२ ओटा प्रजातिहरू पाठेघरको मुखमा क्यान्सर गराउन प्रमुख कारक रहेका प्रदेश अस्पताल पर्वतका मेडिकल सुपरिटेन्डेन्ट डा. ढुण्डिराज पौडेलले बताए । नेपालमा ८० प्रतिशत पाठेघरको मुखको क्यान्सर मुख्यतः दुई प्रकारका भाइरस प्रजातिहरूबाट भएको देखिएको उनको भनाइ छ ।

एच.पि.भिले महिलाहरूको पाठेघरको मुखको क्यान्सरको साथै यौनाङ्गमा आउने मुसा तथा यौनाङ्गको क्यान्सर समेत गराउन सक्ने अध्ययनहरूको निष्कर्ष छ । नेशनल लाइब्रेरी अफ मेडिसिनले सार्वजनिक गरेको अनुसन्धान अनुसार ९९.७ प्रतिशत पाठेघरको मुखको क्यान्सर ‘ह्युमन प्यापिलोमा भाइरस’को सङ्क्रमणले गर्दा हुने उल्लेख छ । ग्लोबल क्यान्सर अब्जर्भेटरीको पछिल्लो विवरण अनुसार फोक्सो क्यान्सरपछि दोस्रो स्थानमा पाठेघरको मुखको क्यान्सर रहेको उल्लेख छ । पाठेघरको मुखको क्यान्सर भएका प्रत्येक तीन जनामध्ये दुईको मृत्यु हुने अध्ययनको दाबी छ ।

कलिलै उमेरमा यौन सम्पर्क तथा भाइरस सङ्क्रमण यसको मुख्य कारक मानिन्छ । कम उमेरमा विवाह गर्ने, यौन सम्बन्ध राख्ने, बढी सन्तान जन्माउने, एकभन्दा बढी पुरुषसँग यौन सम्बन्ध राख्ने, खानपिनमा ध्यान नदिने र कुपोषण भएका महिलाहरू यो भाइरस सङ्क्रमणको जोखिममा पर्ने गरेका छन् ।

एच.पि.भि. अर्थात् गार्ड सिल खोपले नौ प्रकारका एच.पि.भि. बाट बचाउने चिकित्सकहरूको भनाई छ । एच.पि.भि.खोपले सङ्क्रमणबाट ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गरिने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->