बागलुङ/आगामी बैसाख मसान्त भित्र पुर्ण खोप सुनिश्चित भएको पालिका घोषणा गर्ने कार्यक्रम सफल बनाउन बागलुङ नगरपालिकाले बजार क्षेत्रमा छुट्न सक्ने बालबालिकाको खोजी थालेको छ । गत बर्षको खोप अभियानमा छुटेका र चालुबर्षपन िछुट्न सक्ने संभावित क्षेत्रमा शुक्रवार बिशेष टोली बनाएर खोजी थालेको नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए ।
बागलुङ नगरपालिकाले सबै स्वास्थ्य चौकीबाट स्वास्थ्यकर्मी झिकाएर तालिम दिएपछि ३५ जनाको टोल् िबजार क्षेत्रमा परिचालन गराएको हो । नियमित अभियानमा छुटेका खोप लगाउने उमेर समूहका बालबालिका र पाठेघरको क्यान्सर बिरुद्दको खोप लगाउनुपर्ने बालिकाहरुको खोजी अभियान थालेको हो । बिशेषगरी सहरी क्षेत्रमा डेरा गरी बस्ने मजदुर तथा बसाई सरेर आउनेहरु खोप अभियानबाट छुटेको थाहा पाएपछि नगर स्वास्थ्य शाखाले अभियान बनाएर खोजी कार्य थालेको खनालले बताए ।
उनीहरुले टोलटोल र घरघरमा गएर खोप लगाउन छुटेकाहरुको खोजी गरी खोपको दायरामा ल्याउनेछन् । यो अभियानकालागि शाखाले ३५ जना स्वास्थ्यकर्मी एकैपटक खटाएको हो । बिशेषगरी नगरपालिकाको वडा नंं २, ३ र ४ मा यो समस्या बढी देखिएकोले सोही स्थानमा खटाइएको खनालले जानकारी दिए ।
यो टोलीले कम्तिमा ६ सय घरधुरीमा खोजी गर्नेछन् । गत बर्ष नै शुरु भएको पाठेघरको क्यान्सर बिरुद्दको आरपिपि खोप अभियानमा समेत बिद्यालय नगएका वा बसाइ सरेका र मदजुर बालिकाहरु छुटेको अनुमान छ । गत बर्ष १० बर्षदेखि १४ बर्ष भित्रका २ हजार १ सयजनालाई आरपिपि खोप लगाएइएको थियो । त्यस्तै जन्मेदेखि १५ महिना भित्रका ९ सय बालबालिकालाई सबै प्रकारका खोप लगाइएको थियो ।
हरेक बर्ष स्थानीय तहले पालिकालाई पूर्ण खोपयुक्त घोषणा गर्नुपर्छ । तथ्यांक सहित घोषणा गरिने खोप अभियानलाई सफल बनाउन खोजी कार्य गर्न टोली गठन गरी सबैलाई अभिमूखिकरण गरेर घरघर पठाइएको जनस्वास्थ्य अधिकृत बिष्णुप्रसाद सापकोटाले बताए । बजार क्षेत्रमा माइक समेत लगाएर घरघरमा कोही छुटेको भए जानकारी दिन समेत आग्रह गरिएको छ । ‘सरकारी लक्ष्य पुरा गर्न कोहीपनि सेवाबाट छुट्नु हुँदैन’ खनालले भने, ‘यो अभियान पुरा गरी सबै तथ्यांक पनि अद्यावधिक गरिने छ ।’
खटिएको टोली बाहेक वडा तहले पनि नियमित खोजी भने गरिरहने उनले बताए । बैसाख महिना भित्र सबै खोप पुर्ण बनाएर पालिकालाई पूर्ण खोप सुनिश्चित भएको र दिगोपना भएको पालिका घोषणा गरिनेछ ।





