आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

रेडक्रसको रक्तसंचारबाटै ‘सेतो रगत’ उत्पादन

रेडक्रसको रक्तसंचारबाटै ‘सेतो रगत’ उत्पादन

‘डेंगी, सर्पदंश र डायलायसिसका बिरामीको प्लेटलेस ३० हजारभन्दा कम भयोभने सेतो रगत दिनुपर्छ’ जनरल सर्जन डा. शंकर लामिछानेले भने, ‘रातो रगत ४ प्वाइन्ट दिनुपर्नेलाई सेतो रगत भए एक प्वाइन्टले निको हुन्छ ।’


  • ढोरपाटन संवाददाता
  • माघ २७ २०८२, मंगलबार

बागलुङ/लामो समयदेखि सामाग्री आएर पनि अलपत्र परेको गुनासोबीच नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाको रक्तसंचार केन्द्रमा सेतो रगत (एफएफपी र पिआरपी) उत्पादन शुरु भएको छ ।

गण्डकी प्रदेश सरकार, बागलुङ समाज जापान र स्थानीय पालिकाले सहयोग गरेपछि ७० लाख लागतमा ‘प्लेटलेट प्लाज्मा’ र ‘फ्रेस फ्रेजन प्लाज्मा’ उत्पादन शुरु भएको हो ।

पछिल्लो समय डेंगी, सर्पदंश र मृगौलाको डायलायसिस गर्नुपर्ने बिरामी बढीरहेकोले रक्तसंचार केन्द्रमा सेतो रगत अभाव थियो । सेतो रगत अभावमा धौलागिरि प्रादेशिक अस्पतालबाट धेरै बिरामी पोखरा रिफर गर्नुपर्ने बाध्यता हटाउन दाताको खोजीमा यो केन्द्र स्थापना गरिएको नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्यले बताए ।
चार वर्षअघि गण्डकी प्रदेश सरकारले झडै ५० लाख पर्ने कम्पोनेन्ट प्रोसेसर मेसिन दिएर पनि अलपत्र थियो । हाल डिपफ्रिजसहितका केही थप उपकरण प्राप्त भएपछि मात्र सेवा संचालन गर्न सकिएको केन्द्रका प्रमुख गुरुदत्त शर्माले बताए ।

दुइ महिनाअघि बागलुङ समाज जापानले १३ लाख ५० हजार रुपैयाँ नगद सहयोग गरेपछि केन्द्रलाई व्यवस्थापन गरेर रगत उत्पादन गरिएको हो । ‘अब भने रगत चाहियो भन्दा सेतो रगत उत्पादन गरेर दिन सकिने भयो’ शर्माले भने, ‘पर्याप्त जनशक्ती भएमा बागलुङमा आवस्यक पर्ने प्लेटलेस उत्पादन गर्न सक्छौं ।’ गत महिना मात्रै ल्याइएको प्लेटलेस इजिटेटर मेसिन जडानपछि मात्र यो काम शुरु भएको उनले बताए ।

यसअघि रक्तदान गर्ने स्थललाई व्यवस्थापन गरेर मेसिन जडान गरिएको हो । धौलागिरि अस्पतालको आवासस्थल नजिकै छाप्रो बनाएर रक्तदान गर्ने स्थल र ल्याब बनाइएको छ । रेडक्रसले तत्काल एकजना स्वयंसेवक ल्याब टेक्नीसियन नियुक्त गरेर सेवा शुरु गरेको हो । आचार्यले दरबन्दीकै रुपमा राख्ने प्रयास आर्थिक अभावले नसकेको बताए ।

धौलागिरि अस्पतालमा अपरेशन सहितको सेवा शुरु भएपनि रक्तसंचारमा सेतो रगत अभावमा कतिपय अपरेशन रोकिने गरेको थियो । वर्षेनी ५० बढी सर्पदंशका बिरामी आउने, ४ सयबढी डेंगीका बिरामीको उपचार गरिने भएपनि सेतो रगत आवस्यक परेमा तत्काल रिफर गरिंदै आइएको थियो । ‘डेंगी, सर्पदंश र डायलायसिसका बिरामीको प्लेटलेस ३० हजारभन्दा कम भयोभने सेतो रगत दिनुपर्छ’ जनरल सर्जन डा. शंकर लामिछानेले भने, ‘रातो रगत ४ प्वाइन्ट दिनुपर्नेलाई सेतो रगत भए एक प्वाइन्टले निको हुन्छ ।’ सेतो रगत डायलायसिस गरिरहेका बिरामीको उपचारमा आवस्यक पर्ने उनले बताए ।

सामाजिक संजाल र संचार माध्यमको समाचार देखेर दुइ महिनाअघि नेपाल आएका बागलुङ समाज जापानका अध्यक्ष गुरुप्रसाद शर्मा र सचिव दिपक कँडेल सहितले नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखालाई रकम हस्तान्तरण गरेपछि ल्याब बनाइएको हो ।

ल्याब बन्ने भएपछि बागलुङको जैमिनी नगरपालिकाले ३ लाख, बागलुङ नगरपालिकाले ५ लाख, गलकोट नगरपालिकाले २ लाख र बरेङ गाउँपालिकाले १ लाख ५० हजार सहयोग गरेका थिए । बाँकी लगानी रेडक्रसले आन्तरिक रुपमा गरेको थियो ।

गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले १५ लाख रुपैयाँ सहयोग गरेपछि उपकरणहरु खरिद गरिएको थियो । अब यो केन्द्र संचालन गर्न अस्पतालले पनि दक्ष जनशक्ती आवस्यक परेमा सहयोग गर्ने प्रतिवद्दता जनाएपछि सेवा प्रवाह थालिएको आचार्यले बताए । कोरोनाको कारण प्लेटलेस अभाव भएका बिरामी बढी आउन थालेपछि रेडक्रसले सेतो रगत उत्पादन यहीं गर्ने तयारी थालेपनि झण्डै ५ वर्षमा मात्र सफलता मिलेको आचार्यले बताए ।

शर्माका अनुसार यहाँ ६ सय प्वाइन्ट रगत संकलन गर्न सकिन्छ । हाल धौलागिरि अस्पतालमा झण्डै ५ सय प्वाइन्ट रगत आवस्यक परिरहेको छ । पर्वत र म्याग्दीमा समेत रगत पठाउने गरेको केन्द्रले अत्यावस्यक भयोभने सम्पर्कमा रहेका व्यक्तिको रगत तानेर १ देखि डेढ घण्टामा सेतो रगत उत्पादन गर्न सक्ने क्षमता बनेको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->