सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

महावीर पुन : मतदाता भेट्दै योजना सुनाउँदै

महावीर पुन : मतदाता भेट्दै योजना सुनाउँदै


  • अमृत बास्कुने
  • माघ २८ २०८२, बुधबार

म्याग्दी/आगामी फागुन २१ गते हुने आम निर्वाचनमा होमिएका राजनैतिक दलका उम्मेदवारहरुले मतदाता भेट्दै आफ्ना योजना सुनाएर भोट माग्न थालेका छन् । म्याग्दीमा चुनावमा होमिएका एक जना स्वतन्त्र सहित १२ जना उम्मेदवारहरुले आफ्नो तौर तरीकाबाट मतदातालाई प्रभावित पार्ने प्रयास थालेका हुन् । निर्वाचन आचार संहिता अनुसार चुनावी कार्यक्रम गर्न नपाइने भएकोले घरदैलो तथा भेटघाट गरेर मत माग्ने काममा उम्मेदवारहरु लागेका हुन् ।

यसै सिलसिलामा नेपाल कम्युनिष्ट पार्टी(एमाले) म्याग्दीका उम्मेदवार हरिकृष्ण श्रेष्ठले स्मार्ट म्याग्दी बनाउने योजना सुनाउँछन् । प्रतिनिधिसभा सदस्यको मुख्य जिम्मेवारी कानुन निर्माण भए पनि त्योसँगै विकास निर्माण, सुशासन कायम र रोजगारी सिर्जना प्रमुख एजेण्डामा काम गर्ने उनको भनाइ छ । जिल्लाको पश्चिम मालिका गाउँपालिकाको घरदैलो अभियानमा सांसद जनताको प्रतिनिधि भएकोले विकास निर्माण तथा म्याग्देली जनताको आशा र अपेक्षा अनुसार काम गर्ने प्रतिवद्धता पनि उनले गरे ।

म्याग्दी जिल्लाबाट उम्मेदवारी दिएका एकमात्रै स्वतन्त्र उम्मेदवार महावीर पुनले पहिलो चरणको घरदैलो अभियान सकिएको बताएका छन् । पहिलो चरणको भेटघाट जन्मगाउँ नागीमा पुगेर सकिएको हो । माघ ६ गते मनोनयन दर्ता गरेलगत्तै पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दरबाङबाट थालेर उम्मेदवार पुनले मालिका, धवलागिरी, मंगला, रघुगंगा, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा विभिन्न बस्तीमा पुगेर मतदाता भेटेका थिए ।

‘पहिलो चरणको अभियान सकिएको छ, अब समीक्षासहित दोस्रो चरणको अभियानमा जुट्छौँ,’ पुनका सहयोगी चित्र तिलिजाले भने ।

मुख्य दावेदार मानिएका नेकपा एमाले, नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी सँगै पछिल्लो समय स्वतन्त्र उम्मेदवार महावीर पुनको पनि चर्चा छ । राजनीतिक दललाई महावीरको प्रवेशले त्रास थपेको छ । उम्मेदवार पुनले आफ्ना सहयोगी र शुभेच्छुकहरु सहित मतदाताहरुलाई भेटेर आफ्ना कुरा राख्ने र ‘मन लागे देउ नलागे नदेऊ’ भन्दै मतका लागि आग्रह गर्दै आएका छन् ।

अन्य राजनैतिक दलहरुले आफ्नो योजना सुनाउदै आएको भए पनि जिल्लाका उम्मेदवारमध्ये सबै भन्दा पाको उमेर ७१ वर्षीय पुनले आफूलाई युवाहरुसँग काम गर्न मन लाग्ने र बुढाहरु मन नपर्नेसमेत भनेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारीले जिल्लालाई बजेट विनियोजनमा प्राथमिकता दिनुपर्ने सुनाउने गर्छन् । उनले पहुँचको आधारमा विकास निर्माणका आयोजना छनोट हुने परम्परागत शैलीलाई फेरेर आवश्यकताको आधारमा योजना छनौट गर्ने वातावरण बनाउने पनि बताए । घरदैलो अभियानको क्रममा दलका नेता, सत्तामा रहेकाहरूबाट आफ्नो क्षेत्रमा बजेट केन्द्रित गरिएको बिगगतलाई फेरेर आवश्यक कहाँ छ त्यहाँ बजेट पार्ने गरी निती निर्माण गर्नु पर्नेमा उनको जोड छ ।

नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाको पहलमा म्याग्दी हिमाली जिल्ला घोषणा भएपनि बजेटको प्राथमिकतामा नपरेको, आवश्यक पर्ने धेरै योजनाहरूमा अपेक्षा गरेअनुसार बजेट नपाएको अवस्थालाई तोड्न समानुपातिक बजेट विनियोजन गर्नुपर्ने बताए ।

घरदैलो अभियानमा जिल्लाभित्रका ६ वटै स्थानीय तहमा पुगेर उम्मेदवार भण्डारीले कानून बनाउनेदेखि समस्या समाधानमा निरन्तर खट्ने प्रतिवद्धता जनाए ।

राप्रपाका उम्मेदवार डम्भरबहादुर सुबेदीले कालिगण्डकी नदीमा स्नान तथा ४ सय वर्ष पुरानो बेनी शिवालय मन्दिरमा पूजा गरी चुनावी घरदैलो अभियान सुरू गरे । धार्मिक पर्यटनमार्फत् जिल्ला र मुलुकलाई धनी बनाउन सकिने उनको भनाइ छ ।

राप्रपामा विद्यार्थी समयदेखि नै सक्रिय युवा सुबेदीलाई उम्मेदवार बनाएर पार्टीदेखि सदनसम्म युवाको उपस्थिति मजबत बनाउन थालिएको पूर्वमन्त्री तथा राप्रपाका केन्द्रीय सदस्य भिमप्रसाद गौचनले बताए ।

नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार अर्जुन थापाले पश्चिम म्याग्दीको दरवाङ देखि ढोरपाटन हुँदै रुकुम जोड्ने सडकलाई प्राथमिकतामा राखेको बताए । समग्र विकासका लागि सडक विकास आवश्यक हुने भएकाले आफ्नो मुख्य प्राथमिकता त्यही रहेको उनको भनाइ छ ।

म्याग्दीमा कांग्रेसका कर्णबहादुर भण्डारी, एमालेबाट हरिकृष्ण श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टीबाट अर्जुन थापा, स्वतन्त्र उम्मेदवार महावीर पुन, राप्रपाबाट डम्भरबहादुर सुबेदी, नेकपा (माओवादी) बाट क्षेत्रबहादुर घिमिरे रहेका छन् । त्यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीबाट देवेन्द्र कामी, मंगोल नेशनल अर्गनाइजेसनबाट भिमबहादुर लामा, श्रम संस्कृति पार्टीबाट विनोद राना, राष्ट्रिय जनमोर्चा पार्टीबाट क्षेमबहादुर विक, नेशलनल रिपब्लिक नेपालबाट तुलप्रसाद गर्बुजा उम्मेदवार रहेका छन् ।

एक नगरपालिका र पाँच गाउँपालिका रहेको म्याग्दीमा ४४ हजार ६४ महिला र ४२ हजार तीन सय ३२ पुरुष र १ जना अन्य मतदाता रहेका छन् । ८२ मतदान स्थलमा एक सय २० मतदान केन्द्र कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->