
बागलुङ/जिल्लामा एचआईभी संक्रमितको संख्या २ सय १९ पुगेको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको तथ्यांक अनुसार एचआइभी संक्रमितको संख्या सबैभन्दा धेरै बागलुङ नगरपालिका र थोरै ताराखोला गाउँपालिकामा छ ।
बागलुङ नगरपालिकामा एचआइभी संक्रमितको संख्या ६१, काठेखोला गाउँपालिकामा २३, ताराखोलामा ३, तमानखोलामा ५, निसीखोलामा ५, बडिगाडमा १३, बरेङमा ३, जैमिनी नगरपालिकामा २२, गलकोट नगरपालिकामा २५ र अन्य ३८ जना रहेका छन् ।
जनस्वास्थ्य कार्यालयका वरिष्ठ क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेका अनुसार, संक्रमितमध्ये एक्काइस जना १८ वर्ष मुनिका रहेका छन् । ‘‘गतवर्ष २० हजारमा जाँच गर्दा १० जनामा एचआईभी संक्रमित फेला परे’’ घिमिरेले भने, ‘‘एचआइभी पुष्टि हुनेहरु अधिकांश भारतमा रोजगारी गरी फर्किएकाहरु छन् ।’’
संक्रमितलाई गोप्य रुपमा नियमित औषधी सेवनको दायरामा ल्याउने काम चुनौतीपूर्ण भएकोले एचआइभी पहिचानको दर, उपचार पद्धति र संक्रमण रोकथामलाई सन् २०३० सम्ममा ९५ प्रतिशत पु¥याउने लक्ष्य भेटाउन धेरै मेहेनत गर्नुपर्ने घिमिरेले बताए । ‘‘नेपालमा एचआईभी संक्रमित पत्ता लगाउने दर ९३ प्रतिशत, उपचार ८६ प्रतिशत र नियन्त्रण ७७ प्रतिशत छ । ९५ प्रतिशतमा लैजाने चुनौती छ’’ घिमिरेले भने ।
असुरक्षित यौनसम्पर्क, रगत लिनेदिने काम तथा लागूऔषध प्रयोगकर्ताबाट एचआइभी संक्रमण हुने गर्छ । संक्रमितलाई दिर्घरोग तथा अन्य प्राणघातक रोग लाग्दा निको नहुने भएकोे छिटो मृत्यु हुने गरेको छ । क्षयरोग, हेपाटाइटिस लगायतका रोग लागेमा एचआइभी भएकाहरुको मृत्यु हुने दर बढी हुने घिमिरले जानकारी दिए ।
एचआईभीबारे समुदायमा चेतना विकास गर्ने, सचेत बनाउने, रोग लाग्नै नदिने उपायको खोजी गर्ने काम भैरहेको घिमिरेले बताए । ‘‘त्यसबाहेक संक्रमित आमाबाट बालबालिकामा सर्न नदिन विशेष सर्तकता अपनाउने काम पनि अभियानको रुपमा चलेकाले हरेक गर्भवती आमाले नियमित स्वास्थ्य परीक्षण गराएको हुनुपर्छ’’ घिमिरेले भने ।
धौलागिरि अस्पतालको एआरटी सेन्टरबाट निशुल्क औषधि पाइने भएपनि कतिपय उपचारको पहुँचमा नआउने, आएकाहरु पनि खुल्न नचाहने गरेकोले यो समस्या जटिल रहेको छ । त्यसका लागि धौलागिरि पोजेटिभ समूहले समुदायसम्मै पुगेर औषधी दिने काम गरेको छ । बुर्तिवाङ अस्पतालबाट पनि संक्रमितले औषधि सेवन गरेका छन् भने अन्यले धौलागिरि अस्पतालबाटै सेवा लिएका हुन् ।
संक्रमण दर कम गर्नेसँगै संक्रमितलाई लान्छाना र भेदभाव न्यूनीकरण गर्ने, नयाँ संक्रमण रोक्ने र मृत्युदर घटाउने लक्ष्यमा जनस्वास्थ्य कार्यालयले काम गरिरहेको छ । लक्ष्य प्राप्तीका लागि जिल्लामा खोजी तथा पहिचान, उपचारको दायरामा ल्याउने र रोकथाम गर्ने क्रम चलिरहेको वरिष्ठ जनस्वास्थ्य प्रशासक प्रविण शर्माले बताए ।





