आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

बागलुङका किशोरीलाई एचपीभी खोप लगाउने सुरु

बागलुङका किशोरीलाई एचपीभी खोप लगाउने सुरु

यो वर्ष जिल्लाका २ हजार ३ सय २ जना किशोरीलाई खोप लगाउने जनस्वास्थ्य कार्यालयको योजना छ ।


  • ढाेरपाटन संवाददाता
  • फाल्गुन २ २०८२, शनिबार

बागलुङ/जिल्लाका किशोरीलाई शुक्रबारदेखि पाठेघरको मुखको क्यान्सरविरुद्वको (एचपीभी) खोप लगाउन सुरु गरिएको छ । यो वर्ष जिल्लाका २ हजार ३ सय २ जना किशोरीलाई खोप लगाउने जनस्वास्थ्य कार्यालयको योजना छ ।

तोकिएको उमेर समूहका कोही नछुटाउने गरी प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले खोपका लागि विद्यालय र घरघरसम्म पुग्ने टोलीसमेत गठन गरेको छ ।

आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई असर नपर्ने गरी फागुनभित्र जिल्लाका १० वर्ष उमेर पुगेका तथा कक्षा ६ मा पढ्ने किशोरीलाई एचपीभी खोप लगाउन टोली गठन गरिएको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माले जानकारी दिए । त्यसबाहेक नियमित खोप सेवा र छुटेका बालबालिकालाई खोपमा जोड्ने योजना छ ।

जिल्ला खोप समन्वय समितिको बैठकले खोप लगाउन सबै स्वास्थ्यकर्मीलाई खटाएको छ । खोपका लागि हरेक पालिकामा समय तालिका बनाइएको छ । बागलुङ नगरपालिकामा फागुनको १० गतेदेखि १५ गतेसम्म, गलकोट नगरपालिकामा १ देखि ५ गतेसम्म, ढोरपाटन नगरपालिकामा १० देखि १४ गतेसम्म र जैमिनी नगरपालिकामा १० देखि १२ गतेसम्म घरदैलो गरिने छ । अन्य ६ गाउँपालिकामा पनि तोकिएको समयमै खोप लगाईने छ । उक्त समयमा स्वास्थ्यकर्मीहरु विद्यालय र घरघरमा पुगेर खोप लगाउने छन् ।

गतवर्ष १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइएको थियो । सो अभियानमा ११ हजार १ सय ७७ जनाले खोप लगाएका थिए । यो वर्ष पनि तोकेको लक्ष्य अनुसार सबैलाई खोप लगाइने छ । प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार, यो वर्ष कक्षा ६ मा पढ्ने किशोरीबाहेक १० वर्ष उमेर समूहका ६ जना भने विद्यालय बाहिर रहेको तथ्यांक छ । उनीहरुलाई पनि घरमै पुगेर खोप लगाइने भएको छ ।

प्रदेश जनस्वास्थ्य कार्यालयले फागुन महिनालाई खोप महिनाको रुपमा नियमति अभियान पनि संचालन गर्ने कार्यालय प्रमुख शर्माले जानकारी दिए । ‘निर्वाचनका कार्यक्रम छलेर भएपनि फागुन महिनालाई खोप महिनाको रुपमा नियमित बनाइने छ,’ उनले भने ।

खोप समन्वय समितिका प्रमुख तथा जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले नागरिकको स्वास्थ्यभन्दा ठूलो अन्य केही नहुने भएकोले यो अभियान जारी रहने निर्णय गरेको छ । बागलुङ नगरपालिकाले केही दिनदेखि नै नियमित अभियानमा छुटेका खोप लगाउने बालबालिका र पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउनुपर्ने किशोरीहरु खोज्न घरदैलो अभियान थालेको छ ।

हरेक वर्ष स्थानीय तहले पालिकालाई पूर्ण खोपयुक्त घोषणा गर्दै अद्यावधिक गर्नुपर्ने प्रावधान छ । यो अभियानले साथ दिएको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माले बताए । आगामी बैसाख महिनाभित्र खोप पूर्ण बनाएर पालिकालाई पूर्ण खोप सुनिश्चित भएको र दिगोपना भएको पालिका घोषणा गर्ने योजना छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->