पोखरा/हाल अमेरिका बस्ने पत्रकार दिवाकर बागचन्दले फेसबुकमा सडकको हिउँ फाल्दै गरेको भिडियो राख्दै लेखे,‘ अमेरिका प्रकृतिले न्याय गरेको देश होइन । यहाँको जाडोमा हिटिंग सिस्टम (तातो पार्ने प्रणाली) नहुने हो भने बाँच्न सकिन्न । यहाँ जो आँधीहुरी आउँछ, हिमपात हुन्छ–त्यस्तो नेपालमा आउने हो भने सबै ध्वस्त हुन्छ । अमेरिकीहरुले प्रकृतिसँग समन्वय र सामना गर्ने क्षमताको विकास गरेका छन् । प्राकृतिक विपत्ति रोक्न सकिन्न तर व्यवस्थापन गर्न सकिन्छ ।’
हो,अमेरिकामा हिउँ पर्छ अनि आफ्नो घर अगाडिको सडकमा परेको हिउँ सोहोरेर फाल्ने दायित्व त्यही घरवालाको हुन्छ । कुनै गाडी त्यो घर अगाडिको हिउँमा चिप्लियो भने त्यसको दोष घरबेटीमाथि पर्छ ।
यो अमेरिकाको कुरा भयो । पोखरा हेरौँ न ! केही दिनअघिदेखि पोखराको सडकमा फोहोरको थुप्रो छ । फोहोर हिउँजस्तो आकासबाट खसेको हैन, यहीँका मान्छेको घरभित्रबाट सडकमा आइपुगेको हो । पोखरेलीले आफ्नो घर सफा राख्न सडकमा फोहोर थुपारेका हुन् । अमेरिका हुन्थ्यो भने त्यस्तालाई के गरिन्थ्यो होला ? सहजै कल्पना गर्न सकिन्छ !
२०७८ सालको जनगणना अनुसार पोखरा महानगरपालिकामा करिब १ लाख ४० हजार घरधुरी र ५ लाख १३ हजारभन्दा बढी बासिन्दा छन् । अस्थायी रुपले बस्ने परिवारको संख्या पनि उत्तिकै भएकाले महानगरले १० लाखभन्दा बढी मान्छेलाई आश्रय दिएको अनुमान गरिन्छ । यति धेरै नागरिक बस्ने यो सहरले दैनिक १ सय ३४ टन फोहोर उत्पादन गर्छ । त्यो फोहोर तह लगाउन ल्याण्डफिल साइट वा प्रशोधन केन्द्र चाहिन्छ । केही वर्षअघिसम्म पोखरा १४ बाच्छेबुडुवामा रहेको ल्याण्डफिल साइटमा फोहोर फालिन्थ्यो । जापान सरकारको सहयोगमा निर्मित सो ल्याण्डफिल साइट भरिने उपक्रममा थियो । त्यहीबीच २०७९ साल पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आयो । विमानस्थल चलाउन सो ल्याण्डफिल साइट बन्द गर्नुपर्ने भयो । हतारमा ल्याण्डफिल साइट बन्द गरिएपछि पोखरा ३२ लामेआहालमा फोहोर फाल्न थालियो । स्थानीयसँग गरिएको सम्झौता लम्ब्याउँदै सोही ठाउँलाई ल्याण्डफिल साइट बनाउँदासम्म पोखरा महानगरले वैकल्पिक फोहोर प्रशोधन केन्द्रका निम्ति जग्गा व्यवस्थापन गर्न सकेन ।
सुरुमा तत्कालीन मेयर मानबहादुर जिसी नेतृत्वको पोखरा महानगरले यसअघि वडा नम्बर १६ र २० को सीमानामा पर्ने पस्मराङमा ल्यान्डफिल साइट सार्ने योजना बुने । पोखरा–१६ का वडाध्यक्ष जीवन आचार्यको संयोकत्वमा गठित समितिले बुझाएको प्रतिवेदनका आधारमा पस्मराङमा करिब २५० रोपनी क्षेत्रफललाई ल्यान्डफिल साइटका लागि प्रयोग गर्ने भनिए पनि स्थानीयको विरोधले त्यो काम अगाडि बढेन ।
त्यसपछि पोखरा ३३ को टिमुरपाटा हेरियो । अध्ययन र निर्माणका लागि १० करोड रुपैयाँ पनि छुट्याइयो । तर, त्यो काम हालसम्म अगाडि बढ्न सकेन । त्यसपछि मेयर धनराज आचार्यले पोखरा ३३ कै पुँडीटारमा ल्याण्डफिल साइट बनाउने खाका कोरे । स्थानीयले विरोध गर्ने र ल्याण्डफिल साइट बनाउने हल्ला हुनासाथ जग्गाको भाउ बढ्ने भन्दै उनले वडा नम्बर ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई छिटो जग्गा किन्न अनुरोध गरे । महानगरको खाताबाट वडाध्यक्ष अधिकारीको खातामा ५५ लाख रुपैयाँ हालियो । त्यो प्रक्रिया विवादमा प¥यो ।
‘त्यो असल मनसायले प्रक्रिया नपु¥याइ गरिएको निर्णय थियो, कतै कुनै परियोजना बन्दैछ भन्ने थाहा पाएपछि एकाएक जग्गाको भाउ बढाइन्छ, मेयरले त्यो कुरा बुझेर छिटो काम गर्न खोज्नुभएको हो । टिमुरबोटेमा पनि स्वार्थ समूहले जग्गाको भाउ बढाउन खोजेकै हुन् । तर निर्णय बाहिरियो र अहिले त्यो पैसा फिर्ता भइसकेको छ,’महानगरका एक कर्मचारीले भने,‘फोहोर भनेपछि सबैको टाउको दुख्ने र आफ्नो क्षेत्रमा फाल्न नदिने अनि कतै त फोहोर फाल्नैपर्छ । मेयरको जग्गामा लगेर फाल्ने कुरा पनि भएन । फोहोर व्यवस्थापनमा कसैको सहयोग छैन ।’
पुँडीटारमै ल्यान्डफिल साइट बनाउन जग्गा प्राप्तिका लागि मन्त्रिपरिषद्बाट ३ महिनाअगाडि नै निर्णय आइसकेको छ । तर,त्यहाँ पनि अवरोध छ । जग्गा प्राप्ति प्रक्रिया पनि पूरा भएको छैन । यहीबीचमा पोखरा ३२ लामेआहालको ल्याण्डफिल साइट भरिएको छ । जेनजी आन्दोलनको क्रममा एकाएक धेरै फोहोर निस्केपछि यो अवस्था आएको मेयर आचार्यको जिकिर छ । ६ महिनाको लागि दिएको ठाउँमा लामो समयसम्म फोहोर फालेपछि स्थानीयको विरोध पनि भइरहेकै थियो, भरिएपछि चाहिँ स्थानीयले त्यहाँ फोहोर फाल्न अवरोध गरिरहेका छन् ।
फोहोर फाल्ने ठाउँ नै नभएपछि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य स्वयंले केही दिन फोहोर घरभित्रै राख्न आग्रह गरे । फोहोर वर्गीकरण गर्न पनि भने । तर, कसले टेर्ने ? सामाजिक सञ्जालमा महानगर र मेयरले फोहोर ततेर्न नसकेको भन्दै आलोचनना गरियो । दिक्क भएका मेयरले ‘फोहोर कहाँ फाल्ने त, जताततै अवरोध हुने हो भने अन्तरिक्षमा फाल्ने त ?’भन्ने प्रश्न गरे । त्यसमा पनि उनको आलोचना भयो ।
बुधबार फोहोर व्यवस्थापनको लागि भन्दै मेयर आचार्यले सर्वदलीय बैठकको आह्वान गरे । सबैजसो दलले दोस्रो वा तेस्रो दर्जाका नेता पठाएको सो बैठकमा मेयरले पोखरामा फोहोर किन थुप्रियो भन्ने बेलिबिस्तार लगाए । पोखरामा १ लाख ४० हजार घरधुरी रहे पनि १५ हजार घरले मात्र फोहोर व्यवस्थापन शुल्क तिर्ने गरेको जिकिर गरे ।
‘१५ हजारले कार्ड बनाएका छन् । अरु घरको फोहोर महानगरले निःशुल्क बोकेको छ । हामीले फोहोर व्यवस्थापनको लागि ६ वटा निजी कम्पनीलाई जिम्मा दिएका छौँ । फोहोर फाल्नको लागि चाहिने जनशक्ति भएका ती कम्पनीहरुले पनि टाढा फोहोर लैजानु परेपछि बढी शुल्क मागे । फोहोर कहाँ फाल्ने भन्ने नै द्विविधा भएको बेला उनीहरुसँग छोटो समयको लागि भए पनि सम्झौता गर्नुप¥यो । यो निर्णयका कारण अख्तियारदेखि मुद्दा–मामिला खेप्नुप¥यो,‘उनले भने,‘हामीले ल्याण्डफिल साइट हैन कि फोहोर प्रशोधन गर्ने केन्द्र बनाउन खोजेको हो । त्यस्तो प्रशोधन केन्द्रले वरपर प्रदूषण गर्दैन, प्रशोधन गर्दा करिब १५ प्रतिशत फोहोरमात्र बाँकी रहन्छ र अरुको पुनः प्रयोग हुन्छ । यो कुरा बुझाउन सकिएको छैन ।’
एक वर्षको लागि सम्झौता गर्छौँ । रियुज गर्ने कम्युनिटी बनाएका छौँ १ सय जनाको । नमूना घर बनाइएको छ । रिसाइकल र अपसाइकल भएका कुरा देखाउने ठाउँ हो ।

पोखरामा कस्तो फोहोर निस्कन्छ ?
गण्डकी नीति तथा योजना आयोगले गरेको एक अध्ययन अनुसार पोखरा महानगरपालिकाका घरपरिवारबाट उत्पन्न हुने ठोस फोहोरमध्ये ६० प्रतिशत जैविक(गल्ने) र ४० प्रतिशत अजैविक (नगल्ने) रहेको छ ।
घरायसी जैविक फोहोर मुख्यतया कागज र भान्साबाट निस्कने फोहोरलाई घरमै कम्पोस्ट बनाउन सकिने पनि नीति आयोगको प्रतिवेदन उल्लेख छ । घरबाट निस्कने जैविक फोहोरबाट मल बनाएर कौसी खेती गर्ने हो भने सहरमा निस्कने फोहोर स्वतः आधा कम हुन्छ । अझ, घरपरिवारहरूले भिजेको फोहोर कुखुरा र सुँगुरजस्ता पशुपालनका लागि दानाको रूपमा प्रयोग गर्न सकिने सम्भावना पनि प्रतिवेदनले औंल्याएको छ ।
प्रतिवेदनमा भनिएको छ,‘ घरपरिवारबाट दैनिक अनुमानित १३४ टन फोहोर उत्पादन हुन्छ । यसमध्ये ८२ टन( ६१ प्रतिशत) जैविक भिजेको फोहोर र ५२ टन (३९ प्रतिशत) अजैविक फोहोर हुन्छ । प्रति व्यक्ति दैनिक रूपमा १८० ग्राम जैविक भिजेको फोहोर र ११३ ग्राम अजैविक फोहोर उत्पादन हुन्छ । कुल ४० प्रतिशत नगल्ने फोहोरमध्ये प्लास्टिक फोहोरको मात्रा नै ८८ प्रतिशत छ । धातु र काँच ६ प्रतिशत, रबर ३ र अन्य (कपडा, माटोका सामग्री ३ प्रतिशतमात्र छन् ।’
प्लाष्टिकलाई पुनः प्रयोग गर्न सकिने भएकाले फोहोर प्रशोधन केन्द्र संचालन गर्ने हो भने यसबाट ठूलो लाभ लिन सकिने पनि प्रतिवेदनमा उल्लेख छ ।

पोखरा महानगरपालिकाले दक्षिण कोरिया सरकारको सहयोगमा हरित परियोजना संचालनमा ल्याएको छ । सो परियोजनाले फोहोरको पुनः प्रयोग र फोहोरबाट नयाँ सामान उत्पादन थालनी गरेको छ । पोखराका विभिन्न वडामा १ सयजना स्थानीय सम्मिलित गरी यो परियोजनाअन्तर्गत काम पनि भइरहेको छ । तर, सहरमा फोहोर निस्कने उपक्रम चाहिँ घटेको छैन ।
‘पोखरामा दैनिक २ सय टनजति फोहोर निस्कछ, जैविक फोहोरबाट मल बनाउने र ग्यास निकाल्ने सम्भावना छ अनि अजैविक फोहो बेचेर वार्षिक करिब ५० लाख रुपैयाँ वार्षिक आम्दानी गर्न सकिन्छ तर अहिले महानगरले निजी कम्पनीबाट २० लाखको हाराहारीमामात्र शुल्क प्राप्त गरेको छ,’नीति आयोगको प्रतिवेदनमा भनिएको छ ।
सबै महानगरले लिन्छन् शुल्क
दक्षिण एसियामा घनाबस्ती भएको सहरमध्ये पर्छ–मुम्बइ । मुम्बइ महानगरले फोहोर व्यवस्थापनको लागि नागरिकबाट मासिक १ सय भारुदेखि १ हजार ५ सय र ५ हजारसम्म शुल्क लिन्छ । हिन्दुस्तान टाइम्सका अनुसार सानो घरको लागि सबैभन्दा थोरै, अपार्टमेण्टको लागि केही धेरै र व्यावसायिक कम्प्लेक्सको धेरै शुल्क तोकिएको छ । मिडडे टाइम्सका अनुसार ६ सय मेट्रिक टन फोहोर पुनः प्रशोधन हुन्छ र फोहोरबाटै मुम्बइले वार्षिक ६ अर्ब ८७ करोड भारु आम्दानी गर्छ ।
जर्मनको ह्यामवर्ग सहरले फोहोर संकलन र व्यवस्थापन भन्दै दुई थरी शुल्क लिन्छ । बहुतले भवनको लागि प्रतिहप्ता ५.२५ डलर संकलनबापत् लिइन्छ भने व्यवस्थापनको लागि वार्षिक २३९ डलर हाराहारी शुल्क लाग्छ । नगर शुल्क भनेर राखिएको त्यो पैसा ३ वर्षको लागि हो । बेलायतको लण्डन र अमेरिकाको न्यूयोर्क सहरमा पनि फोहोरको मात्रा हेरेर शुल्क निर्धारण गरिएको छ ।
कस्तो घर बन्छन् पोखरामा ?
पोखरा महानगरपालिकाले नयाँ घर बनाउँदा अनिवार्य रुख रोप्नुपर्ने प्रावधान ल्याएको छछ । तर, त्यो नियम कार्यान्वयनमा आएको छैन । महानगरले कौसी खेती भन्दै अनुदान पनि बाँडेको छ । तर, कौसी खेतीको लागि घरको फोहोरबाट मल बनाउनेहरु नगन्य छन् । यहाँका घरहरुमा दिसा–पिसाब जम्मा गर्न सेफ्टी ट्याङ्की त बनाइएको छ तर फोहोर वर्गीकरण र जैविक फोहोर घर बाहिर फाल्नुभन्दा घरमै मल बनाउँदा आम्दानी हुन्छ भन्ने चेत पलाएको छैन । प्लाष्टिकबाट पैसा आउँछ भन्ने पनि थाहा छैन ।
‘पोखरा मानवीय सूचाङ्कमा समृद्ध र शिक्षित नै छ तर सडकमा फोहोर हेर्दा लाग्छ–यहाँका मान्छे स्वार्थी छन् । आफ्नो घरभित्रको फोहोर बाटोमा फालेर मान्छे सफा र शिक्षित हुँदैन । महानगरले संकट छ, घरमै केही दिन फोहोर राखिदिनुहोस् भन्दा पनि सडकमा फोहोर फाल्ने क्रम घटेको छैन, यो भनेको नागरिकमा देखिएको चेतनाको अभाव हो,’सामाजिक अभियन्ता तथा भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले भने,‘फोहोर त मेरो घरमा पनि निस्कन्छ नि, मैले महानगरको आह्वानपछि भित्रै राखेको छु । अहिले पोखरा म्याराथन हुँदैछ । पोखराको सहरभर विदेशीले फोहोरको डंगुर देख्दा के ठान्दा हुन् ? हातमा स्मार्ट फोन बोकेर र अर्कालाई गाली गरेरमात्र हुँदैन ।’





