पोखरा/पोखरा अन्तर्राष्ट्रिय विमानस्थल समग्र पोखरेलीको सपना हो । आजभन्दा ५० वर्षअघि पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सपना देखियो जुन अहिले साकार भएको छ ।
चिनियाँ एक्जिम बैंकको झण्डै २२ अर्ब रुपैयाँ ऋण सहयोगमा निर्माण भएको यस विमानस्थल अहिले सञ्चालनमा आएपनि नियमित अन्तर्राष्ट्रिय उडान भने हुन सकिरेहको छैन् ।
पोखराबाटै सिधै अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । त्यहि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको वर्तनमान अवस्था र भावी सम्भावनाबारे मंगलबार पोखरामा छलफल गरिएको छ ।
कार्यक्रममा पोखरा एयरपोर्टलाई सेतो हात्ती र भुत एयरपोर्टको संज्ञा दिएपछि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य आक्रोशित बनेका छन् । उनले पोखरालाई बदनाम गर्नका लागि कार्यक्रम आयोजना गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको सुनाए । सेतो हात्ती हो यो भुतको एयरपोर्ट हो यो खालको शब्द प्रयोग गर्न तपाईँलाई कसले अधिकार दियो ? के पोखरा यसरी हेप्ने ठाउँ हो ? उनले प्रश्न गर्दै काठमाडौँले काठमाडौँ भन्दा बाहिर सँधैभरि यस्ता किसिमका शब्दावली प्रयोग गरेको बताए ।
विमानस्थल निर्माणको क्रममा भ्रष्टाचार भए कारवाही गर्ने निकाय भएको र यस्ता संस्थाहरुले सुरुदेखी यस विषयको मुद्धा किन नउठाएको भन्दै कड्किएका मेयर आचार्यले पोखराका नागरिकहरुले ५० वर्षसम्म विभिन्न आन्दोलन, अनसन बसेर आफ्नो जमिन दिएर बनाएको विमानस्थलको बदनाम गर्न नपाउने भन्दै खबरदारी गरे ।
पोखरा विमानस्थल पूर्ण क्षमतामा चलेको र अन्तर्राष्ट्रिय उडानमात्रै नभएको भन्दै गुनासो पोखे । यो भन्दापछि यस्तो प्रयत्न नगर्न र यो मिसनप्रति विरोधमा पोखरा रहेको भन्दै असन्तुष्टि जनाए । पोखरा विमानस्थल चाँहिदै नचाहिने भनि प्रचार गरेको र विमानस्थल कर्मचारीको कारणले नभई जियोपोलिटिकल कुरा भएको उनको भनाई छ । उनले पोखरामा यो कार्यक्रमको आवश्यकता नभएको र काठमाडौंमै गरेर फर्किन भन्दै गम्भीर ध्यानाकर्षण भएको सुनाए ।
सेन्टर फर सोसल इनोभेसन एण्ड फरेन पोलिसी (सेसिफ) ले आयोजना गरेको सेमीनारमा रिसर्च फेलो सुरंगना रानाले निर्माणको रकम तिर्न नेपाललाई २०६ वर्ष लाग्ने भन्दै सेतो हात्ती भनिएको बताएकी हुन् ।
सेसिफ एक स्वतन्त्र, गैर–नाफामूलक तथा अनुसन्धानमुखी संस्था हो । यसले राष्ट्रिय नीति, सुशासन, पूर्वाधार विकास, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सम्बन्ध लगायतका विषयमा तथ्यमा आधारित अध्ययन, अनुसन्धान तथा संवादलाई प्रवद्र्धन गर्दै आएको छ ।
सेमिनारको उद्देश्य पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको वर्तमान अवस्था, यसको आर्थिक कार्यसम्पादन तथा भावी सम्भावनाका विषयमा गहन तथा सूचित छलफल गर्नु रहेको उनले बताइन ।
सेसिफका कार्यकारी अध्यक्ष विजयकान्त कर्णका अनुसार प्राविधिक सुधार गरेमा विमानस्थल वास्तविक रुपमा राम्रो हुने बताए । उनले राष्ट्रिय गौरवको आयोजनाको रूपमा यस परियोजनाको स्थान, अवसर र चुनौतीबारे बहुआयामिक दृष्टिकोणबाट विचार–विमर्श आवश्यक रहेको बताए ।
नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम् पोखराका जानकार आनन्दराज मुल्मीले पोखरेली जनताले विमानस्थलको डिजाइन, संरचना कस्तो हुन्छ भनेर धेरै माग गर्दा समेत सम्बन्धित निकायबाट स्पष्ट जवाफ प्राप्त गर्न नसकिएको सुनाए ।
मुल्मीले अन्तराष्ट्रिय उडानका लागि पोखराबाट शक्ति, पहँुच पु¥याउन नसकेको कारण र जियो पोलिटिकल कारण नै प्रमुख कारण रहेको धारणा राखे ।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन २०३१ सालमा तीन हजार एक सय रोपनी जग्गा अधिग्रहण गरिएको थियो । त्यसमा अपुुग जग्गा पछि थपेर तीन हजार आठ सय ९९ रोपनी क्षेत्रफलमा विमानस्थल तयार गरिएको हो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ वैशाख १ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास गरेका थिए । सुरुको सम्झौताअनुसार सन् २०२१ जुलाई १० मा निर्माण सक्नेगरी जिम्मा लिएको चिनियाँ कम्पनी ‘चाइना सिएएमसिई’ ले शिलान्यासको डेढ वर्षपछि काम थाल्दै ०७९ सालमा काम सम्पन्न गरेको थियो ।
पोखरा विमानस्थलबाट न्यारोबडी एयरबस ३२० र बोइङ ७५७–२०० जहाज उडान र अवतरण गर्न सक्छन् । विमानस्थलमा १४ हजार वर्गमिटरको आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल भवन छन् ।





