पोखरा/ साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड प्रदेश कार्यालय पोखराले पर्वतको कुश्मा नगरपालिका–१३ खौलालाँकुरीस्थित महेन्द्र आधारभूत विद्यालयमा आइतबार आयोडिन सम्बन्धी जनचेतना कार्यक्रमको आयोजना गरेको छ ।
आयोडिन महिना २०२६ अन्तर्गत महिनाव्यापी जनचेतना कार्यक्रम अन्तर्गत उक्त विद्यालयमा विद्यार्थी, शिक्षक तथा अभिभावकलाई आयोडिनको महत्ववारे जानकारी गराइएको थियो । नेपालमा सन् १९९८ देखि हरेक वर्ष फेब्रुअरी महिनालाई आयोडिन महिनाका रूपमा मनाइदै आइएको छ । आयोडिनको कमीले हुने विकृतिसम्बन्धी जनचेतना जगाउन साल्ट ट्रेडिङ्ग कर्पोरेसनले विभिन्न कार्यक्रम गर्दै आयोडिन महिना मनाउँदै आएको छ ।
कार्यक्रममा साल्ट ट्रेडिङको प्रदश कार्यालयका प्रमुख सागर शेरचनले आयोडिन शरिरका लागि अत्यावस्यक सूक्ष्म पोषक तत्व भएकाले सही तरिकाले दुई बालबालिका चिह्न भएको आयोडिनयुक्त नुनको प्रयोग गर्नुपर्नेमा जोड दिए । उनका अनुसार गर्भावस्थामा आयोडिन कमीले बच्चामा बौद्धिक विकास कमजोर हुने, उचाइ नबढ्ने, बोल्न–हिँड्न ढिलो हुने जस्ता समस्या देखा पर्छन । साथै बच्चा लुलो लंगडो हुने आदि समस्याहरु देखिन सक्ने र महिलाहरुमा बाँझोपनको समस्या पनि हुनसक्ने उनले बताए । आयोडिन सबैलाई स्वस्थ जीवनका लागि अत्यन्त आवश्यक भएको र वयस्कलाई भन्दा शिशुलाई बढी मात्रामा आयोडिन चाहिने शेरचनको भनाई थियो । घाँटीमा आउने गलगाँड पनि आयोडिनको कमीले हुने उनले बताए ।
समुद्र नजिकका देशमा माछा, समुद्री सागसब्जीबाट प्राकृतिक आयोडिन प्राप्त हुन्छ । तर नेपाल जस्तो भित्री देशमा माटो र पानीमा आयोडिन कम हुने भएकाले नुनलाई मुख्य स्रोत बनाइएको उनको भनाई छ । गाइबस्तुलाई पनि आयोडिनयुक्त नुन खुवाउनु पर्ने उनले बताए । साथै नुनमा आयोडिन भए नभएको जान्नका लागि घरेलु विधि पनि उनले सिकाए । उक्त अवसरमा विद्यालयका विद्यार्थी तथा अभिभावकहरुलाई विद्यालय झोला, हाते झोला र टिसर्ट वितरण गरिएको थियो । कार्यक्रमको सहजीकरण विद्यालयकी प्रधानाध्यापक सिर्जना कार्की क्षेत्रीले गरेकी थिइन् ।





