सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

जनताले मन र मत बदलिरहेको पुष्टि गर्ने तनहुँ र कास्की १ को यो तस्वीर

जनताले मन र मत बदलिरहेको पुष्टि गर्ने तनहुँ र कास्की १ को यो तस्वीर


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १२ २०८२, मंगलबार

पोखरा/तनहुँ क्षेत्र नम्बर १ मा २०७४ सालको चुनावमा एमालेका कृष्णकुमार (किसन)ले कांग्रेस उपसभापति रामचन्द्र पौडेललाई भारी मतले पराजीत गरे । कृष्णकुमारले ३४ हजार ४९२ मत पाउँदा रामचन्द्रले २७ हजार ६९० मतमा चित्त बुझाउनु प¥यो । तत्कालीन एमाले र माओवादी केन्द्रबीच चुनावपछि ‘वाम एकता’ गर्ने सहमतिसँगै चुनावमा होमिएका किसनसँगको हार रामचन्द्रको लागि अनपेक्षित थियो नै,समानुपातिकतर्फ तनहुँबाट प्राप्त मतमा पनि नेपाली कांग्रेसका निम्ति बिझाउने खालको थियो । तनहुँबाट एमालेले समानुपातिकतर्फ ५५ हजार २८५ मत पाउँदा कांग्रेसको भागमा ५३ हजार ७१९ मत परेको थियो । माओवादी केन्द्रले १० हजार ७९४ र नयाँ दल विवेकशील साझाले २ हजार ७५१ मत प्राप्त गरेको थियो ।

वाम एकता टिकेन । २०७९ को चुनावसम्म आइपुग्दा नेपाली कांग्रेस र माओवादी केन्द्रसहित एमालेबाटै छुट्टिएको नेकपा एकीकृत समाजवादीबीच चुनावी तालमेल भयो । एमाले एक्लियो । तनहुँ १ बाट चुनाव जितेका किसन श्रेष्ठले रामचन्द्रलाई मैदान छाडे । उनी बारा क्षेत्र नम्बर ४ बाट उम्मेदवार बने । आफ्नो चुनावी क्षेत्रको विकासमा ध्यान नदिएको आरोप खेपेका रामचन्द्रले मिहिनेत गरे । पछिल्लो हार बिर्सने क्रममा उनले एमालेका एकबहादुर रानाभन्दा ५ हजार ३८८ मत बढी पाए । कुल खसेको मत ६८ हजार १७५ मध्ये पौडेलले २५ हजार ३१३ र रानाले १९ हजार ९२५ मत प्राप्त ल्याए ।

चुनाव त रामचन्द्रले जीते तर सो क्षेत्रबाट कांग्रेसले २० हजार ८९ मतमात्र प्राप्त ग¥यो । अर्थात्,पौडेललाई मत दिनेहरु सबै कांग्रेसका बफादार कार्यकर्ता थिएनन् । किनकि, समानुपातिकमा मत हाल्नेहरु पार्टीका बफादार कार्यकर्ता हुन् । प्रत्यक्षतर्फको चुनावमा उम्मेदवारको व्यक्तित्व,नातागोताले प्रभाव पार्ने भए पनि समानुपातिकमा त्यस्तो हुँदैन । २ क्षेत्र रहेको अर्कोतर्फ २ निर्वाचन क्षेत्र रहेको कांग्रेसले समानुपातिकमा कुल ४२ हजार ३५२ मत प्राप्त ग¥यो । त्यो २०७४ सालको चुनावको भन्दा ११ हजार ३६७ ले कम थियो । एमालेको अवस्था त झन नाजुक देखियो । एमालेले ३९ हजार ४४७, राष्ट्रिय स्वतन्त्र पार्टीले २२ हजार ८६८, नेकपा (माओवादी केन्द्र)ले १२ हजार पाँच सय ५७ र नेकपा (एकीकृत समाजवादी)ले १ हजार ३९० मत प्राप्त गरे ।

तनहुँको चुनावी परिणामलाई नै आधार मान्ने हो भने, पुराना दलहरुको पकड कम हुँदै गएको प्रष्ट तस्वीर आउँछ । मत परिणामले भन्छ–५ वर्षको बीचमा एमालेले समग्र तनहुँमा १५ हजार ८३८ जना शुभेच्छुक गुमायो । पार्टी फुटकै कारण देखाउने हो भने पनि एकीकृत समाजवादीले अघिल्लो चुनावमा त्यहाँ १ हजार ३९० मतमात्र ल्याएको छ । माओवादी केन्द्रले समानुपातिकमा प्रगति गरेको देखिँदा कांग्रेस र एमालेका कार्यकर्ता नयाँ दल रास्वपाको पक्षमा गएको प्रष्ट देखिन्छ ।

तनहुँ १ बाट विजयी बनेका पौडेल राष्ट्रपति बने । क्षेत्र खाली हुँदा २०८० को वैशाख १० गते उपनिर्वाचन भयो । १ लाख २३ हजार ३०५ मतदाता भएको सो चुनावमा ६५ हजार ३१६ जनाले मात्र मताधिकार प्रयोग गरे । ६४ हजार १३५ मत सदर हुँदा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले रामचन्द्रको बिँडो थाम्न सकेनन् । रास्वपाबाट उम्मेदवार बनेका डा.स्वर्णिम वाग्लेले ३४ हजार ९१८ मत ल्याउँदा गोविन्दको पक्षमा २० हजार १२२ मत आयो । गोविन्दले पाएको मत यसअघि कांग्रेसले समानुपातिकतर्फ प्राप्त गरेको मतभन्दा ३३ मात्र बढी हो । अर्थात् गोविन्दलाई कांग्रेसका बफादार कार्यकर्ताको मात्र मत आयो । रामचन्द्रको पालाका व्यक्तित्व हेरेर दिइएको मत उनको भागमा परेन । तनहुँ १ बाट समानुपातिकमा रास्वपाले १२ हजार ७३९ मतमात्र ल्याएको थियो । रास्वपाले एक वर्षको अन्तरालमा २२ हजार २५९ मतबढायो ।स्वर्णिम र गोविन्दबीच १४ हजार ७९६ मतान्तर रहँदा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४८८ मत प्राप्त गरे । २०७४ मा किसनले पाएको मतसँग तुलना गर्ने हो भने एमालेले तनहुँ १ मा ६ वर्षको अन्तरालमा २६ हजार ४४ जना शुभेच्छुक गुमायो । समानुपातिककै परिणामसँग तुलना गर्ने हो भने पनि एमालेको संगठनबाट८ हजार १५५ जना अलग्गिए । तनहुँ क्षेत्र नम्बर एमालेले समानुपातिकतर्फ १६ हजार ६४३ मत ल्याएको थियो ।

आउँदो फागुन २१ मा हुने चुनावमा तनहुँ १ मा १ लाख ३६ हजार १९८ जना मतदाता छन् । तनहुँ कांग्रेसले ७ हजार हाराहारी क्रियाशिल सदस्य रहेको दाबी गरेको छ भने एमालेको ११ औं महाधिवेशनमा तनहुँबाट ५ हजार २४२ जना संगठित सदस्यले सहभागिता जनाएका थिए । त्यसको आधा हिस्सा क्षेत्र नम्बर १ को थियो । अहिले त्यहाँ रास्वपाका स्वर्णिम दोहोरिन खोज्दैछन् भने कांग्रेसका गोविन्द र एमालेकी भगवती न्यौपाने र नेकपाका विद्यानाथ ढकाल,उज्यालो नेपाल पार्टीका मञ्जिल राना,श्रम संस्कृति पार्टीका काशीराम गुरुङसहित १६ जना चुनावी मैदानमा छन् । हिजोका कांग्रेसी नेता गोविन्दराज जोशीका छोरा दीपकराज जोशी पनि यो चुनावमा होमिएका छन् ।

जनताले मन र मत बदलिरहन्छन् । हाल एमालेका सचिव रहेका कास्की क्षेत्र नम्बर १ निवासी खगराज अधिकारी यसका भुक्तभोगी हुन् । २०४८ सालदेखि निरन्तर सोही क्षेत्रबाट प्रतिस्पर्धा गर्दै आएका उनलाई पहिलो चुनाव फापेन । २०४८ सालमा कांग्रेसका तारानाथ रानाभाटले २० हजार ४१६ मत ल्याउँदा खगराजले १८ हजार ६८३ मतमात्र पाए । २०५१ सालमा परिणाम उल्ट्याउँदा खगराजले १९ हजार ९६५ मत प्राप्त गरे भने तारानाथले १८ हजार ७१४ मत ल्याए । २०५६ सालमा चाहिँ तारानाथले आफ्नो मत बढोत्तरी गर्दै २३ हजार ९३९ पु¥याउँदा खगराजको मत केही बढ्यो तर जीतको लागि पर्याप्त बनेन । खगराजले त्यो चुनावमा २० हजार १९६ मत ल्याएका थिए । २०६४ मा माओवादीको माहौल थियो । देव गुरुङ १७ हजार ४०७ मतले विजयी हुँदा एमालेका खगराजले दोस्रो भएर १४ हजार ८८६ मत ल्याए । कांग््रेस तेस्रो बन्यो । मनाङबाट पनि जितेका देवले सो क्षेत्र छाडेपछि भएको उपनिर्वाचनमा पनि माओवादीका कृष्णबहादुर गुरुङ नै विजयी बने । २०७० मा भने मत बाँडियो । कांग्रेसका यज्ञबहादुर थापा १५ हजार ८३२ मतले विजयी हुँदा एमालेका खगराजले १५ हजार ५६० मत ल्याए ।

२०७४ सालमा सो क्षेत्रबाट ३९ हजार २ सय ४२ मत ल्याएर खगराज विजयी बन्दा कांग्रेसका यज्ञबहादुर थापाले २५ हजार ८२६ मत पाए ।त्यो चुनावमा समानुपातिकतर्फ समग्रमा कास्कीबाट एमालेको पोल्टामा ८२ हजार ६४८,कांग्रेसले ६० हजार ७८९,माओवादीले १३ हजार ८८१,विवेकशील साझाले ७ हजार ३२७ मत गएको थियो । अर्थात्,कांग्रेस र एमालेको गढ मानिएको कास्कीमा विवेकशील साझाको उदय भएको थियो ।

२०७९ को चुनावमा कास्की क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ एमालेका मनबहादुर गुरुङ २५ हजार ७०८ मतसहित विजयी बने । खगराजसँग तुलना गर्ने हो भने उनको पालामा आइपुग्दा एमालेको १३ हजारभन्दा बढी मत कम भयो । यद्यपि, त्यो चुनाव वाम गठबन्धनको थियो । कांग्रेसका किशोरदत्त बराल दोस्रो हुँदा प्राप्त मत २३ हजार १८९ थियो भने तेस्रो हुने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजु राईले १० हजार ९४१ मत प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्यबहादुर गुरुङले ३ हजार ८ मत ल्याउँदा हाम्रो नेपाली पार्टीका प्रमोद आचार्यले १ हजार २९ मत ल्याएका थिए । कांग्रेसको हकमा चाहिँ अघिल्लो चुनावमा यज्ञबहादुरले प्राप्त गरेकोभन्दा २ हजार ६ सय ३७ मतमात्र कम भएको देखिन्छ ।

सो क्षेत्रमा समानुपातिकतर्फ एमालेले २१ हजार ४२३,कांग्रेसले १६ हजार २६८,राष्ट्रिय स्वतन्त्र पार्टीले १५ हजार ८६४,माओवादीले ५ हजार १०८,राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ हजार ८६६ र एकीकृत समाजवादीले १ हजार १३ मत ल्याएका थिए । हाम्रो नेपाल पार्टी १ हजार १२७ मत ल्याउँदै एकीकृत समाजवादीभन्दा अगाडि थियो ।

एमालेले समानुपातिकतर्फ प्रत्यक्षतर्फका उम्मेदवार मनबहादुरले पाएकोभन्दा ४ हजार २८५ र कांग्रेसले किशोरदत्तको भन्दा ६ हजार ९२१ कम मत प्राप्त ग¥यो । उता, रास्वपाले चाहिँ प्रत्यक्षतर्फका उम्मेदवार राजुले पाएकोभन्दा ४ हजार ९२३ मत बढी पायो । यसको मतलव यो हो कि, एमाले र कांग्रेसलाई मत र मन दिँदै आएका मतदाता रास्वपातिर सरे । किनकि, मंगोल नेसनल पार्टी, छाता चुनाव चिन्ह रहेको जनता समाजवादी पार्टी,राष्ट्रिय जनमोर्चा,मंगोल नेसलन अर्गनाइजेसनको समानुपातिक र प्रत्यक्षतर्फको मतमा खासै फरक थिएन । तर, मुख्य दलहरुको मतमा भने प्रत्यक्ष र समानुपातिकमा ठूलो अन्तर थियो । त्यो चुनावमा हाम्रो नेपाली पार्टी अर्थात् लौरो चुनाव चिन्हमा पनि नसोेचेको मत खस्यो । त्यसो हुनुमा काठमाडौंका मेयर बालेन्द्र साहले नै लिएका लौरो चुनाव चिन्ह पनि कारक थियो । जसका कारण उम्मेदवार प्रमोद आचार्यबारे जानकारी नहुँदा–नहुँदै पनि त्यो पार्टीमा जनताले भोट बर्साएका थिए ।

प्रदेशतर्फ रास्वपाका उम्मेदवार थिएनन् । जसका कारण पुराना दलको मत पुरानैमा अडियो । समानुपातिकमा एमालेले प्राप्त गरेको २५ हजार ५२६,कांग्रेसले १९ हजार ८१२,राप्रपाले ६ हजार १६१,माओवादी केन्द्रले ५ हजार ४८६,हाम्रो नेपाल पार्टीले ३ हजार ५२९ र एकीकृत समाजवादीले १ हजार १६६ मत हेर्दा मुख्य दलका प्रतिनिधिसभा उम्मेदवारले प्राप्त गरेको मतकै हाराहारी देखिनुले पनि त्यही कुराको पुष्टि गर्छ ।

कास्की १ मा योपटक एमालेका वैनबहादुर अधिकारी क्षेत्री, कांग्रेसका तिलक रानाभाट,रास्वपाबाट खड्गराज पौडेल ‘गनेस’,नेकपाबाट राजकाजी गुरुङ‘करन’सहितका उम्मेदवार मैदानमा छन् । यो क्षेत्रमा एक लाख १६ हजार ८७८ जना मतदाता छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->