बागलुङ/सेवा विस्तार गर्दै गइरहेको धवलागिरी प्रादेशिक अस्पताल बागलुङले मनोरोग सेवा तथा परामर्श शुरु गुरु गरेको छ । अस्पतालले हरेक महिनाको दोस्रो शनिबार मनोरोग तथा परामर्श शुरु गरेको अस्पतालका प्रमुख डा. किरण तिवारीले जानकारी दिए ।
मनोरोग विशेषज्ञ डा. सुन्दर रानाभाटले बिरामीलाई मनोरोग सम्बन्धि सेवा तथा परामर्श दिने छन् । तत्कालका लागि मासिक रुपमा गरिने उपचार तथा परामर्शले बिरामी लाभान्वित हुने डा. तिवारीको भनाई छ । ‘अस्पतालमा मनोरोग सम्बन्धि सेवा नहुँदा धेरै बिरामीहरु पोखरा धाउन बाध्य थिए, अब त्यस्ता बिरामी कहिँकतै जानुर्पैन’ तिवारीले भने ।
फागुन पहिलो हप्ताबाट सुरु गरिएको मनरोग सेवा तथा परामर्शमा १७ जना सेवाग्राहीले सेवा लिएका छन् । अस्पतालमा मनोरोग विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको भएपनि नियमित सेवा सञ्चालन हुन सकेको थिएन । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद शर्माले स्वास्थ्य बिमाबाट पनि मनोरोग सेवा प्राप्त गर्न सकिने बताए । ‘सेवा दिँदै स्थायी चिकित्सकको व्यवस्थापनका लागि पनि पहल गरिरहेका छौं” शर्माले भने ।
मध्य माघमा अस्पतालको निरीक्षणमा आएकी स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गौतमले मनोरोग तथा छाला रोग विशेषज्ञ चिकित्सकलाई बागलुङ पठाउन सहयोग गर्ने र धौलागिरी अस्पतालमा नर्सिङ कलेज स्थापनाका लागि पहल गर्ने बताएकी थिइन् । अस्पतालमा तीनवर्षे नर्सिङ पढाइको तयारी समेत थालिएको छ । नर्सिङ पढाइका लागि छुट्टै प्रयोगशालासहितको पूर्वाधार निर्माण गर्न गण्डकी सरकारले ७० लाख बजेट छुट्टाएको छ ।





