म्याग्दी/ प्रतिनिधिसभा निर्वाचनका लागि म्याग्दीमा सम्पूर्ण तयारी पुरा भएर निर्वाचनमा खटिने कर्मचारीलाई नियुक्तीपत्र वितरण शुरु भएको छ । ८२ मतदानस्थलका १२२ मतदान केन्द्रमा खट्ने कर्मचारीको टुंगो लगाइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबारदेखि नियुक्तीपत्र वितरण शुरु गरेको हो ।
शुक्रबार बेनीमा आयोजना गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ निर्वाचन र आमसञ्चार विषयक अन्तरक्रियामा मुख्य निर्वाचन अधिकृत सुर्यबहादुर थापाले सबै तयारी पुरा भएको बताए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले शान्तिसुरक्षाको अवस्था र तयारीका बारेमा जानकारी गराएका थिए ।
सुरक्षाकर्मी तथा कर्मचारी खटनपटनसँगै तयारी पुरा भएको प्रजिअ आचार्यको भनाई छ । जिल्ला प्रहरी कार्यालयले निर्वाचनमा खटिने निर्वाचन प्रहरीको केन्द्र तय गरेर मतदानस्थल तर्फ खटाइसकेको छ भने मतदान केन्द्रमा खटिने कर्मचारीले पनि नियुक्तीपत्र बुझेसँगै अब मतदान, मतपेटीका ढुवानी र गणना बाँकी रहेको हो । मंगलबार निर्वाचन प्रहरी खट्ने स्थलको टुंगो भएर सुचना प्रकाशन भए सँगै बुधबार बिहानै देखि आफ्नो कार्यस्थल तर्फ निर्वाचन प्रहरीहरु खटेका थिए । कर्मचारीहरु भने शुक्रबार र शनिबार नियुक्तीपत्र लिने र दुरी अनुसार १७ र १८ गते मतदान केन्द्र तर्फ लाग्ने छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक मुख्य निर्वाचन अधिकृत जगत भण्डारीका अनुसार मतदान स्थलमा खट्ने मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र सहयोगी कर्मचारी तोकिएको छ । फागुन १२ गते मंगलबार निर्वाचनमा खट्ने सबैको नामावली प्रकाशन गरीएको र १५ गते र १६ गते नियुक्तिपत्र दिएर मतदान स्थलमा खटाइने कार्ययोजना अनुसार आज नियुक्तीपत्र बितरण शुरु भएको हो ।
जिल्लाका सबै मतदान स्थलको अनुगमन गर्नुका साथै सुरक्षा व्यवस्था बारेमा समेत चुस्तता दिएको प्रजिअ आचार्यले बताए । निर्वाचन सुरक्षा योजना बनाएर कार्यान्वयनमा पनि ल्याएको हुनाले निर्वाचन शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न हुनेमा आफू विश्वस्त रहेको उनको भनाई छ । आचारसंहिता अनुगमन अधिकृत कुलप्रसाद आचार्यले जिल्लामा लिखित र मौखिक गरी ९ वटा उजुरी आएको बताए । उनका अनुसार हालसम्म आएका उजुरी मध्ये एउटालाई लिखित जवाफ मागिएको र अन्यलाई मौखिक रुपमा सचेत गराइएको छ । सामाजिक सञ्जालमा गरेका पोष्टलाई हटाउन लगाइएको उनको भनाई छ ।
प्रतिनिधि सभातर्फ एउटा मात्रै निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ८२ वटा मतदानस्थलमा एक सय २० मतदान केन्द्र कायम गरिएको छ । त्यस्तै जिल्ला कारागारमा रहेका कैदी बन्दीहरुका लागि कारागारमा एउटा र कर्मचारीहरुका लागि कर्मचारी मिलन केन्द्रमा दुई वटा अस्थायी मतदान स्थल कायम गरिएको छ । जिल्ला सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले १५ वटा अति संवेदनशील, ५८ वटा संवेदनशील र ८ वटा मतदानस्थललाई समान्य भनेर वर्गीकरण गरेको छ । एउटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ४४ हजार ६४ महिला, ४२ हजार तीन सय ३२ पुरुष एक जना अन्य गरी कुल ८६ हजार तीन सय ९७ मतदाता रहेका छन् ।





