पोखरा/पोखरा महानगरपालिका वडा नं २७ रिठेपानीमा रहेको लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुलले त्रिदिवसीय कार्यक्रमका साथ वार्षिकोत्सव मनाएको छ ।
बिहीबारबाट सुरु भएको कार्यक्रम अन्तर्गत शनिबार शैक्षिक तथा खेलकुदका साथै बाल प्रतिभा पहिचानअन्तर्गत भाषणकला तथा कविता प्रतियोगिता, गायन, नृत्य, नाटक लगायतका पुरस्कार वितरण गरी समापन गरिएको हो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय परीक्षा व्यवस्थापन कार्यालय गण्डकी प्रदेश पोखराका शिक्षा अधिकृत इन्द्रप्रसाद तिमिल्सेनाले समयको मागलाई ध्यानमा राखेर व्यावहारिक र प्रयोगात्मक शिक्षाको आवश्यकतामाथि प्रकाश पारेका थिए ।
सोही अवसरमा प्रिन्सिपल बिकल पौडेलले विद्यालयले अगाडि सारेका भावी योजना प्रस्तुत गरेका थिए । कार्यक्रम एकेडेमिक डिन विचित्र न्यौपानले सञ्चालन तथा स्वागत विद्यार्थी आगमन बराल र कक्षा १२ संयोजक विष्णुहरि पौडेलले गरेका थिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष तिलकसिंह गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय सञ्चालक कार्यबाहक अध्यक्ष तेज्यू गुरुङ्ग, नेसनल प्याव्सनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष तथा केन्द्रीय परीक्षा उपसमिति संयोजक ज्ञानेन्द्र मोहन भट्टराई, केन्द्रीय व्यवस्थापन उपसमिति संयोजक कमल रानाभाट, केन्द्रीय सहकोषाध्यक्ष शिवदत्त तिवारी, कास्की अध्यक्ष रोशन कोइराला, प्रगतिचोक आमा समाज अध्यक्ष देवी गुरुङ, राइजिङ्ग स्टार युथ क्लवका अध्यक्ष तिलबहादुर गुरुङ, हिसान कास्की अध्यक्ष दिवाकर जैसी लगायतले शुभकामना दिएका थिए ।
विद्यालयमा शुक्रवार नयाँ भवनको शिलान्यास समेत गरिएको थियो। कक्षा नर्सरीदेखि १२ सम्म सञ्चालित यस विद्यालयमा करीव सात सय विद्यार्थी अध्ययनरत रहेका छन् ।




