म्याग्दी/ थकाली समुदायको मुख्य चाड तोरन्लह अर्थात फागुपूर्णिमाको रौनक सदरमुकाम बेनीमा शुरु भएको छ । हिमालपारीको जिल्ला मुस्ताङबाट उदय भएको मानिएको र म्याग्दी हुँदै देश विदेशमा फैलिएका थकाली समुदायले फागुपूर्णिमाको अवसरमा ३ दिनसम्म पितृपुजा तथा तारा खेल (आर्चरी) खेलेर धुमधामसँग मनाउने गर्दछन् ।
फागुपूर्णिमाको अघिल्लो दिन शुरु भएर पूर्णिमाको भोलिपल्ट सकिने यो पर्व आइतबारदेखि शुरु भएको हो । नेपालको जनगणना २०७८ अनुसार थकाली समुदायको कुल जनसंख्या ११ हजार सात सय ४१ रहेको छ । थकाली भाषा बोल्नेको जनसंख्या भने ४ हजार दुई सय २० मात्र रहेको छ । यो संख्या भनेको थकाली जातिको जनसंख्याको झण्डै ३६ प्रतिशत मात्रै हो । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका अनुसार मुस्ताङबाट शुरु भएको थकालीको कुल जनसंख्याको १६ दशमलब ९ प्रतिशत मात्रै मुस्ताङमा रहेका छन् । सबै भन्दा धेरै काठमाडौंमा २२.९ र कास्कीमा १८.९ प्रतिशत रहेको प्रतिष्ठानको तथ्याङ्कले देखाउँछ ।
थकाली समुदायको मातृभाषा तिब्बती बर्मेली परिवारमा पर्छ भने उनीहरुको प्राचिन धर्म बोन हो भने पछि उनीहरु बौद्धमार्गी भएका हुन् । तोरनल्ह मनाउन घरबाहिर र विदेशमा रहेका थकालीहरु पनि यो समयमा आफ्नो जन्मथलो फर्किन्छन् । यस वर्ष पनि कतिपय आफ्नो थातथलो फर्कीएको भए पनि कतिपयले आफ्नो बसोबास भएकै क्षेत्रमा यस पर्वलाई मनाउने गरेको छन् । तीन दिन सबैरे उठेर चोखोनिष्ठ भएर पितृलाई सम्झिएर पूजाआजा गर्ने र फूलप्रसाद चढाउनुपर्छ, आफन्तलाई बोलाएर मीठामीठा परिकार खुवाउने र आर्चरी (तारो हान्ने) खेल्ने चलन रहेको थकाली सेवा समाज बेनी क्षेत्रका सचिव दिलिप गौचनले बताए ।
परापूर्व काल देखि नै मान्दै आएको चाड फागु पूर्णिमा, पितृको उद्धार र पितृलाई खुशी पार्नका लागि नै मुख्य रुपमा यो पर्व मनाउने गरिन्छ । आफ्ना अग्रजहरुको स्वर्गमा बास होस वा उनीहरुलाई सम्झनका लागि नौ यो पर्व मनाउने गरिन्छ । खासगरी पितृहरुलाई सम्झनका लागि धनुषबाँड खेलेर मनाउने गरिने थकाली सेवा समाज बेनी क्षेत्रका बरिष्ठ उपाध्यक्ष योगेन्द्रमान शेरचनको भनाई छ ।

म्याग्दीको दाना, भुरुङ तातोपानी, बेनी, दरवाङ लगायत बजार क्षेत्रमा थकाली समुदायको बसोबास छ । तोरन्ल्ह पर्वको अवसरमा परम्परागत तारो हान्ने खेलको संरक्षणका लागि थकाली सेवा समिति बेनी क्षेत्रको आयोजनामा तारो खेल सुरु भएको छ । तारा खेललाई थकाली समुदायले आफ्नो जातीय पहिचानसँग जोडेका छन् । धार्मिक ग्रन्थमा विभिन्न युद्धमा धनुषवाणको प्रयोग भएको भेटिएकाले यसको विकास मानव समाजको उत्पत्ति कालदेखि नै भएको अनुमान गरिन्छ ।
हाल थकाली समुदायको विभिन्न क्षेत्रमा क्षेत्रिय समिति रहेका छन् । विश्वभरमा कुल २२ वटा थकाली समुदायको क्षेत्र रहेकामोमा नेपाल भित्र २० र नेपाल बाहिर २ छन् । अब केही समयमै नेपाल बाहिर एउटा क्षेत्र थप हुने समेत थकाली सेवा समितिको केन्द्रीय समितिले निर्णय गरी सकेको छ । पछिल्लो पटक थकाली सेवा समितिको क्षेत्रीय अनुमती रुकुमले पाएको थकाली सेवा समाज बेनी क्षेत्रका अध्यक्ष शुन्दरमान शेरचनले जानकारी दिए ।
कुनै समय युद्धको महत्वपूर्ण हतियार, जंगली जनावरको सिकार गर्ने माध्यम धनुषवाणले अहिले खेलकुदको एउटा विधाको रुपमा मान्यता पाएको छ ।
आर्चरी खेलमा प्रयोग हुने नियम र त्यसका शब्द अल्पसंख्यक थकाली समुदायको भाषासँग मिल्ने हुनाले यसलाई थकाली समुदायले आफ्नो जातीय पहिचानको मानेको हो । एउटा समूहमा ६ जनासम्म खेलाडी सहभागी भएर खेल्ने आर्चरीमा तिखो वाण र विशेष गरेर बाँसको धनुष प्रयोग हुन्छ । निश्चित दूरिमा दुईतर्फ काठका फल्याक राखेर एकबाट अर्को ठाउँतर्फ वाण प्रहार गर्ने र वाण फल्याकभित्रमा कोपिएको आधारमा खेलको मूल्यांकन हुन्छ । फल्याकभित्र सानो गोलो आकारको घेराभित्र वाण कोपिएमा खोल पसेको भनिन्छ । खोल आर्चरी खेलमा महत्वपूर्ण उपलब्धि हो ।





