सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

चुनावी सरगर्मीमा फोहोरको दुर्गन्ध

चुनावी सरगर्मीमा फोहोरको दुर्गन्ध

फोहोरको पहाड नजरअन्दाज गर्दै उमेदवार भने देश सफा गर्छु भनेर मत मागिरहेका छन । उमेदवारको घोषणापत्रमा फोहोर व्यवस्थापनको विषय छुटेको छैन । तर, कसरी व्यवस्थापन गर्ने भनेर कोही उमेदवार बोलेका पनि छैनन । चोकमा थुप्रिएको फोहोर व्यस्थापनले पनि राजनीतिक रुप पाएको छ ।


  • ढोरपाटन संवाददाता
  • फाल्गुन १९ २०८२, मंगलबार

पोखरा/चुनावी प्रचारप्रसारको अन्तिम दिन । उमेदवारले भनिरहेका छन, ‘राजनीति सफा गर्न मलाई मत दिनुहोस ।’

तर, पोखराको फोहोर व्यवस्थापन गर्न दलहरुले नै अवरोध गरिरहेका छन । जसका कारण चुनावी सरगर्मी बढिरहँदा पोखरामा फोहोरको दुर्गन्ध पनि उत्तिकै बढेको छ ।

पछिल्ला दुई महिनायता पोखराको चोकचोकमा फोहोर थुप्रिएको छ । फोहोरको पहाड नजरअन्दाज गर्दै उमेदवार भने देश सफा गर्छु भनेर मत मागिरहेका छन ।

उमेदवारको घोषणापत्रमा फोहोर व्यवस्थापनको विषय छुटेको छैन । तर, कसरी व्यवस्थापन गर्ने भनेर कोही उमेदवार बोलेका पनि छैनन ।

चोकमा थुप्रिएको फोहोर व्यस्थापनले पनि राजनीतिक रुप पाएको छ ।

नेपाली काँग्रेसका उमेदवार माधवप्रसाद बास्तोला (मधु) ले आफ्नो प्रतिबद्धतामा स्वच्छ पोखराको अभियान भनेर उल्लेख गरेका छन् ।

“फोहरमैलाको वैज्ञानिक व्यवस्थापन गर्दै सफा, सुन्दर र स्वच्छ पोखरा निर्माणका लागि म दृढ पहल गर्नेछु ।” उनको घोषणापत्रमा उल्लेख छ ।

एमालेका उमेदवार रश्मी आचार्यको घोषणापत्रमा फोहोरलाई कम्पोस्ट मल र उर्जामा परिणत गर्ने उल्लेख छ ।

“नगर क्षेत्रको फोहर व्यवस्थापन गर्न फोहरबाट ऊर्जा तथा कम्पोष्ट मल बनाउने प्रविधियुक्त उद्योग स्थापनाका लागि स्थानीय तहको समन्वयमा आवश्यक प्रोत्साहन गरिनेछ ।” उनको घोषणापत्रमा उल्लेख छ ।

रास्वपाका उमेदवार खडकराज पौडेलले पनि फोहार व्यवस्थापनको विषयलाई आफ्नो वाचापत्रमा समेटेका छन ।

“फोहोर व्यवस्थापनमा चक्रीय अर्थतन्त्र मोडल अपनाई फोहोरलाई आर्थिक स्रोतमा रुपान्तरण गरिनेछ ।”

अरु उमेदवार भन्दा बरु प्रष्टरुपमा फोहोर व्यवस्थापनको बारेमा उज्यालो नेपाल पार्टीका उमेदवार कुशल गुरुङले समाधान कसरी गर्ने भन्नेमा बोलेका छन् ।

उनको घोषणापत्रमा, “कास्की, स्याङजा र तनहुँका स्थानीय तहहरु समेटेर एकीकृत फोहोरमैला व्यवस्थापनको दीर्घकालीन समाधान कार्यान्वयन गर्नेछौँ” उल्लेख छ ।

“पोखरामा दैनिक २०० टन फोहोर उठ्छ । वास्तवमा १०० टन पनि छैन । कुहिने फोहोरलाई करेसाबारीमा व्यवस्थापन गर्ने, गँड्यौला मल बनाउने, प्लाष्टिकजन्य फोहोरको व्यवस्थापनको लागि चाहिँ बजेट बढाउनुपर्छ ।” उनले भने, “ल्याण्डफिल त चाहिन्छ, तर, छिमेकी जिल्लालाई जोडेर दीर्घकालीन योजना ल्याउनुपर्छ ।”

तर, बजारभरिको फोहोर किन उठ्न सकिरहेको छैन ?

आजित भएर गएको बुधबार पोखराका नगरप्रमुख धनराज आचार्यले फेसबुकमा लेखे, “अनुरोध । फोहोर विसर्जनका सन्दर्भमा हाम्रा राजनीतिक दल तथा स्थानीय साथीहरुको दोहोरो व्यवहारका कारण निष्कर्षमा पुग्न केही समय लागेको छ । पटकपटक लुँडो खेलजस्तै अवस्था दोहोरिनु परेको छ । हाल केही वडाहरुमा अल्पकालीन व्यवस्थापन गरिएको छ र हामी सकेसम्म छिटो फोहोर संकलनका लागि गाडी पठाउँदैछौँ । त्यतिबेलासम्म कृपया जथाभावी सडकमा फोहोर नफालिदिनुहुन अनुरोध छ ।”

बिचमा फोहोर नउठेको पनि होइन । आचार्यले स्टाटस लेख्नुभन्दा अगाडि माघ २८ गते पोखरा सभागृृहमा सर्वदलीय बैठक बसेको थियो ।

पछिल्लो समय फोहोर व्यवस्थापन भइरहेको लामेआहाल ल्याण्डफिल साइड भरिएपछि फोहोर व्यवस्थापनका लागि दर्जनौँ सम्भावित स्थानहरूको खोजी गरिए पनि विभिन्न कारणले टुङ्गोमा पुग्न नसकेको उक्त बैठकमा प्रमुख आचार्यले जानकारी गराएका थिए ।

महानगरलाई फोहोर व्यवस्थापनमा भइरहेको स्थानीय अवरोधको समन्वयका लागि राजनीतिक दल, नागरिक समाज, स्थानीय प्रशासन लगायत सरोकारवालाहरूलाई उनले आग्रह गरेका थिए ।

गण्डकी प्रदेश सरकारका मुख्यसचिव डण्डुराज घिमिरे, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल सहित नेपाली काँग्रेसका सचिव नवीन सिग्देल, नेकपा एमालेका उपाध्यक्ष भेषराज बराल, नेपाली कम्युनिस्ट पार्टी कास्कीका संयोजक विश्वप्रकाश लामिछाने, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा (विप्लव), श्रम संस्कृति पार्टी लगायत पार्टीका प्रतिनिधिहरूले आफूहरू महानगरपालिकाको साथमा रहेको प्रतिबद्धता जनाएका पनि हुन ।

नगरप्रमुख आचार्यले राजनीतिक दलहरुले प्रतिबद्धता जनाए पनि तल्लो तहको संरचनालाई सर्कुलर नगरेको गुनासो गरेका छन् ।

जनवरी १, २०२२ बाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पोखरा १४ बाच्छेबुडुवाको स्थायी ल्यान्डफिल साइट सानुपर्ने भयो । अस्थायी रुपमा पोखरा ३२ लामेआहालमा डम्पिङ साइट बनाइयो । भंगालो पुर्न स्थानीयले स्विकृति दिएपछि बनाइएको उक्त डम्पिङ साइट भरियो । महानगरले पोखरा ३३ मा फोहोर प्रशोधन केन्द्र बनाएर बिजुली वा ग्यास निकाल्ने परियोजनो प्रक्रिया अगाडि बढाएको थियो । तर, ३ वर्ष पुग्नै लाग्दा समेत प्रशोधन केन्द्रका लागि आवश्यक जग्गा उपलब्ध भएन । पोखरा ३३ पुँडीटारका स्थानीयले जग्गा दिन मानेनन् ।

पुँडीटार क्षेत्रमा फाहोर व्यवस्थापन गर्न स्थानीयलाई बुझाउने, त्यसको मोडल र वातावरणीय प्रभावका बारेमा नबुझाउँदा प्रदर्शन भएका छन् ।

विवाद बढ्दै गएपछि तोडफोड र वडाध्यक्ष रामचन्द्र अधिकारीले खुकुरी नचाएको घटना देशभर चर्चाको विषय बनेको थियो । अहिले पनि त्यहाँका स्थानीय विरोधमै छन् । रास्वपाका वडा सभापतिले विज्ञप्ति निकालेर पोखरा ३३ मा प्रशोधन केन्द्र बन्न नदिने चेतावनी दिए ।

सभागृहमा सहयोग गर्ने प्रतिबद्धता जनाएर निस्केपछि महानगरले २१ नम्बर वडामा अस्थायी व्यवस्थापनको योजना बनायो । एमालेले विज्ञप्ति नै निकालेर फोहर नफाल्न चेतावनी दियो । वडा कमिटी अध्यक्षले जनस्वास्थ्य ख्याल नगरी पर्यावरणलाई दीर्घकालीन असर पर्ने भन्दै फोहर ल्याउने काम तुरुन्त रोक्न भने ।

पोखराको दीर्घकालीन फोहोर व्यवस्थापनका लागि भन्दै नेपालका विभिन्न शहरदेखि भारतका विभिन्न ठाउँमा कर्मचारी जनप्रतिनिधिको टोलीले भ्रमण गरेको थियो । तर समस्या भने सुल्झिनुको सट्टा बल्झिँदै गएको छ ।

तत्काललाई समस्या समाधान गर्ने र त्यसपछि अर्को विकल्प नखोज्दा पोखराको फोहोर व्यवस्थापनमा फेरि समस्या निम्तिएको छ ।

पोखराको फोहोर उठाउने निजी कम्पनीको म्याद सकिएपछि बिनाप्रतिस्पर्धा राजस्व घाटा खाएर म्याद थपिएको थियो । आउँदो असारमा उनीहरूसँगको सम्झौता पनि सकिँदै छ । एकातिर राजस्व घाटा खाएर बिनाप्रतिस्पर्धा पुरानै कम्पनीलाई फोहोर उठाउने जिम्मा दिने र अर्कोतिर महानगरकै स्वार्थसमेत बाझिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यो विषयमा छानबिन गरिरहेको छ ।

अहिले पोखरामा संकलन हुने फोहोर ८ वटा कम्पनीले ल्यान्डफिल साइट पु¥याउँदै आएका छन् । बिनाप्रतिस्पर्धा तिनै कम्पनीहरूलाई पटकपटक जिम्मेवारी दिइएपछि महानगरमाथि नै प्रश्न उठ्दै आएको छ ।

महानगरलाई पहिलेभन्दा ठूलो आर्थिक घाटा पर्ने गरी ३ वर्षका लागि पहिलेकै कम्पनीलाई म्याद थपिएपछि अख्तियार र महालेखाको कार्यालयले प्रश्न उठाउँदै आइरहेको छ । यी कम्पनीले यसअघि वार्षिक १ करोड ७० लाख रूपैयाँ राजस्व बुझाउँथे । तर अहिले भने ३ वर्षको १ करोड ८६ लाख रुपैयाँ मात्र राजस्व पाउने गरी बिनाप्रतिस्पर्धा ठेक्का लगाइएको छ ।

यी विषयहरूमाथि महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाउँदै आइरहेको छ भने अख्तियारले समेत निजी कम्पनी, पोखराका नगरप्रमुखदेखि जनप्रतिनिधि लगायतलाई बयानका लागि बोलाइरहेको छ ।

नगरप्रमुख आचार्यले भने वडा नं. ३३ को प्रशोधन केन्द्रको बारेमा बुझाउन नसकिएको बताएका छन् ।

“मेरै वडा हो ३३ नम्बर । त्यहाँ हामीले बुझाउन सकेनौँ कि । त्यतिबेला बुझेको साथीले नेतृत्वमा रहेको साथीलाई भन्नुभएन कि ।” उनले भने, “यो कुनै फोहोर फाल्ने ठाउँ होइन, यो एउटा उद्योग हो । त्यहीँभित्र त्यो कम्पाउण्डभित्र १०० जनाको क्वाटर हुन्छ, डेढसय जति मान्छेले काम गर्छन । यो २४ सै घण्टा चल्छ, त्यहाँ स्वास्थ्यकेन्द्र विद्यालय सबै चाहिन्छ । यो विरोध गर्नुपर्ने फोहोर फाल्ने ठाउँ होइन । फोहोर नै निस्किँदैन, फोहोर ग्यासमा परिणत भएर सिलिण्डरमा निस्किन्छ, मल बनेर प्लाष्टिकमा निस्किन्छ ।”

उनले त्यहाँ विरोध नै भइरहे अन्यत्र पनि जग्गा हेरिएको बताए । पुरानो ल्याण्डफिल रहेको वडा नं. १४ कै बासिन्दाले मिल्ने भए सोही वडामा बनाउन आग्रह गरेको उनले बताए । “विकल्पका लागि काफी ठाउँ छन ।” उनले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->