तस्बिर : छविलाल पाण्डे
बागलुङ/दादुरा निर्मुल पार्ने देशभरकै योजना संचालन भैरहेको बेला बागलुङको ढोरपाटन नगरपालिका वडा नं ७, ८ र ९ स्थित बोबाङका बालबालिकामा दादुरा रोग देखिएको छ । केही दिन अघिनै बालबालिकामा छिटफुट संकेत देखिएपछि नमूनाको रुपमा पहिलो चरणमा ८ जनाको परीक्षण गरिएकोमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले १ जनामा पुष्टी भैसकेको जानकारी गराएको हो ।
प्रदेश जनस्वास्थ्य कार्यालयको अगुवाईमा बुधवार र बिहिवार परीक्षण गर्दा अहिलेसम्म यहाँका ४७ जनामा दादुरा लागिसकेको भेटिएको हो । कार्यालयका खोप सुपरभाइजरका राजु खत्रीका अनुसार तत्काल उपचार र आइसोलेसनको व्यवस्थापन नगरेमा गाउँभरी फैलने खतरा भएको बताए ।
थापा सहित धौलागिरि अस्पताल र बुर्तिवाङ अस्पतालका डाक्टरले संभावित बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा धेरै बालबालिकामा यो समस्या देखिएको हो । ‘हामीेले प्रारम्भिक रुपमा परीक्षण गर्दा धेरै समस्या आउन सक्ने देखियो, तत्काल रोकथामको उपाया खोजी गर्दैछौं’ उनले भने, ‘गाउँमै उत्पती भयो वा कतैबाट सरेर आएको हो भन्ने समेत खोजी भैरहेको छ ।’ तीब्र रुपमा सर्ने रोग भएकोले बिद्यालय उमेर समूहका बालबालिकामा छिटो संक्रमण हुने उनले बताए ।
जन्मेको १५ महिना भित्र लगाइसक्नुपर्ने खोप नलगाएको कारण वा अन्य के कारणले रोग लागेको भन्ने अध्ययन हुन बाँकी रहेको खत्रीले बताए । संक्रमण भएकाहरु अधिकांस १० देखि २० बर्ष भित्रका छन् । अधिकांस बालबालिकालाई ज्वरो, खोकी र शरिरमा बिविरा आएको भेटिएको स्थानीय स्वास्थ्य चौकीका प्रमुख दिपक थापाले जानकारी दिए । ‘यी गाउ“हरु दुर्गम क्षेत्रमा छन्, त्यसैले पहिला खोप नलगाएको पनि हुन सक्छ’ उनले भने, ‘अन्य कारणपनि होला, अध्ययन नभइ वास्तविक भन्न सकिंदैन ।’ तत्काल रोकथामकालागि प्राथमिक उपचारको काम भने भैरहेको उनले जानकारी दिए ।
भाइरल प्रकृतिको रोग भएकोले कोभिड झै आइसोलेसनमा राखेर उपचार गर्न सकेमा मात्र छिटो निको हुने र रोकथाम गर्न सकिने भएकोेले सोही प्रकृतिको व्यवस्थापन गर्न अभिभावकहरुलाईपनि सम्झाइ बुझाइ गरिएको उनले जानकारी दिए । निर्वाचनका कारण धेरै स्वास्थ्यकर्मी समेत खटिएकोले शुक्रबारदेखि यहाँ सघन रुपमा खोजी र उपचारको काम अगाडि बढाइनेछ ।
नेपाल सरकारले सन् २०२६ भित्रै दादुरा रुवेला जनस्वास्थ्य समस्या नरहेको बनाउने अभियान संचालन गरिरहेको छ । यो समस्या देखिएपछि थप गम्भिर रुपमा लिएर उपचार सहित खोजी र परीक्षणको दायरा समेत फराकिलो बनाउनुपर्ने बरिष्ठ क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले बताए ।





