पोखरा/ कोशी प्रदेशको झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गर्दै रास्वपाका वरिष्ठ नेता बालेन शाह निर्वाचित भएका छन् । सर्वाधिक चासोको रुपमा हेरिएको यो निर्वाचन क्षेत्रमा अप्रत्याशित र ऐतिहासिक उलटफेर भएको हो ।
एमालेअध्यक्ष ओलीको दशकौँदेखिको विरासतलाई बालेनले भत्काउन सफल भएका हुन् । रास्वपाले शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेका कारण देशभरकै नजर यो क्षेत्रमा थियो। बालेनले एमाले अध्यक्ष ओलीलाई ४९ हजार ६१४ मतको फराकिलो अन्तरले पराजित गरेका हुन्।
कुल खसेको मतमध्ये बालेन शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दा एमाले अध्यक्ष ओली १८ हजार ७३४ मतमा खुम्चिए । काठमाडौँ महानगरपालिकाको प्रमुख पद त्यागेर राष्ट्रिय राजनीतिमा होमिएका बालेनका लागि यो जितले प्रधानमन्त्रीको दौडमा वैधानिकता प्रदान गरेको छ।
झापा–५ विगत तीन दशकदेखि केपी शर्मा ओलीको निर्विकल्प किल्ला मानिन्थ्यो। २०४८ सालदेखि निरन्तर यसै क्षेत्रबाट सक्रिय ओलीले २०५६ मा बाहेक यहाँ कहिल्यै हार व्यहोर्नु परेको थिएन। विशेषगरी २०७४ र २०७९ को निर्वाचनमा ओलीले यहाँबाट फराकिलो मतान्तरसहित जित निकाल्दै आफ्नो ुअजेयु छवि बनाएका थिए । तर, २०८२ को राजनीतिक घटनाक्रम र जेनजी आन्दोलनको रापले यसपटक झापाको जमिनमा नयाँ राजनीतिक अंकुरण गरिदियो।





