शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

‘उच्च मनोबलले काम गर्नुस्, औषधी र जनशक्ति मन्त्रालयले पठाउँछ’

‘उच्च मनोबलले काम गर्नुस्, औषधी र जनशक्ति मन्त्रालयले पठाउँछ’

झन्डै ७ हजार बालबालिकालाई दादुराको खोप लगाइने


  • ढोरपाटन संवाददाता
  • फाल्गुन २७ २०८२, बुधबार

तस्बिर : सिर्जना पन्त

बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले दादुरा प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । पश्चिम बागलुङको ढोरपाटन नगरपालिका–७, ८ र ९ वाडमा पर्ने बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँ दादुरा संङक्रमणबाट प्रभावित छ ।

दादुरा संङ्क्रमितको उपचार चलिरहेको बुर्तिवाङ जिल्ला अस्पतालमा सोमबार पुगेका मन्त्री पाठकले उपचारका कुनै कमि नहुने भन्दै क्रसित नभई बस्न बिरामी र आफन्तलाई ढाडस दिए । पाठकले बिरामीको उपचारमा खटिनुभएका स्वास्थ्यकर्मीलाई आफ्नो स्वास्थ्यको ख्याल गर्दै उच्च मनोबलका साथ काम गर्न आग्रह गरेका छन् ।

दादुरा संङ्क्रमण महामारीको रुपमा फैलिन सक्नेतर्फ सचेत हुँदै स्वास्थ्य संकटग्रस्त क्षेत्र घोषणा गरेर संक्रमितको खोजतलास र उपचारको तयारीमा जुट्न स्वास्थ्यकर्मीलाई मन्त्री पाठकले निर्देशन समेत दिए । ‘तपाईंहरु सघन उपचारको तयारी थाल्नुस्, आवश्यक जनशक्ति र औषधिको व्यवस्थापन मन्त्रालयले गर्छ’ मन्त्री पाठकले भने ।

दादुरा संङ्क्रमण व्यापक बन्दै गएपछि गण्डकीको स्वास्थ्य मन्त्रालयले बुतिर्वाङ अस्पतालमा ३० ओटा बेड, औषधी र आवश्यक सामग्री सोमबार नै पठाएको छ । मन्त्रालयले बिरामीको उपचारमा कमि हुन नदिन धौलागिरी प्रादेशिक अस्पताल बागलुङ र पर्वत अस्पतालबाट समेत स्वास्थ्यकर्मीहरु बुर्तिवाङ अस्पतालमा खटाएको छ ।

उपचारमा खटिएका स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधि, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि र अस्पताल व्यवस्थापन समितिसँग छलफल गर्दै मन्त्री पाठकले बिरामीहरुको उद्धार, रोगको उपचार र नियन्त्रणमा प्रदेश सरकार सचेत र प्रतिवद्ध रहेको समेत बताए ।

ढोरपाटनको बोबाङमा देखिएको दादुरा फैलिएर बडिगाड गाउँपालिकासम्म पुगेको छ । बडिगाडका दुई जना बालबालिकामा दादुरा संङ्क्रमण देखिएको छ । ढोरपाटनमा ६१ जना भन्दा बढी बिरामी पहिचान भएका छन् । ३१ जनाको बुर्तिवाङ अस्पतालको आइसोलेसनमा उपचारपछि केही डिस्चार्ज भएको र नौ जनाको उपचार चलिरहेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले जानकारी दिए ।

शर्माका अनुसार हालसम्म लक्षण देखिएकामध्ये एक ९ महिने शिशु र अन्य सबै भ्याक्सिन लगाउने उमेर समूहका बालबालिका दादुराको मिल्दोजुल्दो लक्षण देखिएको छ । दादुरा संक्रमण भएपछि १० देखि १४ दिनमा बिबिरा देखिने र कसैमा संक्रमण भएको दिनदेखि १४ दिनसम्म अरुमा सार्न सक्ने भएकाले ढोरपाटन नगरका विद्यालय बन्द गरिएको छ ।

ढोरपाटनमा फैलिएको दादुरा जिल्लाको निसीखोला गाउँपालिकामा भारतबाट आएका एक जनाबाट फैलिएको जनस्वास्थ्य कार्यालयले आशंका गरेको छ । निसीखोला आएका बालक ढोरपाटन आएको र उहाँबाटै यो क्षेत्रमा फैलिएको भन्ने निचोडमा आफूहरु पुगेको शर्माले बताए । ‘भारतबाट बालक आएको १० दिनमा बिरामी परेको पाइयो र त्यो ट्राभल हिस्ट्री अनुसार नै यहाँ दादुरा देखिएकोमा हामी ढुक्क छौं’, शर्माले भने ।

७ हजार बालबालिकालाई दादुराको खोप लगाइने
ढोरपाटन क्षेत्रमा दादुरा संक्रमण महामारीको रुपमा देखिन थालेपछि जनस्वास्थ्य कार्यालयले त्यहाँका सबै बालबालिकालाई खोप लगाउने तयारी थालेको छ । ढोरपाटनका ६ हजार ७ सय १९ जना बालबालिकालाई खोप लगाईने प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रविण शर्माले बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दादुरा विरुद्धको खोप सञ्चालन गर्ने भएको हो । नगरपालिका भित्रका १० देखि २० वर्ष उमेर समूहका उनीहरुलाई खोप लगाइने छ । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा हालै उक्त नगरपालिका–७, ८ र ९ का पाँच जनामा दादुरा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी, ५६ जना शंकास्पद बिरामीलाई निगरानीमा राखिएको छ ।

दादुरा अत्यन्तै सङ्क्रामक भएकाले एक जना संक्रमितले १८ जनासम्म संक्रमण सार्न सक्दछ । शाखा प्रमुख गौतमले १४ बिरामीको दादुरा परीक्षणका लागि आवश्यक नमूना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->