बागलुङ/ जिल्लाको ढोरपाटन नगरपालिकाका केही वडामा फैलिएको दादुरा नियन्त्रणका लागि खोप लगाइएको छ । नगरका सबै ९ वटै वडामा एकसाथ शुक्रबार ४ हजार ६१७ बालबालिका र किशोरकिशोरीलाई खोप लगाइएको हो ।
दादुरा प्रभावित क्षेत्रका विद्यालय र स्वास्थ्य संस्थामा पुगेर खोप लगाइएको हो । ढोरपाटनको विकट गाउँमा महामारीको रूपमा फैलिएको दादुरा प्रकोप नियन्त्रणका लागि ढोरपाटन नगरपालिकाभरिका ६ हजार ७६३ बालबालिका र किशोरकिशोरीलाई खोप लगाउने लक्ष्य रहेको छ । बाँकीलाई विद्यालय र विद्यालय नजानेलाई घरमा र स्वास्थ्य संस्थामा पुगेर खोप लगाइने छ ।
ढोरपाटन नगरपालिका वडा नम्बर ७, ८ र ९ को बोबाङ, सेराबाङ र लाँकुरीबोट गाउँमा दादुरा रोगका शंकास्पद ७४ जना बिरामी फेला परेका थिए । जसमध्ये ३२ जना भर्ना भएर उपचार भइसकेको छ । सात जना बालबालिका अझै उपचाररत छन् । दादुरा नियन्त्रणका लागि ढोरपाटन–८ बोबाङ स्वास्थ्यचौकीमा आइसोलेसन तयार गरेर उपचार समेत भइरहेको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले जानकारी दिए । तत्काललाई दादुरा नियन्त्रण गरी थप फैलन नदिनका लागि नगरपालिकाका सबै वडाका १० देखि १९ वर्ष उमेर समूहका किशोरकिशोरीलाई दादुराको खोप प्रदान गरिएको हो । यस्तै उपचारमा संलग्न २३७ स्वास्थ्यकर्मीलाई समेत दादुराविरुद्धको खोप लगाइने छ ।
खोप अभियान चैत १ गतेसम्म सञ्चालन गरिने छ । जसका लागि अपुग स्वास्थ्यकर्मी छिमेकी गाउँपालिका बडिगाड र निसीखोलाबाट समेत झिकाइएको छ । अभियानमा महिला स्वास्थ्य स्वयंसेविकाले समेत सघाएका थिए । फागुन ८ गते ढोरपाटनमा एक जनालाई दादुरा संक्रमण भएको पुष्टि भएको थियो । त्यसयता थप पाँच जनामा संक्रमण पुष्टि भए पनि अन्यलाई लक्षण देखिएकाले नियन्त्रणका लागि खोप लगाइएको हो । दादुरा संक्रमण नियन्त्रणका लागि खोप नै सबैभन्दा उत्तम उपाय भन्दै खोप अभियान थालिएको हो ।





