
पोखरा / केही दिन अघि मात्र देशैभर तुवाँलो लाग्यो । वायु प्रदुषण बढ्यो । काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा वायु गुणस्तर सूचकांक (एक्यूआई) मापन गरियो । धेरै अस्वस्थकरको स्तरमा पुग्यो । नेपाल सरकारले तोकेको मापदण्डअनुसार २०१ देखि ३०० सम्मको एक्यूआईलाई ‘धेरै अस्वस्थकर’ तह मानिन्छ ।
यो तहको प्रदूषणले सबै उमेर समूहका मानिसको स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ । १५० एक्यूआई नाघ्नुलाई नै अस्वस्थकर मानिनेमा काठमाडौंको वायु प्रदूषणको स्तर त्योभन्दा निकै माथि पुगेको थियो ।
वायु गुणस्तर मापनका आधारमा संघीय राजधानी काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा दोस्रो स्थानमा पुग्दा गण्डकी प्रदेशको राजधानी पोखरा लगायत अन्य जिल्लाहरुमा वायु प्रदूषणको अवस्था भने यकिन गर्न सकिएन । पोखरा र गण्डकी प्रदेशका सबै जिल्ला तुवाँलोले ढाकिए पनि वायु प्रदुषणको मात्रा के कति छ भन्ने विषयमा प्रदेशबासी अनभिज्ञ हुन पुगे । मौसम अझै सफा भइसकेको छैन ।
गण्डकी प्रदेशका चार स्थानमा वायु गुणस्तर मापन केन्द्र स्थापना गरिएका छन्, तीनवटा पोखरामा र एउटा हिमालपारीको मुस्ताङमा । तर पोखराको रत्नचोकस्थित जल तथा मौसम विज्ञान कार्यालय हाताभित्र, पोखरा विश्वविद्यालय र लामाचौरस्थित गण्डकी विश्वविद्यालयमा रहेका पोखराका तीनवटै केन्द्र अहिले सञ्चालनमा छैनन् । मुस्ताङको मात्र सञ्चालनमा छ । जसका कारण घना जनघनत्व भएको पोखरा, बागलुङ, कावासोती, गैंडाकोट, दमौलीलगायत बजारमा वायु प्रदूषणको मात्रा कति छ भन्ने यकिन हुन नसकेको हो ।
गण्डकी प्रदेशमा ठूलो औद्योगिक, व्यवसायिक क्षेत्र नभए पनि जिल्ला सदरमुकामहरुमा रहेको बाक्लो बस्ती र भारतसँग सीमा जोडिएका कारण यहाँको वायु प्रदूषण मात्रा पनि उच्च हुनसक्ने गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रालयका वातावरण निरीक्षकको अनुमान छ । तर प्रदूषणको स्तर मापन हुन नसक्दा नागरिकहरू आफ्नो स्वास्थ्य अवस्थामा पर्न सक्ने असरबारे अनविज्ञ हुन बाध्य छन् ।
‘प्रदेशभरी रहेका ४ वटामा एउटाले मात्र काम गरिरहेको छ’, मन्त्रालयकी वातावरण निरीक्षक गीता पाठकले भनिन्, ‘संख्यामा ४ वटा भए पनि तीनवटा पोखरामा रहेका छन् ती पनि सञ्चालनमा नआउँदा मुस्ताङ बाहेक पोखरालगायत प्रदेशका अन्य जिल्लाको वायु गुणस्तर मापन हुन सकेको छैन ।’
पाठकले हाल सञ्चालनमा नरहेका तीनवटा वायु गुणस्तर मापन केन्द्र सञ्चालनमा ल्याउन संघीय वातावरण विभागमा भनिएको बताइन् । विशेष गरी केन्द्रहरुमा जडित उपकरण अटोमेटिक नहुँदा समस्या भएको उनको भनाई थियो ।
पाठकका अनुसार ५० सम्मको वायु गुणस्तरको स्केल राम्रो मानिन्छ । ५१ देखि १०० सम्मकोलाई सन्तोषजनक, १०१ देखि २०० सम्मकोलाई मध्यम, २०१ देखि ३०० सम्मकोलाई हानिकारक र ३०१ देखि ४०० सम्मकोलाई अति हानिकारक मानिने उनले बताइन् ।
१५१–२०० सम्म वायु प्रदुषण पुग्दा दम, मुटु र उच्च रक्तचाप समस्या भएका व्यक्तिहरूलाई प्रत्यक्ष असर गर्छ र बालक, वृद्ध, अशक्त लगायत अन्य सबै व्यक्तिलाई अप्रत्यक्ष रूपमा असर गर्नसक्ने विज्ञहरुको भनाई छ ।
वायु गुणस्तर सूचाङ्क अर्थात् एक्यूआईको तहअनुसार नागरिकहरू घर भित्रै बस्ने, बाहिर कति निस्कने वा कतिसम्म शारीरिक क्रियाकलाप गर्ने, बालबालिका, वृद्ध एवं स्वास्थ्य जोखिममा रहेकाहरूको क्रियाकलाप कतिसम्म सीमित गर्ने वा कस्तो वायु भएको बेला विपद्को रूपमा नै लिने, सो स्थानमा जाने कि नजाने ? जाने भए कति समय भित्र निस्किने ? जाँदा के–कस्तो सावधानी लिएर जाने ? जस्ता सुझाव सरकारी निकायले दिनुपर्ने हो । तर मापन केन्द्र सञ्चालनमा नहुँदा नागरिकको स्वास्थ्यमाथि खेलबाड भएको स्थानीय बताउँछन् ।
पाठकले वायु गुणस्तर मापन केन्द्र गण्डकी प्रदेशका अन्य जिल्लामा पनि बिस्तार गर्नुपर्ने अवस्था रहेको बताइन । ‘तत्काललाई जनसंख्या र उद्योग धन्दा पनि बढी रहेको नवलपुरमा केन्द्र राख्नु पर्ने देखिन्छ’ उनले भनिन्, ‘अन्य जिल्लामा पनि जोखिम हेरेर केन्द्र राख्नु पर्छ ।’ केन्द्र राख्ने कुरा सबै संघको कुरा रहेको उनले बताइन् ।
वातावरण विभागका महाननिर्देशक ज्ञानराज सुवेदीका अनुसार विशेष गरी वायु गुणस्तर मापन केन्द्रमा ब्याट्री र उपकरणहरु सामान्य रुपमा विग्रिएकाले सञ्चालनमा आउन नसकेका हुन् । पोखरा विश्वविद्यालयमा विद्युत सेवा अवरुद्ध हुँदा सञ्चालनमा आउन नसकेको र छिटै स्थान्तरण गर्न लागिएको विभागले जनाएको छ ।
‘ब्याट्री फेरेर अन्य मर्मतको तयारीमा छौ, दुई तीन हप्तामै बन्द भएका वायु गुणस्तर मापन केन्द्र सञ्चालनमा ल्याउछौ,’ महानिर्देशक सुवेदीले भने, ‘वार्षीक मर्मत कार्यक्रममा राखेर अहिले टेन्डर भइसकेको छ ।’ उनले यो वर्ष यस्ता केन्द्र विस्तारको योजना नरहेको बताए । आगामी वर्षदेखि ठूला शहर र प्रदुषित हुनसक्ने स्थानको अध्ययन गरी यस्ता केन्द्र राख्न सकिने उनको भनाई छ । ‘मधेश प्रदेशमा पनि वायु गुणस्तर मापन केन्द्र कम छन् । अव समन्यायिकताको हिसावले केन्द्र विस्तार गर्छौ’, सुवेदीले भने, ‘यसले स्थानीय तह र प्रदेशलाई पनि नीति बनाउन सहयोग पुग्ने छ ।’
विश्व बैंकले यसै वर्ष प्रकाशन गरेको वायु प्रदूषणसम्बन्धी एक प्रतिवेदनमा नेपालमा विशेषतः काठमाडौं उपत्यका र समग्र तराई क्षेत्रमा वायु प्रदूषण बढ्दै गएको देखाएको छ । वायु प्रदूषणले गर्दा उच्च रक्तचाप, मुटुसम्बन्धी रोगहरू, फोक्सो संक्रमण र क्यान्सर, मधुमेह जस्ता रोग निम्त्याउने चिकित्सकहरु बताउँछन् ।





