शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

दादुराका बिरामी निको हुन थालेपछि विद्यालय खुले

दादुराका बिरामी निको हुन थालेपछि विद्यालय खुले

निर्वाचन अघिको एकसाता र निर्वाचन पछिको एक सातासम्म बिद्यालय बन्द गरेर दादुराका बिरामीको उपचार गरेपछि सोमबारदेखि सचेतना अपनाएर विद्यालयमा पढाइ संचालन गर्न अनुमति दिइएको नगर स्वास्थ्य शाखाका प्रमुख भूमिश्वर शर्माले जानकारी दिए । 


  • ढोरपाटन संवाददाता
  • चैत्र ५ २०८२, बिहिबार

बागलुङ/ढोरपाटन नगरपालिका वडा नं.७, ८ र ९ का १ सय २२ बढी बालबालिका, केही अभिभावक समेत दादुरा रोगको संक्रमणमा परे । उनीहरुको उपचारको क्रम अझै चलिरहेको छ । खोपमार्फत रोग नियन्त्रणको प्रयास पनि भइरहेको छ ।

दादुराकै कारण बन्द भएका विद्यालय भने सोमबारदेखि विशेष सर्तकता अपनाएर संचालनमा ल्याइएको छ । विद्यालयमा आउने बालबालिकालाई मास्क लगाउने, सरसफाइमा ध्यान दिन लगाउने जस्ता काम गरेर कक्षा संचालन गरिएको ज्ञानोदय माविका प्रअ यामबहादुर कायतले बताए ।

झण्डै तीन सातासम्म बोबाङमा दादुराको संक्रमण फैलिएको थियो । निर्वाचन अघिको एकसाता र निर्वाचन पछिको एक सातासम्म बिद्यालय बन्द गरेर दादुराका बिरामीको उपचार गरेपछि सोमबारदेखि सचेतना अपनाएर विद्यालयमा पढाइ संचालन गर्न अनुमति दिइएको नगर स्वास्थ्य शाखाका प्रमुख भूमिश्वर शर्माले जानकारी दिए ।

बिरामीमध्ये अधिकांसको उपचारपछि घर फर्केका छन् । बुर्तिवाङ अस्पतालमा १२ जना, बोबाङ स्वास्थ्यचौकीमा ६ जना अझै उपचाररत छन् । त्यस्तै ४ जना पोखरा र १ जना धौलागिरि अस्पतालमा रिफर गरिएका बिरामी पनि उपचाररत छन् ।

बालबालिका मात्र नभइ अभिभावकलाई समेत यो समस्याले सताएको थियो । विशेषगरी अत्याधिक ज्वरो, शरीरमा बिबिरा आउने जस्तो समस्या बालबालिकामा भएपनि अभिभावकमा समेत रुघाखोकी र ज्वरोको समस्या देखिएको थियो । प्रदेश जनस्वास्थ्य कार्यालयमार्फत प्रदेश र संघिय स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठनको टोली समेत गाउँ पुगेर बालबालिकाको उपचारमा साथ दिएको थियो ।

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीका अनुसार अहिलेसम्म ढोरपाटन नगरपालिका भित्रका ५ हजार ६ सय ५६ जना बालबालिकालाई दादुरा खोप लगाइएको छ । अझै विश्व स्वास्थ्य संगठनको टोली गाउँमा बसेर समुदायमा छुटेका बालबालिकाको खोजी गरिरहेको छ । बिरामी पर्नेमा गर्भवती महिला र सुत्केरी समेत छन् । उनीहरुलाई समेत खोप लगाइएको खत्रीले जानकारी दिए ।

दादुराको प्रकोप ढोरपाटनमा परेपनि जिल्लाका अन्य स्थानमा पनि सोही प्रकृतिका लक्षण सहितका बिरामी छिटफुट देखिएको स्वास्थ्यकर्मीहरुले बताए । ‘मेरो नाती र नातिनीलाई पनि ज्वरो र बिबिरा आयो, धौलागिरि अस्पतालमा उपचार गरियो’ काठेखोला गाउँपालिका–२ का खिमानन्द पौडेलले भने, ‘यो समस्या खोजी गरेर उपचारको दायरामा ल्याउनुपर्छ ।’

संक्रमितलाई उपचारमा ल्याउँदा उचित सर्तकता अपनाउनुपर्ने, शंकास्पद बिरामीलाई आइसोलेसनमा राख्नुपर्ने जस्ता प्रावधान स्वास्थ्यकर्मीले राखेका छन् । परीक्षण नभइ शंकास्पद भएका बिरामी भने ती प्रावधानमा छैनन् । तसर्थ अझै संक्रमण बढ्न सक्ने चिन्ता छ ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सोमबार बागलुङका सबै पालिकाका जनप्रतिनिधि समेतले प्रकोप व्यवस्थापनकालागि आवस्यक पहल गर्ने, शंकास्पद बिरामी देखिएमा उपचारको दायरामा ल्याउने निर्णय गरेको छ । ‘संक्रामक रोक भएकोले सबै जना सचेत बन्ने, समयमा उपचारको दायरामा ल्याउने काम गरौं’ प्रजिअ कृष्णप्रसाद आचार्यले भने, ‘सबैलाई खोप लगाउने संभावना छैन, तर बिरामी र शंकास्पद लागेमा खोप लगाउनुपर्छ ।’ हाल जिल्लामा ७ हजार बढी खोप आएकोमा झण्डै १ हजार बढी खोप बाँकी भएकोले संक्रमितका अभिभावक र शंकास्पदमा लगाउन पहल गरिने उनले बताए ।

कतिपयले त १० देखि १९ वर्ष सम्मका सबै बालबालिकालाई यो खोप लगाउन सुझाव दिएका छन् । जन्मेको १५ महिना भित्रका बालबालिकालाई दादुराको खोप लगाउनुपर्ने हालको प्रावधान छ । खोप लगाइसकेकाहरुलाई संक्रमण भएपनि खतरा नहुने भएकोले दोहो¥याउन नपर्ने कार्यालयका प्रमुख प्रविण शर्माले बताए । नेपाल सरकारले चालु वर्ष सन् २०२६ मा दादुरा र रुवेला रोग निर्मुल पार्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->