स्याङ्जा / स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गा बसिन्डाँडामा एउटा चितुवा मृत फेला परेको छ । स्थानीयले देखेपछि प्रहरी र वन कार्यालयलाई खबर गरेका थिए ।
गल्याङस्थित कालीगण्डकी सवडिभिजन वन कार्यालयका अनुसार करिब एक वर्ष उमेरको चितुवा शुक्रबार दिउँसो फेला परेको हो । वन अधिकृत सुमन केसीका अनुसार चितुवा केही दिनअघि नै मरेको हुनसक्ने अनुमान गरिएको छ ।
प्रारम्भिक निरीक्षणमा चितुवाको शरीरमा बाहिरी चोटपटक वा आक्रमणका कुनै स्पष्ट संकेत छैन् । ‘मानिस वा अन्य जनावरको आक्रमणबाट मरेको जस्तो देखिँदैन, अन्य कारण हुनसक्छ’, वन अधिकृत केसीले भने ।
घटनास्थलमा स्थानीय जनप्रतिनिधि, प्रहरी र स्थानीय बासिन्दाको उपस्थितिमा मुचुल्का तयार गरी मृत चितुवाको व्यवस्थापन गरिएको छ । वन कार्यालयले घटनाको कारणबारे थप अनुसन्धान गर्ने बताएको छ ।





