शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

दादुराको उपचारपछि ८३ बिरामी घर फर्किए

दादुराको उपचारपछि ८३ बिरामी घर फर्किए

अहिले बुर्तिवाङ जिल्ला अस्पतालमा ११ जना र बोबाङ स्वास्थ्य चौकीमा ४ जनाको उपचार चलिरहेको छ । बुर्तिवाङ अस्पतालबाट धौलागिरि प्रादेशिक अस्पताल र पोखरामा रिफर गरिएका पाँच बिरामीमध्ये चार जना सफल उपचारपछि घर फर्किएका छन् ।


  • ढोरपाटन संवाददाता
  • चैत्र ८ २०८२, आइतबार

बागलुङ/दादुराको उपचारपछि निको भएका ८३ जना बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । बुर्तिवाङ जिल्ला अस्पतालबाट ७२ जना र बोबाङ स्वास्थ्य चौकीबाट ११ जना बिरामी उपचारपछि निको भएर घर फकिएका हुन् ।

प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी देवप्रकाश घिमिरेका अनुसार, अहिले बुर्तिवाङ जिल्ला अस्पतालमा ११ जना र बोबाङ स्वास्थ्य चौकीमा ४ जनाको उपचार चलिरहेको छ । बुर्तिवाङ अस्पतालबाट धौलागिरि प्रादेशिक अस्पताल र पोखरामा रिफर गरिएका पाँच बिरामीमध्ये चार जना सफल उपचारपछि घर फर्किएका छन् ।

‘‘सामान्य लक्षणदेखि जटिल समस्याहरु देखिएका बिरामीहरु सफल उपचारपछि घर फर्किएका छन्’’ घिमिरेले भने । केही बिरामीहरुमा पखाला लाग्ने, निमोनिया, पेट दुखाई तथा नाकबाट रगत बग्ने जस्ता जटिलता देखिएपनि सर्तकता अपनाउँदै समयमै उपचारको व्यवस्था गर्दा बिरामीले ज्यान गुमाउन नपरेको घिमिरले बताए ।

विशेष भूगोल रहेको ढोरपाटन नगरपालिका वडा नं. ७ बोबाङ, वडा नं. ८ सेराबाङ र वडा नं. ९ लाकुरीबोटमा दादुरा सङ्क्रमण फैलिएपछि बुर्तिवाङ जिल्ला अस्पताल र बोबाङ स्वास्थ्य चौकीमा आइसोलन बनाएर बिरामीको सघन उपचार थालिएको थियो ।

विशेषगरी अत्याधिक ज्वरो, शरीरमा बिबिरा आउने जस्तो समस्या बालबालिकामा भएपनि अभिभावकमा रुघाखोकी र ज्वरोको समस्या देखिएपछि प्रदेश जनस्वास्थ्य कार्यालयमार्फत प्रदेश र संघिय स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठनको टोली ढोरपाटनका गाउँगाउँमा पुगेर बालबालिका र अभिभावकहरुको उपचारमा साथ दिएको थियो ।

झण्डै तीन सातासम्म दादुराको संक्रमण फैलिँदा ढोरपाटनका १ सय ४१ जना ६ महिने शिशुदेखि ४८ वर्ष उमेर समूहमा दादुरा संक्रमण देखिएको थियो । अहिलेसम्म ढोरपाटन नगरका १० वर्षदेखि १९ वर्षसम्मका ५ हजार ९ सय १३ जना बालबालिका तथा किशोर किशोरीहरुलाई दादुरा विरुद्वको खोप लगाइएको घिमिरेले जानकारी दिए ।

विशेष स्वास्थ्य सर्तकता अपनाएर दादुरा प्रभावित क्षेत्रका विद्यालयमा पठनपाठन शुरु भएको छ । विद्यालयमा आउने बालबालिकालाई मास्क लगाउने, सरसफाइमा ध्यान दिने, बिरामीको उपचार र दादुरा विरुद्वको खोप लगाएपछि पठनपाठन संचालन गर्न अनुमति दिइएको नगर स्वास्थ्य शाखाका प्रमुख भूमिश्वर शर्माले जानकारी दिए ।

अहिले विश्व स्वास्थ्य संगठनको टोलीले समुदायमा खोप लगाउन छुटेका बालबालिकाको खोजी गरिरहेको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको जनप्रतिनिधिहरुको बैठकले प्रकोप व्यवस्थापनका लागि आवस्यक पहल गर्ने, शंकास्पद बिरामी देखिएमा उपचारको दायरामा ल्याउने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->