सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

बेनी आक्रमणको २२ वर्ष बित्यो, घाउ उस्तै !

बेनी आक्रमणको २२ वर्ष बित्यो, घाउ उस्तै !

बेनी आक्रमणमा राज्य र माओवादीले आ–आफुले जितेको दाबी गरे पनि दुवै पक्षले हारेको ज्वलन्त उदाहरण हो । खासमा माओवादीले गरेको बेनी आक्रमणबाट सर्वसाधारणले हारे । आक्रमणमा ध्वस्त भएका सरकारी भवनहरु त पुनःनिर्माण गरिए तर सर्वसाधारणको मनमा लागेको घाउ अझै बाँकी छन् ।


  • अमृत बास्कुने
  • चैत्र ८ २०८२, आइतबार

म्याग्दी/सशस्त्र युद्धरत तत्कालीन नेकपा माओवादीले २०६० चैत ७ गते म्याग्दी सदरमुकाम बेनीमा रहेको सुरक्षा पोष्टहरूमा आक्रमण गरेको १७ वर्ष बितिसकेको छ। तत्कालीन नेकपा माओवादीले गरेका ९ ओटा जिल्लाको सदरमुकाम आक्रमणमध्ये सैन्यबल र व्यापकताको दृष्टिले हेर्दा सबैभन्दा ठूलो मानिएको बेनी आक्रमणको त्यो रातको तर्क आ–आफ्ना होलान् तर आम मानिसले के ठाने, कालो या रातो। तत्कालीन अवस्थामा माओवादीले जसरी बेनीको भौतिक सम्पत्ति र मानवीय क्षति पु¥याए, अहिले माओवादी संगठनात्मक तथा वैचारिक स्वरूपमा आफैँ पनि क्षतविक्षत भएको छ, सबै प्रकारले। त्यो समयको माओवादी आक्रमण बेनी र आसपासका बासिन्दाका लागि विर्सनै नसक्ने त्रासदीपूर्ण विगत हो।

चिनियाँ राज्य क्रान्तिका नायक माओत्सेतुङको ‘राजनीतिक सत्ता बन्दुकको नालबाट जन्मन्छ’ भन्ने दर्शनबाट प्रभावित भई शुरु भएको सशस्त्र विद्रोह बन्दुकको ब्याटलमा मात्र होइन, चुनावको ब्यालेटसम्म असफल रह्यो माओवादीका लागि। बेनी आक्रमणमा ‘ध्वस्त’ पारिएका भौतिक संरचनाहरू र चीरहरण गरिएका मानव आत्मा झैँ माओवादीको विचार, संगठन र कार्यकर्ताको मनोबल ‘ध्वस्त’ भएको छ। २०७४ को निर्वाचनसम्म आइपुग्दा एकता वा विलय भन्ने अवस्था आयो। एमाले र माओवादी केन्द्रले एकता गरेर नेकपा बनाएर आफ्नो अस्तित्वलाई केही मजबुत बनाएको माओवादीलाई सर्वोच्च अदालतले एकता भन्दा पहिलाको अवस्थामा पु¥याइदिएपछि अब पुनः ग्राउण्डमै पु¥याएको थियो। त्यसपछि हालै भएको निर्वाचन भन्दा अगाडि विभिन्न दर्जनौं घटक मिसाएर बनेको पार्टी नेकपाले पनि सोचे जस्तो सिट संख्या हासिल गर्न सकेन। संगठन विस्तार र आफ्नो अवस्थालाई अबको निर्वाचनमा महत्वपूर्ण पु¥याउनका लागि मेहनत गर्नुपर्ने भएको छ नेकपालाई ।

म्याग्दी जिल्लामा माओवादीले विद्रोहको शुरुआत ०५२ फागुन १ गतेदेखि पुलाचौर–८ भिरमुनीका भीमबहादुर बानियाँको परालको टौवामा आगो र घतान–६ गलेश्वरका रुद्रबहादुर केसीको खुर्सानी र काउली फाँडेर जिल्लामा माओवादीको सशस्त्र विद्रोहको शुरु भएको दाबी गर्छन् ।

तत्कालीन अवस्थामा माओवादी कार्यकर्ता देवराज सुवेदी एक थान खुकुरीसहित ०५३ जेठ ५ गते र गोविन्द पौडेल ०५३ साउन १४ गते पक्राउ परे। पौडेल पहिलो संविधानसभामा सभासद भएपछि अहिले नेकपाको केन्द्रीय सदस्य छन्। उनीहरू पुनरावेदन अदालत बाग्लुङको आदेशबाट रिहा भएका थिए। सार्वजनिक अपराधमा जेल परेका अर्का माओवादी कार्यकर्ता मीनबहादुर बानियाँलाई पनि पुनरावेदन अदालतको आदेशबाट रिहा भए। ०५३÷०५४ सालसम्म माओवादीको म्याग्दी जिल्लामा गतिविधि न्यून र संगठन शिथिल थियो ।

माओवादीले ०५५ फागुन १ गते चौथो वर्षगाँठ मनाउन माओवादीले सदरमुकाम स्थित विद्युत प्राधिकरण र कृषि विकास बैंकमा पहिलो पटक विष्फोट गराएको थियो। ०५५ साउन १३ गते सदरमुकाम बेनीमा रहेको रुची चलचित्र मन्दिर बेनीमा विष्फोट गराई व्यक्तिगत सम्पत्तिमाथि आक्रमण र ०५५ मंसिर २६ गते बरंजा गाविस–२ का भीमबहादुर खड्कालाई सुराकीको आरोपमा दुवै खुट्टाको कुरकुच्चाको नसा काटेपछि व्यक्ति आक्रमणको शुरुआत भएको थियो। प्रहरी÷प्रशासनले ०५५ साउन ९ गते सिंगा, बरंजा र बाबियाचौरका गरी १० जनालाई माओवादीको आरोपमा पक्राउ गरी प्रतिकार शुरु गरेको थियो ।

०५६ सालमा माओवादीको चौथो विस्तारित बैठकले ‘आधार इलाका निर्माणको महान् बाटोमा अघि बढौँ’ भन्ने नारासहित रणनीतिक प्रतिरक्षाको चरण शुरु गरे। ०५६ असोज ७ गते बेनी नगरपालिका–४ लेतेखोला तातोपानी (साविक सिंगा गाविस–५ तातोपानी)मा माओवादीले बम सहित टाँगेको तुल झिक्न लाग्दा प्रहरी जवान ओमप्रकाश कुँवरको मृत्यु भयो। यो माओवादीले शुरु गरेको सशस्त्र युद्ध पछिको पहिलो व्यक्ति हत्या थियो। माओवादीले ०५७ असार १ गते बाबिचौरमा रहेको अस्थायी प्रहरी चौकीमा पहिलो आक्रमण गरे। आक्रमणमा माओवादीले तीन थान थ्रि नट थ्रि राईफल कब्जा गरे ।

माओवादीले जिल्लामा पहिलो पटक ०५६ माघ २८ गते सदरमुकाम बेनीबाट नेपाल शिक्षक संघका अध्यक्ष÷काँग्रेसका जिल्ला सदस्य हरीकुमार श्रेष्ठ (हाल नेपाली कांग्रेसका उपसभापति)लाई अपहरण तथा सिंगा गाविस–५ तातोपानी घर भई महेन्द्ररत्न माध्यमिक विद्यालय बरंजामा कार्यरत नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य शिक्षक मणीलाल शर्माको ०५९ कार्तिक १ गते घाँटी रेटेर गरिएको निर्मम हत्या फरक आस्था बोक्ने शिक्षकहरूलाई तर्साउन उपयोग गरे। माओवादीको दोस्रो सुरक्षा घेराभित्र पर्ने पश्चिम म्याग्दीको दरवाङ बजारलाई सशस्त्र विद्रोह कालमा माओवादीले सदरमुकाम भन्थे ।

०५८ चैत १४ गते शिख गाविसमा सिर्जना खड्का समेत ५ माओवादी समर्थित विद्यार्थी कार्यकर्ताको सुरक्षाकर्मीबाट सामूहिक हत्या भयो। उनै सिर्जनाका दाजु पुनम खड्का लामै समय पुष्पकमल दाहालको सचिवालयमा पनि काम गरेका थिए। म्याग्दी जिल्ला भित्र सशस्त्र विद्रोह अवधिमा राज्यबाट झण्डै ९० भन्दा बढी माओवादी समर्थक÷कार्यकर्ताको हत्या भयो। माओवादीले तीन जना सुरक्षाकर्मी समेत आफ्नो प्रभाव विस्तार गर्न तातोपानीका शिक्षक नेता मणीलाल शर्मा, दरवाङका नेपाली कांग्रेसका नेता शेरवहादुर शेरचनलाई संगठन निर्माणमा बाधक भन्दै दोवाका एमाले कार्यकर्ता तुलप्रसाद पुर्जा र ज्यामरुककोटका कांग्रेस कार्यकर्ता भीमबहादुर घिमिरेको हत्या गरे ।

चैत ७ गते राती म्याग्दी सदरमुकाम बेनी आक्रमण
२०६० चैत ७ गते शनिवार राती माओवादीले सदरमुकाम बेनीमा आक्रमण गरे । पश्चिम डिभिजनको कमाण्डमा भएको बेनी आक्रमण माओवादीको सशस्त्र युद्धको ८ वर्षे अनुभवमा जिल्ला सदरमुकाममा गरेका ९ ओटा आक्रमणमध्ये सैन्यवल र आक्रमणको व्यापकताको दृष्टिले सबैभन्दा ठूलो र लामो समयको थियो । लगातार १२ घन्टा लडेर मध्य दिनसम्म जिल्लाको सबै निकायलाई आफ्नो कब्जामा राखेको थियो माओवादीले । बेनी आक्रमणमा माओवादीका विशेष क्षेत्रको पहिलो (मंगलसेन), भेरी–कर्णाली क्षेत्रको दोस्रो (सतवरिया), सेती–महाकाली क्षेत्रको तेस्रो (लिस्ने–ग्राम) र गण्डक क्षेत्रको (बासुस्मृति) चौंथो ब्रिगेड अन्तर्गतका ६ बटालियनका करिब ५ हजार माओवादी लडाकु सहभागी रहेको तत्कालीन माओवादीको दाबी थियो ।

बेनी आक्रमणमा आउनु पूर्व माओवादी सेना रोल्पा जिल्लाको उत्तरपूर्वी थवाङमा जम्मा भई रुकुम जिल्लाको लुकुम घुमाउरो बाटोबाट ढोरपाटन शिकार आरक्ष छिचोल्दै पश्चिम म्याग्दीको ताकम आएको थियो । यसरी थवाङबाट विभिन्न घुमाउरो बाटो छिचोल्दै १७ दिन लामो पैदल यात्रापछि २०६० चैत ७ गते राती १० बजेपछि कारागार, प्रहरी र सैनिक ब्यारेकमाथि गोली बर्सदा सैनिक कमाण्डरहरू आफ्नै संसारमा मस्त थिए । सुत्ने तरखरमा रहेका सुरक्षाकर्मीलाई बिनापूर्वतयारी एक्कासी भीडन्तमा उत्रनु परेको थियो । तत्कालिन अवस्थामा गुप्तचर निकायले सूचना संकलन गर्न नसकेकै कारण त्यत्ति ठूलो आक्रमण र धनजनको क्षति भएको मान्न सकिन्छ ।

२०६० चैत्र ८ गते रक्षा मन्त्रालयको विज्ञप्तीमा ५ सय माओवादी मारिएको र माओवादीहरुले एक सय २५ शाही सेना र २६ जना प्रहरी मारिएको दावी गरे पनि बेनी आक्रमणमा तत्काल भने १७ जना प्रहरी र १४ सैनिक र कम्तीमा ९० जना माओवादी मारिएको पुष्टि भएको थियो । भिडन्तमा दुवै तर्फ गरी सयौंको संख्यामा घाईते भए । दुवै तर्फका के कति घाईतेहरुको मृत्यु भयो, यकिन तथ्याङ्क अझैसम्म पनि कहिँ कतै पाईंदैन । बेनी आक्रमण क्रममा दुई जना बालबालिका सहित सबैभन्दा बढी १९ जना सर्वसाधारण मारिए ।

बेनी आक्रमणका क्रममा माओवादीले प्रमुख जिल्ला अधिकारी सागरमणी पराजुली, प्रहरी नायव उपरीक्षक रणबहादुर गौतम सहित ४० जना युद्धबन्दीलाई माओवादी पश्चिम डिभिजन कमिसार नेत्रविक्रम चन्द(विप्लव) र कमाण्डर पासाङले वक्तव्यमार्फत मातृका यादव, शुरेश आले र किरण शर्मालाई मुक्त गर्न सौदा गरे ।

सशस्त्र विद्रोहकालमा टेलिफोन रिपिटर टावर, गाविस भवनहरु, कृषि, भेटेनरी, कृषि विकास बैंक लगायतका दर्जनौं कार्यालयका विस्फोट÷जलाएर नष्ट पारिए । सदरमुकाम आक्रमण क्रममा मात्र जिल्ला अदालत, प्रशासन, जिल्ला विकास समिति, प्रहरी, वन, कारागार, टेलिकमको एक्सचेन्ज स्टेसन, पुस्तकालय, मालपोत, नेपाल बैंक, अर्थुङ्गे गाविस कार्यालय लगायतका सरकारी कार्यालय नष्ट पारिए ।

बेनी आक्रमणमा राज्य र माओवादीले आ–आफुले जितेको दाबी गरे पनि दुवै पक्षले हारेको ज्वलन्त उदाहरण हो । खासमा माओवादीले गरेको बेनी आक्रमणबाट सर्वसाधारणले हारे । आक्रमणमा ध्वस्त भएका सरकारी भवनहरु त पुनःनिर्माण गरिए तर सर्वसाधारणको मनमा लागेको घाउ अझै बाँकी छन् । माओवादीले सबै सरकारी कागज नष्ट गरिदिएकोले आजसम्म पनि पुरानो रेकर्ड जली नष्ट भएकोले सर्वसाधारणले सरकारी कार्यालयमा कागजातको झन्झट व्यहोर्नु परिरहेको छ । सदरमुकामको स्वरूप फेरियो झल्को भने फेरिन सकेको छैन ।

भौतिक क्षति र पुनः निर्माणको अवस्था
अरबौंको भौतिक सम्पत्तिको क्षति भयो, द्वन्द्वको क्रममा भएको क्षतिको परिपूरण गर्न समाजमा पुननिर्माण तथा पुनर्मिलनको अनिवार्य आवश्यकता छ । शसस्त्रद्वन्द्वको समयमा जिल्लाका सरकारी तथा व्यक्तिगत सम्पत्तिमा आगो लगाउँदा तत्कालिन अवस्थामा डेढ अर्बभन्दा बढीको भौतिक सम्पत्ति नष्ट भयो । जिल्ला पुनःनिर्माण तथा पुनःस्थापना समितिका अनुसार माओवादीले गरेको बहुचर्चित बेनी आक्रमणक्रममा ध्वस्त भएका अदालत, प्रशासन, प्रहरी र जिविसको मात्र पुर्ननिर्माण गर्न कुल ३ करोड ४१ लाख १७ हजार ४७ रुपैयाँ लागेको छ ।

जिल्ला अदालत पुर्ननिर्माण गर्न ७७ लाख ४५ हजार दुई सय ३१ रुपैयाँ, प्रशासन भवन निर्माण गर्न ७८ लाख ४९ हजार तीन सय ६१, जिल्ला प्रहरी कार्यालय ८२ लाख ८० हजार छ सय १५ रुपैयाँ र जिविसको भवन पुर्ननिर्माणमा ९२ लाख १९ हजार दुई सय ९४ रुपैयाँ खर्च भएको छ ।

पश्चिमबाट पूर्व बग्ने म्याग्दी नदीको उत्तरपट्टिको किनारामा पुर्ननिर्मित तत्कालिन जिल्ला विकास समिति, जिल्ला प्रशासन, सरकारी वकिल कार्यालय, अदालत, दुरसञ्चार कार्यालय समेतका सेता भव्य सरकारी बंगलाहरु लस्करै छन् । र ती सबै सरकारी भवनका छतमा बनाइएको भ्यू टावर छन् । जसले कार्यालयबाट सदरमुकामको दृश्यावलोकन गर्ने होइन, सैन्य बंकरको झल्को दिएका छन् । माओवादी आक्रमणपछि पुर्ननिर्मित सदरमुकामका यी टावरहरु युद्ध स्तम्भ झैं देखिन्छन् ।

सर्वसाधारणको भोगाईमा त्यो चैत ७ गते,
कृष्णलाल श्रेष्ठ, घाईते
०६० चैत ७ गते राती कृष्णलाल श्रेष्ठ जिल्ला अदालतमा कार्यरत हुनुहुन्थ्यो । रातभर कोठाको बेन्चमुनी छिपेर बसेका श्रेष्ठ विहान माओवादीले अदालत भवनमै आगो लगाएपछि दुवै हात माथी ठडाउँदै गेटबाट बाहिर निस्केका मात्र के थिए, उहाँको खुट्टामा गोली लाग्यो । शरीरको अन्य तीन ठाउँमा पनि गोली लाग्यो । उहाँलाई सेनाको हेलिकोप्टरबाट छाउनी स्थित सैनिक अस्पताल लगियो र खुट्टाको उपचार गराइयो । तर एउटा खुट्टा घुँडाबाटै काट्नु प¥यो ।

‘रातभर शौचालयभित्र लुकेर बित्यो । माओवादीले अदालतमा आक्रमण नगर्लान् भन्ने थियो । त्यसो भएन, विहान उज्यालो भैसकेपछि आगो लगाए । भवनमा आगो दन्केपछि ज्यान जोगाउन हात उठाउँदै बाहिर निस्केँ । एक्कासी गोली खुट्टामा लाग्यो । म ढलें । अरु तीन गोली साप्रा र पाखुरामा पनि लाग्यो’ माओवादी आक्रमणका पीडित घाईते कृष्णलाल श्रेष्ठले भन्नुभयो । श्रेष्ठले १७ वर्षपछि मात्रै राष्ट्रिय मानवअधिकार आयोगको निर्देशनमा राज्यको तर्फबाट राहत स्वरुप एक लाख रुपैयाँ प्राप्त गरेका थिए ।

पदम भण्डारी
तत्कालिन जिल्ला विकास समितिका अधिकृत पदम भण्डारी त्यो रात परिवारसहित जिल्ला प्रहरी कार्यालयसँगै जोडिएको जिविसको आवास भवनमा थिए । आवास क्षेत्रको पुरानो भवनमा तत्कालिन राजाबाट मनोनित जिल्ला सभापति चक्रपाणी आचार्यसहित केही कर्मचारी र पछिल्लो नयाँ भवनमा जिविसका अधिकृत तहका कर्मचारीहरु परिवार सहित २० जना बस्थे । तीन जना नाबालक थिए । राती माओवादीले सदरमुकाम आक्रमण गरेको निश्चित भएपछि राजाका मनोनित सभापति आचार्यसहित पुरानो भवनमा बस्ने सबै कर्मचारीहरु भण्डारी बस्ने नयाँ आरसिसी भवनको भित्री कोठामा जम्मा भए । भिडन्त शुरु भएको एक घन्टा नबित्दै माओवादीहरु भवन कब्जा गर्न छिरे । सोधखोज गरे । सेना प्रहरी हो÷होईन यकिन गरेपछि सबैलाई त्यही कोठामा राखे र त्यहींबाट जिल्ला प्रहरी कार्यालयमा आक्रमण गरिरहे । कर्मचारी आवास भएकोले हुनसक्छ, माओवादीले त्यहींबाट आक्रमण गरेको चाल पाएर पनि प्रहरीले भने त्यहाँ प्रत्याक्रमण गरेन ।

‘हामी मात्र बाँच्यौं, बाँकी बजार पुरै ध्वस्त भयो, सबै सकियो भन्ने लागेको थियो । विहान मिर्मिरे हुँदा माओवादीले हामीलाई त्यहाँबाट निकाले र भवनमा आगो झोसे । हामीलाई हुलाकचोक छेउको भित्री गल्लीभित्रको एक घरमा लगे । बल्ल थाहा भो, हामीबाहेक बजारका सबै घर उस्तै रहेछन्’ भण्डारीले भने, ‘सुरक्षा निकायमा भएका आफन्तले बेनी आक्रमणको संभावना छैन, ढुक्क हुन भनेकोले बस्यौं । पक्की भवनको भित्री कोठा भएकोले गोली लाग्ला भन्ने त थिएन तर माथिबाट बम खस्ला कि भन्ने चिन्ता भैरह्यो ।’

गुरिल्ला मार्ग
चर्चित बेनी आक्रमणक्रममा माओवादी विद्रोहीले रोल्पाको उत्तरपूर्वी थवाङबाट रुकुम जिल्लाको लुकुम हुँदै घुमाउँरो बाटोबाट ढोरपाटन शिकार आरक्ष छिचोल्दै म्याग्दी सदरमुकाम बेनी झरेको १७ दिने पैदलमार्गलाई रक्तिममार्ग अर्थात गुरिल्ला मार्ग प्रस्ताव गरिएको छ । बेनीबाट शुरु हुने यो पदमार्ग रोल्पा पुगेर टुङ्गिन्छ । माओवादी विद्रोह र विद्रोहीले प्रयोग गरेको बाटो अब संसारमा म्युजियममा थन्काएको बस्तु जस्तै, पर्यटकका लागि दृश्यावलोकन गर्ने, मनोरञ्जन गर्ने माध्यम बन्ने पक्का छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->