सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

क्षयरोगबाट वर्षमै एक हजार ३९० बिरामीको मृत्यु

क्षयरोगबाट वर्षमै एक हजार ३९० बिरामीको मृत्यु

६ महिना औषधी सेवन गरे निको हुने सम्भव छ


  • ढोरपाटन संवाददाता
  • चैत्र ११ २०८२, बुधबार

पोखरा/गण्डकी प्रदेशमा एक वर्षमा क्षयरोगबाट एक हजार ३ ९० बिरामीको मृत्यु भएको छ । नेपाललाई सन् २०५० सम्म क्षयरोगमुक्त बनाउने लक्ष्य लिइएको अवस्थामा गण्डकी प्रदेश सरकारले क्षयरोग खोजपड्ताल अभियान जारी गर्दा गत वर्ष दुई हजार ८०१ जनामा क्षयरोग लागेको पुष्टि भयो । क्षयरोग निर्मूल पार्ने गण्डकी सरकारको योजना अघि बढिरहँदा गत वर्ष पाँच हजार ५०४ जना नयाँ विरामी भेटिएका थिए ।

यस्तै चालु आर्थिक वर्षको ८ महिनामा गण्डकी प्रदेशमा एक हजार ४५३ जना क्षयरोगका बिरामी भेटिएका छन् । क्षयरोगका बिरामी खोजी उपचारमा लागेको गण्डकी प्रदेश सरकारले एआई एक्सरे मेसिनको सहायताले गाउँगाउँसम्म पुगेर बिरामी खोजिरहेको गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले जानकारी दिए ।

नेपालको प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको क्षयरोगको पहिचान गरी निदान गर्ने र जनचेतना फैलाउने लक्ष्यका विभिन्न कार्यक्रम गरिँदै आएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२४ मा नेपालमा ६७ हजार नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । देशभरका छ हजार २४१ स्वास्थ्य संस्थामा क्षयरोगको उपचार हुन्छ भने ७८५ संस्थामा तोकिएको माइक्रोस्कोपी सेवा र १४२ संस्थामा द्रुत परीक्षण सेवा निःशुल्क उपलब्ध छ ।

गण्डकी प्रदेशमा ८२९ डट्स केन्द्रहरु, तीनवटा औषधी प्रतिरोधी क्षयरोग उपचार केन्द्र, एकवटा क्षयरोग र प्रेषण व्यवस्थापन केन्द्र, ११ वटा उपकेन्द्रहरु, १०१ वटा माइक्रोस्कोपी निदान केन्द्र, १० वटा जिन एक्सपर्ट केन्द्र र तीन वटा एक्सपर्ट एक्सडिआर केन्द्रहरु रहेका छन् । गण्डकी प्रदेशमा पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा विरामी बढ्दो क्रममा देखिएको छ । २०८० सालमा दुई हजार ७ ६५ बिरामी फेला पर्दा २०८१ सालमा दुई ८०१ विरामी भेटिएका छन । चालु आर्थिक वर्षको आठ महिनासम्म एक हजार ४५३ संक्रमित भेटिएको प्रादेशिक रोग नियन्त्रण कार्यालय गण्डकीका कार्यक्रम अधिकृत सन्तोष पौडेलले बताए ।

उनले अझैपनि समाजमा क्षयरोगीलाई हेर्ने दृष्टिकोण नकारात्मक रहेको र क्षयरोग निको हुन्छ भन्ने बारेमा धेरैलाई ज्ञान नरहेको बताए । आगामी दिनमा नागरिकलाई क्षयरोगको उपचार सम्भव रहेको बुझाउन सकेमा यसको अन्त्य गर्न सकिने बताए ।

‘क्षयरोग निको गर्नका लागि ६ महिना नियमित औषधी खाए हुन्छ जुन कुरा नागरिकलाई बुझाउन सकिएको छैन । क्षयरोगको किटाणु हरेक मानिसमा छ तर, यो रोग प्रतिरोधी क्षमता भएकाहरुलाई लाग्दैन, जो कमजोर छ उनीहरुमा लाग्ने सम्भावना धेरै रहन्छ’ उनले भने, ‘हामीले यसबारेमा सचेतना फैलाउन अत्यावश्यक छ ।’

विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक वर्ष संसारभर ८० लाख नयाँ क्षयरोगी थपिन्छन् । क्षयरोगबारे अझै समाजमा जनचेतना फैलाउनुपर्ने र ६ महिना औषधी खाएमा निको हुने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

गण्डकी प्रदेश सरकारले अहिले एआई, एक्सरे मार्फत क्षयरोग पत्ता लगाइरहेको छ । उक्त प्रविधिले अन्य प्रविधिले पत्ता लगाउन नसकेको अवस्थामा समेत पत्ता लगाएका कारण यसको प्रभावकारिता निकै रहेको देखिन्छ । गण्डकीमा दुइवटामात्रै एआई एक्सरे रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->