पोखरा/फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरुले बिहिबार शपथग्रहण गरेका छन । उनीहरुलाई प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराएका हुन् । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले भने बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतलनिवासमा शपथ लिएका थिए ।
केसीले नै प्रतिनिधि सभाका बाँकी सदस्यहरुलाई शपथ गराएका हुन् । उनीहरूलाई सिंहदरबारस्थित नवनिर्मित संघीय संसद्को अस्थायी रुपमा बनेको बहुउद्देश्यीय हलमा शपथ ग्रहण गराइएको हो । संघीय संसद् सचिवालयका अनुसार, अब संसद्का केही प्रारम्भिक बैठक पनि सोही हलमा बस्नेछ ।
नवनिर्मित प्रतिनिधिसभाको हल तयार नभएकाले सांसदहरूको शपथ र प्रारम्भिक केही बैठकका लागि अस्थायी हल निर्माण गरिएको हो ।
बिहीबार प्रतिनिधीसभाका २७५ सदस्यमध्ये ६३ जनाले मातृभाषामा शपथ लिएका छन । त्यसका लागि उनीहरुले संघीय संसद सचिवालयमा मातृभाषामा शपथ लिनेबारे जानकारी गराएका थिए ।
नेपालाको संविधानको धारा ७ मा सरकारी कामकाजको भाषासम्बन्धी व्यवस्था छ ।
यो धाराको उपधारा १ मा ‘देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुनेछ’ उल्लेख गरिएको छ ।
सरकारी कामकाजको भाषा नेपाली भएतापनि शपथसम्बन्धी ऐनमा भने मातृभाषामा शपथ लिन पाउने व्यवस्था छ ।
शपथसम्बन्धी ऐन, २०७९ को दफा ५ को उपदफा १ मा ‘शपथ लिँदा वा शपथ गराउँदा सरकारी कामकाजको भाषामा लिनु वा गराउनु पर्नेछ,’ उल्लेख गरिएको छ ।
तर, उपदफा २ मा भने सार्वजनिक पदधारण गर्ने व्यक्तिले नेपालमा बोलिने आफ्नो मातृभाषामा शपथ लिन सक्नेछ भन्ने उल्लेख गरेको छ । मातृभाषामा शपथ लिँदाको व्योहोरा अनुवाद गरि उक्त अनुवाद प्रमाणित गनुर््पर्ने हुन्छ ।
‘त्यसरी मातृभाषामा शपथ लिने भएमा अनुसूचीमा उल्लिखित शपथको व्योहोरा आफ्नो मातृभाषामा अनुवाद गरी त्यस्तो अनुवाद आफैले प्रमाणित गरी शपथ गराउने पदाधिकारी समक्ष शपथ लिनु अगावै पेश गर्नु पर्नेछ’ उपदफा २ मा भनिएको छ ।
ऐनको यही व्यवस्था बमोजिम मातृभाषामा शपथ लिन ६३ जना प्रतिनिधि सभा सदस्यले सचिवालयलाई जानकारी गराएका थिए । उनीहरुले बिहीबार १७ मातृभाषामा शपथ लिए ।
संविधानले सरकारी कामकाजको भाषा देवनागरी लिपिमा लेखिएको नेपाली भाषा भनेतापनि प्रदेशको हकमा भने प्रदेशले कानून बनाएर सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्ने उल्लेख गरेको छ ।
धारा ७ को उपधारा २ मा लेखिएको छ, ‘नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानून बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्नेछ ।’
संविधानको यही व्यवस्था अनुसार गण्डकी प्रदेशले नेपालीको अतिरिक्त गुरुङ र मगर भाषालाई पनि सरकारी कामकाजको मान्यता दिने ऐन प्रदेशसभाबाट पारित गरि राजपत्रमा समेत प्रकाशित गरिसकेको छ ।
प्रदेशसभाको गत असार २४ गतेको बैठकले ‘गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन’ पारित गरेको थियो ।
उक्त ऐन, २६ साउनमा राजपत्रमा समेत प्रकाशित भइसकेको छ ।
प्रदेश सरकारले सरकारी कामकाजको भाषाको मान्यता दिएको मगर भाषामा बागलुङकी रेनुका काउचाले शपथ लिएकी हुन् । समानुपातिकतर्फ आदिवासी÷जनजाती महिला क्लष्टरमा निर्वाचित काउचा नेपाली कांग्रेसबाट निर्वाचित भएकी हुन् ।
प्रदेशबाट प्रत्यक्षतर्फ निर्वाचित १८ र समानुपातिकबाट निर्वाचित ४ (रेनुका बाहेक) ले भने नेपाली भाषामा नै शपथ लिएका हुन । गण्डकीले सरकारी कामकाजको भाषाको मान्यता दिएको गुरुङ र मगर भाषामा अरु सदस्यले शपथ नलिएतापनि यो समुदायबाट भने म्याग्दीबाट महावीर पुन (स्वतन्त्र), कास्कीबाट विना गुरुङ, गोरखाबाट सुदन गुरुङ, मनाङबाट टेकप्रसाद गुरुङ, गोरखबाटै एलिजा गुरुङ (समानुपातिक) निर्वाचित भएका छन् ।
बागलुङकै गंगा छन्त्यालले पनि छन्त्याल मातृभाषामा शपथ लिएकी छन । तर, यसले सरकारी कामकाजको भाषाको मान्यता पाएको छैन ।
मातृभाषामा शपथ ग्रहण गर्ने सांसदहरूमा यज्ञबहादुर बोगटीले अछामी, मोहम्मद इस्तियाक राईले अवधि, आकृति अवस्थीले डोटेली, करिस्मा कठरियाले ‘कठरीया थारू’ रहेका छन् ।
त्यसैगरी निश्कल राईले चाम्लिङ र दीपकराज बोहराले डोटेली भाषामा शपथ लिए । सुजाता तामाङ र परशुराम तामाङले तामाङ भाषामा शपथ लिए । कान्त चौधरी, अशोककुमार चौधरी, गीता चौधरी, पुष्पाकुमारी चौधरी, प्रमिलाकुमारी गच्छदार र सुरेन्द्र चौधरीले थारू भाषामा शपथ लिएका थिए ।
अनुष्का श्रेष्ठ, कुलभक्त शाक्य, कुशुम महर्जन, कपा महर्जन, विराजभक्त श्रेष्ठ, गंगालक्ष्मी अवाल, बुद्धरत्न महर्जन, मदनकृष्ण श्रेष्ठ, रुकेश रन्जितले नेपाल भाषामा शपथ लिएका थिए ।
नितिमा भण्डारी (कार्की), रबिन महतो, रवीन्द्र पटेल र राजेशकुमार चौधरीले बज्जिका भाषामा शपथ लिका थिए । त्यसैगरी ऐनबहादुर महरले बझाङ्गी भाषामा शपथ लिएको संसद सचिवालयले जनाएको छ ।
माधवराज राईले बान्तावा, कन्हैया बनिया, अरविन्द साह, बुद्धिप्रसाद पन्त, सुशीलकुमार कानुले भोजपुरी भाषामा शपथ लिएका थिए ।
प्रमोदकुमार महतो, राजकिशोर महतोले मगही भाषामा शपथ लिए । अंकिता ठाकुर, आशा झा, उज्ज्वलकुमार झा, दीपककुमार साह, कामिनी कुमारी, जोगकुमार बरबरिया यादव, तपेश्वर यादव, दीपककुमार साह, नरेन्द्रसाह कलवार, निशा मेहता, पुरुषोत्तम शुप्रभात यादव, मनिष झा, मातृकाप्रसाद यादव, रामजी यादव, रुवी कुमारी, शम्भुकुमार यादव, शिव शंकर यादव, सीताराम साहले मैथिली भाषामा शपथ लिएका थिए ।
कृपाराम रानाले राना थारू भाषामा शपथ लिए । त्यसैगरी पूर्णप्रसाद लिम्बू, सन्तोष सुब्बा, सुहाङ नेम्बाङले लिम्बू मातृभाषामा शपथ लिए । खुश्बु ओलीले संस्कृत भाषामा शपथ लिएकी थिइन् ।





