
पोखरा/कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले १६५ निर्वाचन क्षेत्रमध्ये १०५ स्थानमा आफ्नो उम्मेदवार खडा ग¥यो । राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता प्रक्रिया भंग भएपछि समानुपातिकतर्फ उम्मेदवार खडा गर्नै नपाएको उज्यालो नेपाल पार्टीका कुलमान विजयी हुने धेरैले सोचेका थिए तर काठमाडौं ३ मा उनी दोस्रो बने । उज्यालोका उम्मेदवारहरुले देशभरबाट १ लाख १५ हजार ९७७ नागरिकले मत प्राप्त गरे । १ लाखभन्दा बढी मत प्राप्त गरेको यो पार्टीले समानुपातिकतर्फ पनि उम्मेदवार खडा गर्न पाएको भए के राष्ट्रिय पार्टी बन्ने सम्भावना थियो त ?
निश्चय पनि समानुपातिकतर्फ उम्मेदवार खडा हुँदा त्यसको प्रभाव प्रत्यक्ष र समानुपातिक दुबैतर्फ पर्नै नै थियो । समानुपातिक उम्मेदवार प्रचारमा होमिँदा मत बढ्ने सम्भावना रहन्थ्यो । तर, मतदाताको रुरुरुझान हेर्दा चाहिँ उज्यालो नेपालले समानुपातिकमा उम्मेदवार नै खडा गरे पनि राष्ट्रिय पार्टी बन्ने सम्भावना कम रहेको पुष्टि गर्छ ।
हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीसँग तुलना गर्ने हो भने उज्यालोका उम्मेदवारहरुले प्रत्यक्षतर्फ प्राप्त गरेका मत साह्रै नै कम हुन आउँछ । श्रम संस्कृतिले १६५ निर्वाचन क्षेत्रमध्ये १०९ स्थानमा आफ्नो उम्मेदवार खडा गरेको थियो । प्रत्यक्षतर्फ साम्पाङसहित भोजपुर १ बाट ध्रुवराज राई र खोटाङ १ बाट आरेन राईले चुनाव नै जितेका थिए । देशभरका उम्मेदवारहरुले प्रत्यक्षतर्फ २ लाख ९८ हजार ७८५ मत प्राप्त गर्दा सो पार्टीले समानुपातिकमा ३ लाख ८५ हजार ९०२ मत प्राप्त गर्दै राष्ट्रिय पार्टीमा दर्ज भएको थियो ।

गण्डकीकै कुरा गर्ने हो भने, श्रम संस्कृति पार्टीले यहाँका सबैजसो जिल्लाबाट समानुपातिकमा सन्तोषजनक मत प्राप्त गरेको छ । गोर्खा १ मा उज्यालोका रामकाजी रानामगरले ४८९ मत प्राप्त गर्दा त्यहाँ मंगोलन नेसनल अर्गनाइजेसनका देवबहादुर रानाले १२४ मत प्राप्त गरेका थिए । श्रम संस्कृतिको उम्मेदवार नै नरहेको त्यो क्षेत्रबाट समानुपातिकमा ४८६ मत पाएको थियो । त्यो भनेको उज्यालोका प्रत्यक्ष उम्मेदवारले प्राप्त गरेको मतभन्दा बढी हो । गोर्खा २ मा उज्यालो नेपाल पार्टीका बलराम तामाङ ६३९ मत प्राप्त गर्दा श्रम संस्कृतिले समानुपातिकमा ६९६ मत प्राप्त ग¥यो । लमजुङ कोषलाल गुरुङलाई उम्मेदवार बनाएको श्रम संस्कृतिले प्रत्यक्षतर्फ ५६५ समानुपातिकमा ४९९ मत ल्यायो । कास्की १ उज्यालोकी मनिषा द्वाले प्रत्यक्षमा ६७० मत ल्याउँदा श्रम संस्कृतिका बिलबहादुर तामाङले १ हजार १४१ मत ल्याए । यो भनेको राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारको भन्दा बढी हो । कास्की १ बाट श्रम संस्कृतिलाई समानुपातिकमा १ हजार ५८४, कास्की–२ मा १ हजार ६६ र कास्की–३ मा ९१४ मत खसेको छ ।
यस्तै तनहुँ–१ मा १ हजार ५३२ र तनहुँ–२ मा १ हजार ३४४ मत पाउँदा स्याङ्जा–१ मा ९५७ र स्याङ्जा–२ मा १ हजार ९ मत प्राप्त भएको छ ।श्रम संस्कृतिले मुस्ताङबाट १ हजार ९७६, म्याग्दीमा १ हजार ७१५, बाग्लुङ–१ बाट ८०४ र बागलुङ–२ बाट ७६२ र पर्वतबाट ७६२ मत प्राप्त गरेको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ मा २ हजार २५३ र २ मा १ हजार ९७६ मत आएको छ । कास्की ३ श्रम संस्कृतिका हितकाजी गुरुङ ५८६ ले मत ल्याउँदा उज्यालोका तर्कबहादुर गुरुङले ४६२ मत प्राप्त गरेका थिए भने मंगोल नेसनल अर्गनाइजेसनका जीवन गुरुङले ७६ मत ल्याएका थिए ।
कास्की २ मा उज्यालोका कुशल गुरुङ १ हजार २०१ मत प्राप्त गर्दा श्रम संस्कृतिको उम्मेदवार नै थिएनन् भने तनहुँ १ श्रम संस्कृतिका काशीराम गुरुङ ९६७ मत ल्याएका थिए भने उज्यालोका मञ्जिल रानाको ५०८ रहेको थियो । स्याङ्जा १ मा श्रम संस्कृतिका पिरन गुरुङले ४८९ मत प्राप्त गर्दा उज्यालोका रवीन्द्र मल्लले १७६ मत ल्याएका थिए । नवलपुर १ मा उज्यालोकी पार्वती गुरुङ्सेनी उज्यालो १९१ ल्याउँदा त्यहाँ श्रम संस्कृतिको उम्मेदवारी थिएन । २ बाट भने श्रम संस्कृतिका कमल चापागाईंको १ हजार १६४ मत आएको थियो ।
उज्यालोभन्दा श्रम संस्कृतिलाई बढी मत आउनुमा हर्क साम्पाङप्रतिको आकर्षणले पनि काम गरेको देखिन्छ भने रास्वपासँग पार्टी एकीकरण गर्ने निर्णय र त्यसपछि उत्पन्न कटुताका कारण उज्यालोलाई जनताले विश्वास नगरेको उसले प्राप्त गरेको मतले देखाउँछ ।
देशैभर रास्वपाको लहर आएको बेला कुलमानले पार्टी मिलाउने निर्णय गरे, त्यो निर्णयबाट बाहिरिने अवस्था आएपछि कुलनमानलाई मन पराउनेहरुले पनि रास्वपालाई नै मत दिए । बाँकी बिच्किएकाहरु श्रम संस्कृतितिर तानिए । कुलमानलाई काम गर्ने मान्छेको रुपमा प्रचार त गरियो तर उनले आफूले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदा बनाएको छविलाई पनि बिकाउन सकेनन् । बालेन साह र रवि लामिछानेको छायाँमा परे । उता, हर्क चाहिँ श्रम गर्ने वर्गको प्रतिनिधिको रुपमा उभिए । अन्तरिम सरकारको मन्त्रीबाट फ्याट्ट राजीनामा दिएकोमा पनि जनता खुसी देखिएनन् ।





