पोखरा/२०७९ साल वैशाख ११ गते । देशलाई स्थानीय निर्वाचनको माहौलले तताएको थियो । नेपाली कांग्रेस–माओवादी केन्द्र र एकीकृत समाजवादीसमेतका दलहरु एकातिर थिए भने एमाले एक्लै चुनावमा होमिएको थियो । वैशाख ३० गतेको प्रदेश र स्थानीय तहको चुनावको लागि प्रचार अभियान चलिरहेको बेला हालका राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछाने ग्यालेक्सी फोरके टेलिभिजनको ‘सिधा कुरा जनतासँग’ कार्यक्रम संचालन गर्थे ।
राजनीतिक दलका गलत क्रियाकलापमाथि कडा शब्दमा खनिने र ठाउँको ठाउँ अन्तर्वाता लिइहाल्ने उनको बानीलाई जनताले खुब रुचाएका थिए । २०७४ सालको चुनावमै विवेकशील साझाले वैकल्पिक राजनीतिक शक्तिको वकालत गर्दै संचालन गरेको अभियान तथा पूर्वमाओवादी नेता डा.बाबुराम भट्टराई नेतृत्वको पार्टी ‘नयाँ शक्ति’ ले विकल्पको खोजी अभियानलाई बढावा त दिएको थियो तर परिणाम सुखद थिएन ।
२०७९ सालको स्थानीय चुनावमा चाहिँ देशैभर केही उत्साही युवाहरु ‘स्वतन्त्र’को रुपमा मैदानमा उत्रिएका थिए । र,तीमध्ये सबैभन्दा चर्चित चाहिँ ¥यापरको पृष्ठभूमिबाट राजनीतिमा होमिने निर्णय गरेका बालेन्द्र (बालेन) साह थिए । उनले काठमाडौंको मेयरमा उम्मेदवारी दिँदै गर्दा पोखरामा अटेरी अभियानमार्फत् खड्गराज (गनेस),धरानमा हर्क साम्पाङ,वीरगञ्जमा गिरिश गिरी,धनगढीका मेयरका उम्मेदवार गोपाल हमालको पनि चर्चा थियो । तीमध्ये बालेन,हर्क र गोपाल सफल बने ।
कार्यक्रम प्रस्तोताको रुपमा रविले त्यो बेला वैकल्पिक शक्तिको वकालत गर्दै आफ्नो कार्यक्रममा बालेन,पोखराका गनेस र वीरगञ्जका उम्मेदवार गिरिशसँग अन्तर्वार्ता नै गरेका थिए । सो अन्तर्वाताको क्रममा बालेनले रविसँग केही योजनाहरुमात्र सुनाएका थिएनन्, आफूहरुसँग विज्ञहरुको समूह नै भएको घोषणा गरेका थिए ।
‘हामीले मेयरमा उम्मेदवारी दिएका हौँ । हामीले एउटा राजनीतिक पार्टी खोल्नको अथवा नेता बन्नका लागि उम्मेदवारी दिएका होइनौँ । किनकि, मेयर,सांसद र नेता फरक हुन् । मेयरले कम्पनीको सिइओजस्तो काम गर्नुृपर्छ । त्यो सिइओ यस्तो होस् कि ऊ हरेक क्षेत्रमा भिजेको होस् । बुझेको होस् । सांसद र मेयर भनेका फरक हो र यसको टिकेटिङ पनि फरक हुन्छ । पैसाको चलखेल हुन्छ । त्यो टिकट सेटिङको सिस्टममा टिकट पाइसकेपछि ऊ ५ वर्ष सेटिङकै पछि लाग्छ,पैसाकै पछि लाग्छ ।’
रविले त्यो बेला भनेका थिए,‘म प्रश्नको तीरका लागि कुरा गरिरहेको छैन । शंकाको सुविधाबाहेक मेरो केही छैन । म तपाईंलाई इन्करेज गर्न चाहन्छु । डिस्करेज गर्नको लागि हैन ।’
बालेनको जोड सुशासनमा थियो । मेयर भएर गमक्क परेर बस्न नमिल्ने पनि उनको भनाइ थियो । रविले अन्तर्वार्ताकारका रुपमा उठाएका केही विषयमा भने बालेनले असहमति जाहेर पनि गरेका थिए ।
बालेनले त्यो बेला रविसँग ढुक्कसँग भनेका थिए,‘म ९० हजार ८३५ मतले जित्छु ।’
साँच्चै उनले जिते तर ६१ हजार ७६७ मतले । दोस्रो भएकी कांग्रेसकी सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याइन् ।
त्यो बेला सुनाएका योजनाहरु कति कार्यान्वयन भए,समीक्षा होला तर बालेन अहिले देशको प्रधानमन्त्री बनिसकेका छन्, त्यो पनि रवि सभापति भएको रास्वपाकै तर्फबाट ।
बालेन विजयी बनेपछि रविले ग्यालेक्सी टेलिभिजन छाडे । राजनीतिमा होमिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरे । २०७९ सालको असार १७ गते निर्वाचन आयोगमा विधिवत् दर्ता भएको रास्वपा त्यही मंसिर ४ गते भएको चुनावमा होमियो । देशभर प्रत्यक्षतर्फ ७ सिट जित्यो भने समानुपातिकसहित २१ सांसद लिएर संसदको दरिलो शक्ति बन्यो । त्यही शक्तिको आडमा २०७९ साल पुस ११ गते प्रचण्ड नेतृत्वको सरकारमा रवि लामिछाने गृह तथा उपप्रधानमन्त्री पनि बने । दोहोरो नागरिकता काण्डका कारण सांसदबाट निलम्बन भएका उनी चितवन २ मा भएको उपनिर्वाचनमा फेरि उम्मेदवारमात्र बनेनन्,झन भारी मतले विजयी भए ।
राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनादेखि त्यसको संगठन बिस्तारसम्म महत्वपूर्ण भूमिका निर्वाह गरेका रवि २०८० साल फागुन २३ गते पुनः उपप्रधान तथा गृहमन्त्री बने । सूर्यदर्शनसहित विभिन्न सहकारी घोटाला काण्डका मुद्दाकै बीचको उनको दोस्रो कार्यकाल सुखद रहेन । प्रचण्ड नेतृत्वको सरकार विस्थापनमा परेसँगै कांग्रेस र एमालेको संयुक्त सरकार बनेपछि चाहिँ सहकारी घोटाला काण्ड छानबिनको लागि संसदीय समिति नै बन्यो । रवि जेल परे । जेल परेकै बेला गएको भदौमा भएको जेनजी आन्दोलनको क्रममा उनी नख्खु काराकार बाहिर निस्के । पुनः जेलमै गए । जेल नबसेरै मुद्दा लड्ने सुविधा पाएपछि चाहिँ उनी पार्टीको काममा खटिए ।
टाउकोमाथिको खतरा अनि बालेनको इन्ट्री !
रविमाथि जेनजी आन्दोलनको क्रममा जेल तोडेर भागेको आरोप लाग्यो । किर्ते कागज गरेर जेलबाट निस्केको आरोपलाई खण्डन गरे पनि उनी आलोचनाबाट मुक्त छैनन् । भला, उनले जेनजी आन्दोलन जाँचबुझको लागि गठित समितिसँगको बयानमा आफूले जेल तोडेर नभागेको जवाफ दिएकै किन नहुन् !
उता,रविमाथि सहकारी ठगी प्रकरणमा सम्पत्ति शुद्धीकरण र संगठितको अपराधको मुद्दा कायमै छ । सो मुद्दामा दोषी हुँदा उनको सांसद पद स्वतः निलम्बन हुने अवस्था रहेकै छ भने दोहोरो राहदानी प्रयोगको अभियोगबाट पनि उनले उन्मुक्ति पाएका छैनन् । अपितु, उनीमाथि आम नागरिकको भरोशा टुटेको पनि थिएन । रास्वपा अघिल्लो संसदमा राष्ट्रिय शक्ति नै थियो र योपटक पनि रविको राप र ताप घटेको थिएन । एकातिर जेनजी आन्दोलनपछि बदलिएको अवस्था र अर्कोतिर आफूमाथि लागेका आरोपहरुका कारण रविले सम्झौताको बाटो रोजे । त्यही उपक्रममा पार्टी खोल्ने अनि संसदीय चुनाव लड्ने मनस्थिति बनाएका काठमाडौंका मेयर बालेन साह पनि रविसँग जोडिन आइपुगे ।
पुस २० गते बसेको रास्वपा केन्द्रीय समितिको बैठकले बालेनलाई वरिष्ठ नेतामा स्थापित गरायो भने सो उपक्रममा रविले बालेनलाई नै भावि प्रधानमन्त्री बनाउने सहमति पनि गरे । त्यो सहमति गराउनमा विभिन्न शक्ति केन्द्रको भूमिका रहेको चर्चा चले पनि रविको ‘त्याग’ बिना बालेनलाई भावी प्रधानमन्त्री घोषणा गर्न सम्भव थिएन । तर, बालेनलाई रास्वपाले भावी प्रधानमन्त्री घोषणा ग¥यो । केन्द्रीय समितिमा ‘भाग’ दियो । त्यसैको जगमा उभिएर चुनावमा गएको रास्वपाले संसदको झण्डै २ तिहाइ सिट हासिल गरेको छ । उसको हातमा सत्ताको बागडोर आइपुगेको छ ।
आफैंले निर्माण गरेको पार्टी र आफ्ना महत्वकांक्षालाई पर राखेर बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय स्वयं रविको लागि पनि सजिलो नभएको उनी निकट नेता बताउँछन् ।
‘तर, देशको लागि उहाँले व्यक्तिगत स्वार्थ राख्नुभएन,’ती नेताले भने,‘अहिले बालेन प्रधानमन्त्री हुनुमा बालेनको भन्दा पनि रवि र रास्वपाको योगदान बढी भएको बिर्सनु हुँदैन ।’
हो, कुनै बेला वैकल्पिक शक्तिको पक्षपोषण गरेका र स्वयंलाई वैकल्पिक शक्तिको नेताको रुपमा स्थापित गराएका रवि अहिले पार्टी सभापतिमात्रै छन् । देशको कार्यकारी प्रधानमन्त्री चाहिँ करिब ३ महिनाअघि पार्टीमा भित्र्याइएका बालेनलाई सुम्पेका छन् । प्रधानमन्त्रीको रुपमा बालेनसँग जनताले धेरै अपेक्षा राखेका छन् । बालेन सफल हुँदा वैकल्पिक शक्तिको रुपमा रास्वपा र रवि पनि सफल हुनेछन् ।
दुःखमा साथ दिएका स्वर्णीमले पाए अर्थमन्त्री
डा. स्वर्णीम वाग्ले २०७९ साल मंसिरसम्म नेपाली कांग्रेसमै आवद्ध थिए । त्यो चुनावमा उनी चितवनबाट चुनाव लड्न चाहन्थे । तर, उनी सभापति शेरबहादुर देउवाको कोपभाजनमा परे । पार्टीको घोषणापत्र लेखनमा सक्रिय रहेका स्वर्णीमलाई टिकट दिलाउन तत्कलीन महामन्त्री गगन थापाले भरमग्दुर प्रयास गरे तर सफल भएनन् । टिकट नपाएर बिच्किएका स्वर्णीमले रास्वपा सभापति रवि लामिछानेसँग हिमचिम बढाए ।
उता, तनहुँ क्षेत्र नम्बर १ बाट चुनाव जितेका रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि सो सिटमा उपनिर्वाचन हुँदै थियो । रास्वपा सभापति रविले सो क्षेत्रबाट स्वर्णीमलाई चुनाव लड्न आग्रह गरे । सहकारी ठगीदेखि विभिन्न प्रकरणमा मुछिएका रविको पार्टीमा नयाँ मान्छे जोड्न खोज्ने चाहना र स्वर्णीमको इच्छाले मेल खायो । टिकट पाउने निश्चित भएपछि स्वर्णीमले २०७९ साल चैत १४ गते नेपाली कांग्रेसबाट अलग भएको घोषणा गरे ।
उनले त्यो बेला सामाजिक सञ्जालमा लेखेका थिए, बिगत वर्षहरुमा कांग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शिर निहुरिने अवस्था आएको छ । जननायक बीपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर र किसुनजीको ऐतिहासिक दल अहिले दाइ–भाउजु–साला–भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ ।
अब कांग्रेस–कम्युनिष्टका असल मानिसहरु, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसे पनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ । सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु । आम नैराश्य चिरेर ‘यो देश बन्छ’ भन्ने आशा जगाउने हो, बनाउने नै हो । जय नेपाल ।’
चैत १८ गते उनी रास्वपा प्रवेश गरे । रास्वपा प्रवेशसँगै उनी उपसभापति भए । उपसभापति भएसँगै उनले ‘रवि लामिछानेलाई बीपी कोइरालासँग तुलनामात्र गरेनन्,पार्टीको नीति निर्माणमा सक्रियतापूर्वक लागे । विदेशमा पढेका वाग्लेको प्रवेशसँगै रास्वपाको संगठनमा नयाँ उत्साह थप्यो भने रविले भरोशायोग्य उपसभापति पनि पाए ।
२०८० साल वैशाख १० गते भएको उपनिर्वाचनमा उनी भारी मतान्तरसहित विजयी बने । वाग्लेले ३४ हजार ९१८ पाउँदा कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २० हजार १२२ मत पाएका छन् । भट्टराईभन्दा १४ हजार ७९६ मत बढी ल्याएका उनी गएको फागुन २१ गते भएको निर्वाचनमा पनि वाग्लेलाई नै हराउँदै संसद पुगेका हुन् । चुनाव जित्नुअघि नै पार्टी सभापति रवि लामिछानेले वाग्लेलाई भावी अर्थमन्त्रीको रुपमा प्रक्षेपित गरेका थिए । बजेट लेख्न भनेका थिए । रविलाई दुःखमा साथ दिने उनै स्वर्णीम अहिले देशको ढुकुटीको बागडोर चलाउने अर्थमन्त्री बनेका छन् ।





