पोखरा/सुवेदार गजबहादुर गुरुङका पुस्ताहरु फेवातालको ठ्याक्कै पारिपट्टिको लाम्डाँडा पाखोमा कहिलेदेखि बस्दै आए ? गजबहादुरले आफ्ना बाजे धर्मसिंह गुरुङले भनेको कुरातिर फर्के ।
‘हाम्रा बाजेको बाचाहिँ कुवेर, कुवेरका बा लक्ष्मीमान अनि लक्ष्मीमानका बाबा बखतबहादुर रहेछन् । हाम्रा बा मेखबहादुरसम्म अनि हामी चार भाइसम्मको हिसाब गर्दा त ३ सय वर्षभन्दा माथि नै होला नि’, यति भनिसकेपछि सुवेदार गजबहादुरले केही बेर गम खाए ।
सायद, उनी मान्छेको आयूसँग आफ्नो पुस्ताले बाँचेको समयको जोड–घटाउ गर्दैछन् !
हालका गृहमन्त्री सुधन गुरुङले उनीहरुले चर्चेको जग्गामा बनाएको संरचना र त्यसले निम्त्याएको विवादका कारण चर्चामा आएपछि सुवेदार गमबहादुर गुरुङको मन चङ्गा छैन ।
फेवातालमा क्रुज दौडाउने, मान्छेलाई पानीमै मनोरञ्जन दिलाउने व्यवसाय गर्ने सपनासहित करिब ६ वर्षअघि पोखरा आएका सुधनले तालसँगै जोडिएको एउटा जग्गामा सपना रोप्ने मन गरेछन् । जग्गा कसको हो भन्ने खोजखबर गर्दा गजबहादुरहरुको भएको पत्ता लगाएछन् ।
‘तपाईंहरुको जग्गा रहेछ, भाडा दिनुहुन्छ ? बेच्नुहुन्छ भने पनि बेच्नुहोस्’, सुधनले गजबहादुरसँग भनेछन् ।
‘हामी ८ भाइको जग्गा हो, छलफल गर्नुपर्छ,’ गजबहादुरले भनेछन् । त्यसपछि दाजुभाइहरु छलफलमा जुटेछन् । खोलाले खेतमा ढुंगामाटो हुलेको थियो । खेती गर्न पनि गाह्रो । जग्गा भाडामा दिने सहमति भएछ ।
सुधनले भाडा अवधि १५ वर्ष हुनुपर्छ भन्दा गजबहादुरले चाहिँ १० वर्षमा सहमति जनाएछन् । ५ वर्षमा भाडा बढाउने र हरेक वर्ष २ लाख रुपैयाँ भाडा दिने सहमति भएछ । त्यसपछि सुधनले ससुरको बगरमा सपना रोप्न थाले । केही भौतिक संरचना बनाए । निर्माणको क्रममा गाउँमै बसे÷तालपारिको रहन–सहनमै रत्तिएछन् । सुधनले त्यो बेला तालमा डुंगा चलाउने र त्यो डुंगा सर्लक्क आफूले बनाएको ठाउँमा थन्क्याउने संरचना बनाउँदै थिए रे ! अचानक सँधियारसँग उनको खटपट भएछ । सधिँयारको जग्गानेर सेफ्टीट्याङ्की बनाउन लाग्दा भएको विवाद मिलाउन सुधनले प्रयत्न पनि गरेका थिए रे ! तर, बीचमा निर्माणको काम त्यत्तिकै छाडेर काठमाडौंतिर लागेका उनी फर्केनछन् । गएको भदौ २३–२४ गतेको जेनजी आन्दोलनपछि सुधनको परिचय फेरियो । गोर्खा १ बाट फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको चुनाव जितेका सुधन अहिले देशको गृहमन्त्री छन् । उनकै अगुवाइमा जब फेवातालको मापदण्ड कार्यान्वयनको लागि भन्दै फागुन २१ गते फेवाताल वरपरका संरचनाहरुमा डोजर चलाइयो । त्यही बेला पोखराका मेयर धनराज आचार्यले सार्वजनिक संचार माध्यममार्फत् ‘फेवाको मापदण्डभित्र गृहमन्त्रीको जग्गा पनि रहेके र त्यो जग्गामा पनि डोजर चलाउन भनेको’ जानकारी गराए । गृहमन्त्रीको पनि जग्गा रहेको सूचना पच्छ्याउँदै संचार माध्यमहरु पोखरा २२, ससुरको बगर पुगे । चर्चाकै बीचमा गृहमन्त्री सुधनले आफूसहितका ३ जना साथी मिलेर फेवातालमा साहसिक जलखेल संचालनको लागि एडभेन्चर नेपाल प्रालि नामक कम्पनी खडा गरेको र तालपारि जग्गा भाडामा लिएको स्वीकारे तर स्वीकारोक्तिसँगै आफूलाई सो जग्गा फेवाको ६५ मिटर मापदण्डभित्र पर्ने कुरा थाहा नभएको पनि जिकिर गरे ।
उनले सामाजिक सञ्जालमार्फत् भनेका थिए, ‘देशमै केही गरौँ भन्ने हुटहुटी र ऊर्जा बोकेका हामीले ठुलो लगानी र सपनाका साथ काम सुरु गरेका थियौँ । जग्गा भाडामा लिनुपूर्व हामीलाई जग्गाधनीहरूले उक्त जग्गा ६५ मिटरको मापदण्डभित्र पर्दैन भनी विश्वास दिलाएका थिए । लालपुर्जामा समेत जग्गा सुरक्षित रहेको देखाएका थिए । तर, पछि नगरपालिकाबाट बुझ्दा त्यो त मापदण्डभित्र पर्दो रहेछ । हामीलाई झुक्क्याएर, ठगेर जग्गा भाडामा दिइएको तथ्य थाहा पाउने बित्तिकै मैले नैतिकताका आधारमा तत्कालै सम्पूर्ण निर्माण कार्य र लगानी रोकिदिएको थिएँ । एउटा युवा उद्यमीका रूपमा हाम्रो सपना र लगानीमाथि जुन खेलबाड भयो, त्यो स्वीकार्य छैन । हामीलाई पर्न गएको यो अन्याय र ठगी विरुद्ध, कडाभन्दा कडा कानुनी उपचारका लागि हामी अब कानुनी प्रक्रियामा कत्ति पनि विचलित नभइ अगाडि बढ्ने ब्यहोरा सबैमा अवगत गराउन चाहन्छु ।’
सुधन कति पानीमाथिको ओभानो छन् ? यो समयक्रममा खुल्दै जाला तर वाटर स्पोर्टस्को चरित्र, फेवासँगै जोडेर बनाउन खोजिएका संरचना अनि निर्माण कार्य सुरु भएपछि पोखरा महानगरपालिको चक्कर लगाएको स्वीकारोक्तिले उनी तालसँग कुनै न कुनै रुपमा जोडिन चाहन्थे भन्ने तर्कलाई बलियो बनाउँछ । जग्गाको वैधानिकता अर्को कुरा !
सुधनले कहाँ र कस्तो जग्गामा संरचना बनाए ? यो प्रसङ्ग पछि जोडौँला । अहिले चाहिँ सुवेदार गजबहादुरतिर फर्कौँ । हामीले माथि नै भन्यौँ । सुवेदार गजबहादुरका तीनपुस्तेमात्र हैन, त्यसअघिका तीन पुस्ताले पनि फेवा किनारको जग्गामा नङ्ग्रा खियाएका छन् । सुवेदारले नाम लिएका बखतबहादुरको पालामा जग्गाको लालपुर्जा भन्ने कुरै थिएन । बाजे धर्मसिंह गुरुङको पालासम्म पनि मुखियाको आदेशमै जग्गाको हक कायम हुन्थ्यो । त्यो तालको मापदण्ड कति, कहाँसम्म खेती गर्ने भन्ने नियम बनेकै थिएन । पानीले छाडेको मलिलो जग्गामा खेती हुन्थ्यो । तालपारि लामडाँडाका गुरुङहरु तालवारिको रात्माटामा लास गाड्न ल्याउँथे । त्यो बेला तालपारिको त्यो क्षेत्र लुकुस्वाँरा गाविस वडा नम्बर ८ मा पथ्र्यो । जिल्ला मालपोत कार्यालयको स्रेस्ता अनुसार धर्मसिंहका ३ छोराबीच जग्गाको अंशबण्डा हुँदा रेशमलालको भागमा कित्ता नम्बर ३०९, मेखबहादुरलाई ३१० र वृषबहादुरलाई ३११ नम्बरको कित्ता प¥यो । फेवातालको अतिक्रमित जग्गा छानबिनका निम्ति गठित विश्वप्रकश लामिछाने आयोगको प्रतिवेदनले ससरूक खोलाको आसपासमा पर्ने लालपुर्जा भएका यी सबै कित्ताहरु संरक्षित क्षेत्रभित्र राखेको छ । त्यसा त, त्यहाँ मेखबहादुरको नाममा ३१४,३१५,३१६ र ३१८ नम्बरका अन्य कित्ता पनि रहेका छन् । सुवेदार गजबहादुर कित्ता नम्बर ३१० सहित अन्य जग्गाका धनी मेखबहादुरका जेठा छोरा हुन् भने उनीपछि होमबहादुर, रामबहादुर र सूर्यबहादुर गरी तीन भाइ छन् । एक छोरीलाई पनि त्यो जग्गाबाट अंश दिइएपछि नयाँ नापीमा त्यो कित्ता पनि विभिन्न नयाँ कित्तामा बाँडिएको छ । हालका गृहमन्त्रीलाई जग्गा भाडामा दिने बेला दाजुभाइसँग सरसल्लाह गर्नुपरेको कारण पनि त्यही हो । गजबहादुरका अनुसार हालका गृहमन्त्री सुधनसँग लिखित सम्झौता गरी भाडामा दिइएको जग्गा त्यही क्षेत्र नम्बर ३१० को बाँडिएका कित्ताहरु नै हुन् । भोगचलन गर्दै आइरहेको केही जग्गा भने २०३२ सालको नापी हुँदा छुटेको हुनसक्ने उनले स्वीकारे । आफ्ना पितालाई उधृत गर्दै उनले भने, ‘त्यो बेला खोला खेतमा पसेको रहेछ । नापीका मान्छेले त्यो बेला केही जग्गा नापेनछन् । भोगचलन चाहिँ हाम्रा बाजेका पनि बाजेले गरेकै हुन् ।’
हो, गजबहादुरको कुरा सत्य छ । कित्ता नम्बर ३१० सँगै जोडिएको कित्ता नम्बर ३११ लाई मालपोत कार्यालयले पर्तीमा राखेको छ । ६ रोपनी हाराहारीको जग्गा वरपरका जग्गाधनीले नै चर्चेका छन् । त्यसको वरपर रेशमलालको ३०९, मेखलालको ३१०, बृखबहादुरको नाममा ३१२ र रमेशलाल गुरुङको नाममा ३१३ नम्बरको कित्ताको लालपुर्जा छ । अहिले गृहमन्त्री सुधनले निर्माण गरेका अधिकांश संरचना चाहिँ त्यही कित्ता नम्बर ३११ मा परेको आँकलन गरिएको छ । किनकि, नक्सामा हेर्दा त्यो कित्ता तालसँग जोडिएको देखिन्छ । हालका गृहमन्त्री सुधन र जग्गाधनीहरुबीच कुन कित्ताको जग्गा भाडामा दिनेबारे सम्झौता भएको हो भन्ने प्रष्ट भएको छैन । सुवेदार गजबहादुरले लिखित सम्झौता आफूसँग नभएको र त्यो सुधन अनि आफ्नो भारत बस्ने भाइ (सूर्यबहादुर) सँग हुनसक्ने बताए ।
जग्गा नै मापदण्डभित्र पर्नेबारे आफूलाई जानकारी नभएको र ठगिएकोले कार्वाही प्रक्रिया अगाडि बढाउने भन्ने गृहमन्त्रीको भनाइप्रति चाहिँ उनले अनभिज्ञता प्रकट गरे । ‘हामीले जग्गा दिने बेला उहाँ (सुधन) लाई सबै कुरा भनेको हो । हाम्रा बाजेभन्दा पनि पहिलादेखि खनजोत गरिएको जग्गा किन हाम्रो हुँदैन र ? गाउँलेलाई सोधे पनि थाहा भइहाल्छ, हामीसँग त्यसअगाडि १९९० सालमा दर्ता भएको प्रमाण पनि थियो । तिरो पनि तिरकै हो,’ सुवेदार गजबहादुरले थपे । बाबुबाजेको पालादेखि भोगचलन गर्दै आइरहेको जग्गामा लगाइएको मापदण्डप्रति उनको गहिरो असहमति छ । तालको वरपर पुस्तौँदेखि बस्दै आएका रैथाने गुरुङ, जलारी, भुजेलसहितका अन्य स्थानीयको माग राज्यले सुनोस् भन्ने कामना पनि उनको छ ।





