आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

दरबार बन्दा बस्ती हट्यो, हिजोको गोरेटो आज ‘राउन्ड फेवा-भ्यु फेवा’ बन्यो

दरबार बन्दा बस्ती हट्यो, हिजोको गोरेटो आज ‘राउन्ड फेवा-भ्यु फेवा’ बन्यो

२०१३ साल अघिसम्म खेती गर्ने पहाडको रूपमा थियो। दरबार बनाउने भएपछि त्यहाँका गाउँलेलाई त्यतिबेला उचित मुआब्जा र अन्यत्र जग्गा दिएर सारिएको थियो । तर, रानीवनस्थित अनदुका गुरुङ बस्ती भने त्यस ठाउँबाट सर्न मानेनन् ।


  • विजय नेपाली
  • बैशाख ६ २०८३, आइतबार

पोखरा/पर्यटकीय राजधानी पोखरा आउने हरकोहीले फेवातालको अवलोकन गरिरहेकै हुन्छन् । फेवातालमा डुंगा सयर गर्दा पारीपट्टिको रानी वनको छेउसम्म पुगिरहेका हुन्छन् । पोखरा अन्नपूर्ण पदमार्ग, मर्दी हिमाल लगायत विभिन्न स्थानमा जानका लागि समेत प्रयोग हुने ठाउँ हो । त्यही पोखराको सहरसँगै जोडिएको छ ‘राउन्ड फेवा भ्यु फेवा’ । यो अभियान ८ वर्षअघिद सुरु भएको हो । यसले फेवाताललाई हिँडेर चक्कर लगाउन सकिन्छ ।

पोखराको पर्यटन प्रवद्र्धन र हरेक पर्यटकका लागि सहज पदमार्ग बनिरहेको छ ‘राउन्ड फेवा भ्यु फेवा ।’ पोखरा महानगरपालिका वडा नम्बर १७ ड्याम्साइडदेखि सुरु हुने यो पदमार्ग पोखरा २२ हुँदै, २३, २४, १८ र ६ नम्बर वडालाई समेटेको छ । समयअन्तरालसँगै पहिला गाउँ क्षेत्र अहिले रानी वनमा परिणत भएको हो । फेवातालको किनारैमा राजदरबार छ, जसलाई रत्नमन्दिर र हिमागृह भनेर चिनिन्छ । राजा महेन्द्रले श्रीमती रत्न राज्यलक्ष्मी शाहको नाममा विसं. २०१३ सालमा बनाउन शुरू गरेका रत्नमन्दिर दरबार २०१५ सालमा निर्माण सकिएको थियो ।

राजा महेन्द्रका माइला भाइ हिमालय वीर विक्रम शाहले २०३६ मा हिमागृह बनाएका थिए । फेवा किनारको रमणीय वातावरणमा करीब १११ रोपनी क्षेत्रफलमा फैलिएको रत्नमन्दिर तत्कालीन राजा महेन्द्रले पोखरा घुम्न आएको बेला त्यो ठाउँ मन परेर २०२९ सालतिर रानी रत्न राज्यलक्ष्मीको नाममा बनाएका थिए । उक्त भवनमा ११ कोठा छन् । प्रशासनिक भवन, फेवातालसँगै तालघर, नेपाली सेनाका लागि ३८ कोठे लामो भवन रहेको छ । यहाँ राजपरिवारका सदस्य पोखरा आउँदा बस्ने गर्दथे । त्यही दरबार निर्माण भएपछि रानी वनको जन्म भएको हो, जुन २०१३ साल अघिसम्म खेती गर्ने पहाडको रूपमा थियो। दरबार बनाउने भएपछि त्यहाँका गाउँलेलाई त्यतिबेला उचित मुआब्जा र अन्यत्र जग्गा दिएर सारिएको थियो । तर, रानीवनस्थित अनदुका गुरुङ बस्ती भने त्यस ठाउँबाट सर्न मानेनन् । रानी वन लेकसाइडवासीका लागि घाँस दाउरा गर्ने वन थियो । राज्यले वन क्षेत्र बढाउनका लागि कडाइ गर्नुका साथै दाउराबाट ग्यासँ प्रयोगतर्फ लेकसाइड गएपछि भने ती स्थान जङ्गलै रूपान्तरण भएका थिए । अहिले त्यही जङ्गललाई पदमार्गको रूपमा विकास गरिएको छ, जसका लागि गण्डकी प्रदेश सरकारले वर्षेनी लाखौंको बजेट विनियोजन गरिरहेको छ ।

यसरी सुरु भयो ‘राउन्ड फेवा भ्यु फेवाको योजना’
राजाको दरबार बनेपछि बनमा परिणत रानीवनमा ८ वर्षअघिबाट पदमार्गको रुपमा सुरु गरिएको हो । विश्व पर्यटन दिवस मनाउने क्रममा तत्कालिन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष हरि भुजेलले गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र पर्यटन व्यवसायीलाई छोटो दुरीको पदयात्रामा लगेका थिए । पोखराको ड्यामसाइडदेखि मिउखोलासम्म हिँडाएर उनले तत्कालीन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, पर्यटनमन्त्री विकास लम्साल, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, उक्त निर्वाचन क्षेत्रका सांसद राजिव पहारी लगायतको टोलीलाई त्यहाँको इतिहासको बारेमा सुनाउँदै यसलाई पदमार्गको रूपमा विकास गर्ने प्रस्ताव अघि सारे । उनको त्यो प्रस्तावलाई गण्डकी प्रदेश सरकारले तत्कालै स्वीकार ग¥यो ।

कोरोना महामारीका कारण लकडाउन थियो । पदमार्गमा बढ्दो डोजर आतंकले विश्वकै उत्कृष्ट मानिएको अन्नपूर्ण पदमार्ग समेत अहिले धरापमा परिरहेको समयमा पर्यटनको बसाइ लम्ब्याउन उनै भुजेलले ‘राउन्ड फेवा भ्यु फेवा’ को अवधारणा अघि सारेका थिए ।

‘८ वर्ष अघि लकडाउनको समयमा पर्यटन दिवसमा मैले गण्डकी प्रदेश सरकारदेखि स्थानीय तहका सरकार र पर्यटन व्यवसायीलाई ड्यामसाइडदेखि हिँडाएर लगेको थिएँ । महेन्द्र राजा, विरेन्द्र राजा हुँदा फिस्टेल लज आउँदा तालको डिलैडिल हिडेर जानुहुन्थ्यो र डुंगा चढेरै पारी जानुहुन्थ्यो’ उनले थपे, ‘त्यसपछि प्रदेश सरकारले ५० लाख रुपैयाँ विनियोजन भयो, तर कोरोना महामारीका कारण हामीले सोचे जस्तो काम गर्न भने सकेनौं ।’

वन क्षेत्र भएकाले उक्त स्थानमा काम गर्न कठिन भएको थियो । सुरुमा थाहै नदिई पदमार्ग निर्माण गर्न सुरु गरेको थियो । खाली फेवातालबाट लेकसाइड आएर फेवातालको उत्तरी भगेबाट मात्रै हामीले हिमाल हेर्ने प्रवृत्तिको अन्त्य गर्दै तालभन्दा पारीबाट पनि निकै सुन्दर दृष्य देखिन्छ भन्ने चिनाउनका लागि यो पदमार्ग स्थापित हुन सक्छ। धेरै पर्यटकहरु ढुंगा चढ्न डराउने, गाह्रो मान्ने अवस्था छ । अझ विदेशीलाई हरेक समय रकम लाग्ने हिसाबले ताल पारि नगएको अवस्था रहेको भुजेल बताउँछन् । उनका धेरै विदेशी साथीहरु छन्, तर तिनीहरु ताल पारि नगएको अनुभव उनले गरेका छन् ।

‘हिजोको दिनमा लेकसाइडका स्थानीयले इन्धनको रुपमा घाँस दाउरा गर्ने जङ्गल हो । त्यो भन्दा पहिला हाम्रा पुर्खाहरुको जग्गा जमिन भएकै ठाउँ हो । खेती किसानी गरेर बसेको ठाउँ हो’ उनले भने, ‘मन्दिर बनाएपछि त्यो ठाउँका जनतालाई राज्यले सेवा सुविधा दिएरै अन्त सारिएको थियो । त्यतिबेला रानी वन जङ्गल बनाउनुभयो । म पनि सानो छँदा घाँस दाउरा गर्न त्यो जङ्गलभित्र भित्र गएको छु । कालान्तरमा इन्धनको रुपमा ग्यासँको प्रयोग हुँदै जाँदा त्यता मानिसहरु जान छाडे ।’
ड्यामसाइडबाट सुरु भएर अनदु गाउँ सम्म पुग्न सकिन्छ । त्यसबाट अझै अघि बढे चिहान घाट हुँदै माउरे पुगिन्छ । त्यसपछि चंखपुरतर्फ हुँदै पामेतर्फ निस्कन सकिन्छ । उत्कृष्ट गन्तव्य हुँदा हुँदै र राज्यले समेत प्राथमिकतामा पारिरहँदा समेत पदमार्गको प्रबद्र्धन हुन नसक्दा उनी चिन्ता व्यक्त गर्छन् ।

पदमार्ग मासिदै गर्दा यो नयाँ गन्तव्य बन्न सक्छ : कृष्ण आचार्य
पदमार्गमा बढ्दो डोजर आतंकको विरोध गर्दै आइरहेको ट्रेकिङ एजेन्सिज नेपाल (टान) का अध्यक्ष कृष्ण आचार्यले यो पदमार्ग हाइकिङ र ट्रेकिङका लागि उत्कृष्ट गन्तव्य हुने बताउँछन् । उनका अनुसार पदमार्ग ड्यामसाइडबाट सुरु गरी मियाखोला हुँदै चिसापानी र मार्की निकालिएको छ । यसको उद्देश्य नजिकको सहरबाट आधा घण्टाको दूरीमा पदमार्ग रहेको छ । जुन वनमा विभिन्न जनावरहरु, चराचुरुङ्गी देखिन्छन् भने अर्को महत्वपूर्ण कुरा भनेको उक्त स्थानबाट अन्नपूर्ण हिमशृंखलाको छायाँ फेवातालमा र लेकसाइड सहर देखिन्छ । त्यतिमात्र होइन लिची गार्डेनबाट, शान्ति स्तुप हुँदै शिव मन्दिरसम्म पुग्न सकिन्छ । मार्गी, बासकोट हुँदै पामेबाट पञ्चासे जान पनि सकिन्छ ।

‘विना सवारी सुरुवात गर्ने ट्रेल भनेको यही हो, ड्यामसाइडबाट सुरु गरेर मार्गी हुँदै पञ्चासेसम्म पनि जान सकिन्छ । पोखराबाटै हिँडेर अन्नपूर्णसम्म पुग्छु भन्नेका लागि पनि यो मार्ग आकर्षक हुन सक्छ । पदमार्ग भनेको ग्रामीण पर्यटनको आधार हो । हिजोका ढुङ्गे धारा र चौताराहरु आज मासिए’ उनले भने, ‘पदमार्गहरु बढ्दो डोजर आतंकका कारण धरापमा परेको छ । यो भनेको इतिहास हो । टान डोजर आतंकको विरोधमा छ । पुराना पदमार्गहरुलाई संरक्षणमात्रै होइन प्रवद्र्धन पनि गर्न आवश्यक छ । यो भनेको आगामी सन्ततिलाई हस्तान्तरण गर्ने सम्पदा हुन् । यी सम्पदा नरहेमा र प्रकृतिबाट टाढा रहेमा आगामी दिनमा ठूलो संकट निम्तिने देखिन्छ ।’

सूर्योदय र सूर्यास्त समेत यो स्थानबाट देखिन्छ । धेरै सङ्घर्षबाट पदमार्ग खोल्ने प्रयास भइरहेको छ । कतिपय स्थानमा काठले बनाइएका पुलहरु भाँचिएको र त्यसलाई निर्माण गर्नुपर्ने देखिन्छ । बीच–बीचमा प्रतिक्षालय र शौचालयको व्यवस्था गर्नुपर्ने देखिएको छ ।’

यसको प्रचारमा पर्यटन बोर्ड लाग्छ : मणि लामिछाने
नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणि लामिछानेले अहिले गण्डकी प्रदेशका पदमार्गहरु मासिँदै गर्दा राउन्ड फेवा भ्यु फेवा नयाँ पदमार्गको रुपमा विकास हुने सम्भावना रहेको बताउँछन् । अहिले धम्पुस, घोरेपानी, घान्द्रुकमा बढ्दो सडकका कारण पदयात्रा घटिरहँदा अन्नपूर्ण बेसक्याम्प जाने आदि बाटो समेत मासिसकेको सुनाउँदै यो अवस्थामा यो पदमार्गले पोखरामा पर्यटकको बसाइ लम्ब्याउन भूमिका खेल्न सक्नेछ । तर, यसका लागि भने आवश्यक प्रवद्र्धनको काम गर्नुपर्ने देखिएको छ । उनका अनुसार नेपाल आउने मध्ये ६०–७० प्रतिशत पर्यटक पोखरा आउँछन् । छोटो दूरीको घुम्नका लागि सहर नजिक शान्त वातावरणमा यो ठाउँ उपयुक्त हुने उनको भनाइ छ । ‘अन्तर्राष्ट्रिय स्तरमा यसलाई प्रवद्र्धन गर्न आवश्यक छ । विभिन्न निकायहरुसँग मिलेर त्यसलाई अझ बढी बुकलेटहरु विकास गर्छौं । पर्यटन बोर्डको अहिले योजना छैन’ उनले भने, ‘पूर्वाधारको काम राज्यले गर्छ हामीले गर्ने भनेको प्रचारको काम हो । यसलाई अब विश्वस्तरमा चिनाउनुपर्छ यसका लागि हामीले टानसँग सहकार्य गर्नेछौं । त्यो बाहेक पदमार्गको बीच बीचमा म्यापिङ (नक्साङ्कन) गर्ने काम हामी गर्छौं ।’ तर, पर्यटन बोर्ड जति गर्नुपर्ने हो त्यो मात्रामा काम गर्न सकेको भने देखिदैन ।

सरकारको लगानी, वार्षिक बजेट नै विनियोजन
यो अभियानलाई गण्डकी प्रदेश सरकारले खुलेरै साथ दिएको छ । हरेक वर्षको आर्थिक बजेटमा यो योजना नपरेका वर्ष छैनन् । फेवा ड्याम साइडस्थित वनस्पति पार्कबाट रानीवन हुँदै अनदुसम्मका लागि पदमार्ग बनाउन सरकारले ५० लाख रुपैयाँ बजेट छुट्ट्याएर काम सुरु गरेको थियो । उद्योग तथा पर्यटन मन्त्रालय गण्डकीका सूचना अधिकारी विमल प्रसाद गौतमका अनुसार चार आर्थिक वर्षमा राउन्ड फेवा भ्यु फेवाका लागि बजेट विनियोजन भएको छ ।

आर्थिक वर्ष २०७८/०७९ मा १५ लाख विनियोजन भएकोमा १३ लाख ३८ हजार रुपैयाँ खर्च भएको थियो । आर्थिक वर्ष २०७९/०८० मा बजेट विनियोजन हुन सकेन । त्यसपछिका आर्थिक वर्षहरुमा भने लगातार बजेट विनियोजन भएको गौतम बताउँछन् । २०८० सालमा ५० लाख विनियोजन हुँदा ४६ लाख ६१ हजार खर्च भएको थियो । ०८१ सालमा ५० लाखमा सबै खर्च हुँदा ०८२ सालमा ३० लाख रुपैयाँ विनियोजन भए पनि खर्च हुन सकेको छैन ।

पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेको अवस्थामा पर्यटकको बसाइ लम्ब्याउने किसिमका पर्यटकीय पूर्वाधार आवश्यक रहेका अवस्थामा निर्माण भएको यस पदमार्ग बहुउपयोगी देखिएको छ ।

पदमार्ग निर्माणसँगै पोखरामा आएका जो कोही पर्यटकले छोटो समयमा हिमाल, ताल, र पोखराबजारको दृश्यावलोकन गर्दै पदयात्रा गर्न पाउने छन् । पोखरालाई आधार बनाएर आसपासका अन्नपूर्ण आधार शिविर पदमार्ग, मर्दी हिमाल पदमार्ग, घोरेपानी, पुनहिल आदि पदमार्गमा यात्रा गर्न जाने पदयात्रीका लागि पनि पूर्वअभ्यासका लागि यो पदमार्ग उपयोगी बन्ने विश्वास लिइएको छ । यस पदमार्गलाई ड्याम साइडदेखि रानीवन, मेवाखोला हुँदै मार्गीसम्म पु¥याउने लक्ष्य लिइएको छ ।

यस्तै पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) की अध्यक्ष शोभा न्यौपाने पाण्डेले राउन्ड फेवा भ्यु फेवाले पोखराको पर्यटकको बसाइ लम्ब्याउनमा भूमिका खेल्ने बताइन् । पर्यटकीय राजधानी पोखराका लागि यो नयाँ पदमार्ग रहेको र यसको प्रबद्र्धन अवको आवश्यकता रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->