म्याग्दी/बेनी नगरपालिका–९ मा अवस्थित गलेश्वरधाम हिन्दू धर्मावलम्बीहरूको प्रमुख आस्थाको केन्द्रका रूपमा परिचित छ । विशाल एउटै करिब नौ रोपनी क्षेत्रफलमा फैलिएको चक्रशिलामाथि स्वयं उत्पन्न ज्योतिर्लिङ्ग रहेको यस स्थलमा दैनिक रूपमा देश–विदेशबाट भक्तजनहरूको ठूलो भीड लाग्ने गरेको छ । भारतसहित विभिन्न मुलुकबाट आउने तीर्थयात्रीहरूले गलेश्वरधामको दर्शन गर्छन ।
चर्चित गलेश्वरधाम पछिल्लो समय भने केही विवाद र व्यवस्थापनसम्बन्धी प्रश्नका कारण पनि चर्चामा आउन थालेको छ । स्थानीयवासी तथा तीर्थयात्रीहरूले गलेश्वर शिवालय क्षेत्र विकास कोषले आफ्नो जमिन र संरचनाको संरक्षणमा कमजोरी देखाएको तथा यहाँ सञ्चालन हुँदै आएको गुरुकुल शिक्षा परम्परा हटाएको आरोप लगाउँदै आएका छन् ।
पौराणिक जनश्रुतिअनुसार भगवान् शिवले सतीदेवीको मृत शरीर बोकेर पृथ्वी भ्रमण गर्ने क्रममा यसै स्थानमा गला पतन भएपछि ‘गलेश्वर’ नाम रहन गएको विश्वास गरिन्छ । यही धार्मिक आस्थासँग जोडिएको स्थलमा वि.सं. २०२६ सालदेखि गुरुकुल शिक्षाको सुरुवात भएको थियो । घतानका गिरीराज सुवेदी, टिकानन्द सुवेदी, पात्लेखेतका जगन्नाथ पौडेल, श्रीदत्त पौडेल, तीनमानेका देवीप्रसाद सुवेदी तथा पुलाका गोपाल सुवेदीले अध्ययन सुरु गरेसँगै यहाँ गुरुकुल शिक्षाको सुरुवात भएको टिकानन्द सुवेदीले बताए । तर गुरुकुल विभिन्न समयमा अवरोध झेल्दै अन्ततः बन्द भएको छ ।
वि.सं. २०२८ मा गुरुकुललाई संस्थागत गर्न सरकारसमक्ष दरबन्दी माग गरिएको थियो । २०२९ मा नयाँ शिक्षा नीति लागू भएपछि विद्यालय सञ्चालनका लागि अनुमति दिने जानकारी प्राप्त भएको र २०३१ मा गलेश्वर निम्न माध्यमिक विद्यालय सञ्चालनको अनुमति समेत प्राप्त भएको थियो । तर अनुमति दुरुपयोग भई तोरीपानीमा विद्यालय स्थापना गरिएपछि गलेश्वरमा गुरुकुल सञ्चालन प्रभावित भएको स्थानीय सुवेदी बताउँछन् । त्यसपछि २०३२ देखि २०४० सम्म गुरुकुल पूर्ण रूपमा बन्द रह्यो ।
पछि स्थानीय पहलमा २०४२ सालमा धान्याञ्चल आयोजना गरी २०४३ सालदेखि गुरुकुल पुनः सञ्चालनमा आएको थियो । कमलनयन वेदमा विद्यावारिधि गरेका गुरु पुरुषोत्तम र रङ्गराजलगायतले अध्यापन गराएको पण्डित भीमनाथ शर्माको भनाई छ । २०४८ मा स्थानीयले व्यवस्थापन सम्हालेका र वि.सं. २०५६ मा विराट महायज्ञ सम्पन्न भए पनि त्यसपछि फेरी ३ वर्ष गुरुकुल अवरुद्ध भयो । २०५९ देखि पुनः सञ्चालनमा आएको गुरुकुलमा मुगु, स्वर्गद्वारी र काठमाडौंबाट बटुकहरु ल्याई अध्ययन गराइएको शर्माको भनाई छ । २०७४÷०७५ मा गुरुकुललाई बिस्थापन गरी स्थानीय जडभरत प्राथमिक विद्यालयमा गाभिएपछि परम्परा झन्डै समाप्त भएको स्थानीयहरूको गुनासो छ ।
स्थानीयवासीहरूले गलेश्वरधाम जस्तो धार्मिक केन्द्रमा गुरुकुल शिक्षा पुनः सञ्चालनका लागि पहल गर्नुपर्ने आवश्यकता औँल्याएका भए पनि अग्रसरता लिएर काम गर्न आँट कसैले गरेको छैन् । गलेश्वर शिवालय क्षेत्र विकास कोषले यसप्रति उदासिनता देखाउँदा यहाँ गुरुकुलिय पद्धतीको अध्ययनअध्यापन नामेट प्राय भएको हो ।
धार्मिक यात्रामा आएका झापा दमकस्थित सुवेक्षा किर्तन मण्डलीका लक्ष्मीप्रसाद सुवेदीका अनुसार गुरुकुलले धर्म र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको थियो, तर अहिले त्यो परम्परा हराउनु चिन्ताजनक छ । स्थानीयवासीहरूले गलेश्वरधामजस्तो धार्मिक केन्द्रमा गुरुकुल पुनः सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए पनि ठोस पहल हुन सकेको छैन । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधव रेग्मीले भने कसैले विद्यार्थी खोजेर ल्याइदिए गुरुकुल सुरु गर्ने बताए ।
यता गलेश्वर शिवालय क्षेत्र विकास कोषले भने मन्दिर क्षेत्रमा विभिन्न पूर्वाधार निर्माण गरिएको जनाएको छ । कोषका कार्यालय सचिव तेजेन्द्र बहादुर खत्रीका अनुसार मुख्य मन्दिर, सत्संग भवन, पूजा–हवन कुण्ड, १०८ शिवलिङ्ग, जलबराह ताल, धार्मिक पुस्तकालय तथा शाकाहारी भोजनगृह लगायतका संरचना निर्माण गरिएका छन् । भक्तजनका लागि अन्नक्षेत्र र बसोबासको व्यवस्था समेत गरिएको कोषका सदस्यसचिव सम्मरबहादुर थापाले जानकारी दिए ।
कोषका अध्यक्ष रेग्मीका अनुसार गलेश्वर महत्वपूर्ण शक्तिपीठका रूपमा स्थापित छ र मुक्तिनाथधामको प्रवेश मार्गका रूपमा पनि यसको विशेष महत्व रहेको छ । यहाँ रहेको जलकुण्डमा कहिल्यै पानी नसुक्ने र यसको स्रोतसमेत अज्ञात छ । उनी भन्छन्, ‘गलेश्वर शिवालयको स्वयंउत्पत्ती भएको ज्योतिर्लिङ्ग हो र यहाँ प्राणप्रतिष्ठा बिनानै पुजा हुन्छ । अन्यत्रका मन्दिरहरु निर्माण भएपछि प्राणप्रतिष्ठा गर्नुपरे पनि यहाँ त्यसो गर्नुपर्दैन ।’
मन्दिरका मूल पुजारी चन्द्रमणी आचार्यका अनुसार गलेश्वरधाममा वि.सं. २०४४ सालदेखि अखण्ड दीप प्रज्वलित छ, जुन अहिलेसम्म निभेको छैन । उनका अनुसार यामप्रसाद आचार्य मूल पुजारीका रूपमा आएपछि दीप बालिएको हो ।
वर्षेनी पाँच लाखभन्दा बढी भक्तजनले दर्शन गर्ने गलेश्वरधामको व्यवस्थापन, संरक्षण र विकास अझै महत्वपूर्ण विषय बनेको छ । १६५ रोपनी गुठी जग्गामध्ये ५६ रोपनी मात्र कोषको नाममा रहेको बताइँदा सम्पत्ति संरक्षणमा देखिएको उदासीनता पनि प्रश्नको विषय बनेको छ । अध्यक्ष रेग्मीले यस विषयमा गुठी संस्थानसंग कुरा गर्दा विगत नखोज्नु तर हाल भएको जोगाउनु भन्ने जवाफ आएको बताए ।
धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण गलेश्वरधाममा गुरुकुल पुनः सञ्चालन, सम्पत्ति संरक्षण र प्रभावकारी व्यवस्थापनका लागि ठोस पहल आवश्यक देखिएको छ ।





