आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

नाम मात्रैको जैविक विविधता उद्यान

नाम मात्रैको जैविक विविधता उद्यान

जैविक विविधता संरक्षण, अनुसन्धान तथा पर्यावरणीय पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित स्थापना गरिएको उद्यान न्यून बजेट र जनशक्ति अभावका कारण प्रभावकारी रूपमा सञ्चालनहुन सकेको छैन ।


  • लालप्रसाद शर्मा
  • बैशाख १० २०८३, बिहिबार

पोखरा/पोखराको रानीवनस्थित विश्वशान्ति जैविक विविधता उद्यानको सम्पर्क कार्यालयमा पुग्दा दृश्य अलि फरक र टिठलाग्दो देखिन्छ । कार्यालय प्रमुख उद्यान अधिकृत धर्मराज कोइराला आफैँ हातमा इनामेल र ब्रस बोकेर बसेका हुन्छन् । सानासाना बोर्डहरूमा वनस्पतिहरूको स्थानीय र वैज्ञानिक नाम लेख्न व्यस्त भेटिन्छन् उनी । तर उनको काम भने होइन यो ।

गण्डकी प्रदेश र पर्यटनको राजधानी पोखराको महत्वपूर्ण सम्पदाका रूपमा रहेको यो उद्यान ‘नाममात्र’को बनेको छ । कतिपय पोखरेली र संघसंस्थालाई यसबारेमा जानकारी समेत छैन् ।

वनस्पति विभागअन्तर्गत रहेको उद्यान हालसम्म सम्पर्क कार्यालयको रूपमा खुम्चिएको छ । १६४.७६ हेक्टर क्षेत्रफलमा फैलिएको यस उद्यानको लक्ष्य र उद्देश्य जति बृहत् छ, यसको वर्तमान अवस्था र सरकारी प्राथमिकता भने निकै न्यून देखिन्छ । हाल वार्षिक २ देखि ३ लाख रुपैयाँ मात्र बजेट आउने गरेको र यसले उद्यानको संरक्षण र विकास भन्दा पनि सामान्य कार्यक्रमको खर्च धान्न मात्र ठिक्क हुने गरेको छ । ‘लक्ष्य ठूलो भएपनि बजेट अभावले काम गर्न सकिएको छैन्,’ अधिकृत कोइरालाले भने, ‘कार्यालय गुमनाम जस्तै छ । तर पनि हामीले हाम्रो तर्फबाट सक्दो प्रयास गरिरहेका छौ ।’

ऐतिहासिक रूपमा ‘बनपाले डाँडा’ का नामले चिनिने रानीवन कुनै बेला नाङ्गो डाँडा थियो । राजा महेन्द्रले रत्नमन्दिर दरबार निर्माण गरेपछि यस क्षेत्रको हरियाली विकास गर्ने उद्देश्यले स्थानीयलाई विस्थापित गरी वृक्षरोपण गरी ‘रानीवन’ नामकरण गरिएको थियो । २०३० सालदेखि संरक्षण सुरु गरिएको यो वन क्षेत्र जैविक विविधताका हिसाबले निकै धनी मानिन्छ । यहाँ करिब २०० प्रजातिका वनस्पति, विभिन्न वन्यजन्तु र चराचुरुङ्गीहरू पाइन्छन् । विशेष गरी सुनाखरी र उन्यूका लागि यो क्षेत्र प्रख्यात छ । वनको संरक्षणको लागि २०३० सालदेखि नै ५ जना वन रक्षकको पद व्यवस्थापन गरिएको थियो ।

फेवातालको दक्षिण–पश्चिम भागमा अवस्थित यो उद्यानलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके पोखरा आउने पर्यटकको बसाइ कम्तीमा एक रात लम्ब्याउन सकिने सम्भावना भए पनि पूर्वाधार निर्माणको काम सुस्त हुँदा नाम मात्रको उद्यान हुन पुगेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी बताउँछन् । ‘उद्यानलाई व्यवस्थित र लक्ष्य, उद्देश्य अनुसार सञ्चालन गर्न संघीय सरकारले आवस्यक बजेट र कार्ययोजना ल्याउनु पर्छ’, पहारीले भने, ‘सोहीअनुसार पूर्वाधार बनाएर पर्यटकलाई कम्तीमा एक दिन भएपनि बसाई लम्बाउने वातावरण बनाउनु पर्छ । उचित लगानी र संरक्षणको अभावमा यो महत्वपूर्ण उद्यान सरकारी फाइल र नाममा मात्र सीमित राख्न हुँदैन ।’

उद्यानमा स्थायी दरबन्दी अनुसारका प्राविधिक कर्मचारी छैनन् । एकजना स्थायी अधिकृतको भरमा चलेको कार्यालयमा सुरक्षा गार्ड, कार्यालय सहयोगी र कम्प्युटर अपरेटर सबै अस्थायी छन् । सहायक बोटानिकल र खरीदार जस्ता प्राविधिक कर्मचारीको दरबन्दी भएपनि छैनन् । यसले वनस्पतिको अध्ययन र अनुसन्धानका कामहरू प्रभावित भएका छन् । सीमित स्रोत र साधनका बाबजुद अधिकृत कोइरालाले सूचना केन्द्र स्थापना गर्ने, वनस्पति पहिचान गर्ने र बिरुवा उत्पादन गर्ने काममा सक्रियता देखाएपनि सरकारी बेवास्ताका कारण ठूला योजनाहरू कागजमै सीमित छन् ।

अहिले पनि वन विज्ञान र विद्यालय तहका विद्यार्थीहरू यहाँ वनस्पति पहिचान र पदयात्राका लागि आउने गरेका छन् । उद्यानको गेटबाटै सुरु हुने करिब २ किलोमिटरको ‘इको ट्रेल’ पदयात्रा गरेर विश्वशान्ति स्तूपसम्म पुग्न सकिने र यहाँबाट देखिने प्राकृतिक दृश्यले पर्यटकलाई लोभ्याउने गर्दछ । यदि सरकारले यसलाई ललितपुरको गोदावरी उद्यान जस्तै स्थायी कार्यालयका रूपमा विकास गरी पर्याप्त बजेट र जनशक्ति उपलब्ध गराउने हो भने यो गण्डकी प्रदेश मात्र नभई नेपालकै एक प्रमुख शैक्षिक र पर्या–पर्यटकीय हब बन्न सक्ने देखिने कोइराला बताउँछन् ।

हाल उद्यानमा विभिन्न वनस्पतिहरूको लेबलिङ र ट्यागिङ, विद्यार्थीलाई वनस्पति पहिचान सम्बन्धी अभ्यास, सानो स्तरको रक गार्डेन स्थापना तथा फूलका बिरुवा उत्पादन जस्ता काम भइरहेका छन् । तर यो निकै न्यून छ ।

पर्यटनको केन्द्र पोखरामा रहेको यस उद्यानलाई व्यवस्थित रूपमा विकास गर्न सके पर्यटकको बसाइ अवधि बढाउन सकिने तथा यसलाई शैक्षिक तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्न सकिने विज्ञहरू बताउँछन् । पर्यटन बोर्ड पोखराका प्रमुख मणी लामिछानेले सरकारले पर्याप्त बजेट, जनशक्ति र दीर्घकालीन योजना उपलब्ध गराउन सकेमा यो उद्यान जैविक विविधता संरक्षणसँगै पर्यावरणीय पर्यटन प्रवद्र्धनको महत्वपूर्ण केन्द्र बन्न सक्ने देखिने बताए । ‘अहिले पनि कतिपयलाई यस्तो महत्वपूर्ण उद्यानका बारेमा थाहै छैन’, प्रमुख लामिछानेले भने, ‘पर्यटन बोर्डलगायत पोखराका पर्यटन संघसंस्थासंग उद्यानले आवस्कय छलफल गरी यसको उजागर गर्दै अघि बढ्नु पर्ने देखियो । यसका लागि सहयोग गर्न तयार छौ ।’

तत्कालिन पोखरा पर्यटन संघ, वल्र्ड भिजन इन्टरनेशनल, रानीवन वरपर बसोबास गर्ने समुदायहरू, जिल्ला वन कार्यालय, पोखरा र वनस्पति स्रोत विभाग, थापाथली काठमाडौँले यस प्रस्तावमा चासो देखाएपछि उद्यान प्रक्रिया अघि बढेको थियो ।

नेपाल सरकारको ०६७ साउन ११ को मन्त्रिपरिषद्को निर्णयले उद्यान स्थापना र व्यवस्थापन गर्ने कार्यादेश दिएको थियो । यो वन जिल्ला वन कार्यालय, कास्कीले पूर्ण संरक्षित वनको रूपमा व्यवस्थापन गर्दै आएको थियो । अन्तर्राष्ट्रिय वन वर्ष, २०११ को अवसरमा साविक पुम्दीभुम्दी गाविस–१ मा राष्ट्रिय वनको १६४.७६ हेक्टर क्षेत्रमा उद्यान बनाउने सूचना २०६८ भदौ १९ को नेपाल सरकारको राजपत्रमा प्रकाशित भएको थियो । सोही बेलादेखि रानीवन विश्वशान्ति जैविक विविधता पार्कमा परिणत भएको हो । उद्यानको २०६९ फागुन ४ मा उद्घाटन गरिएको थियो ।

उद्यान वन तथा भू–संरक्षण मन्त्रालय, नेपाल सरकारको वनस्पति विभागको व्यवस्थापनमा रहेको र यो सम्पर्क कार्यालय २०७० माघ २ गते स्थापना भएको हो ।

योे नेपालको पहिलो जैविक विविधता उद्यान हो । यो उद्यानले विशेषगरी पुष्प विविधताको संरक्षणमा जोड दिने उद्देश्य राखेको कोइराला बताउँछन् । साथै जैविक विविधतालाई वनस्पति र जीवजन्तुको जीवन्ततामा सुधार गर्ने मात्र नभई समुदायको सामाजिक र आर्थिक आवश्यकताहरूलाई पनि सम्बोधन गर्ने तरिकाले व्यवस्थापन गर्ने लक्ष्यसमेत यसले राखेको छ ।

जंगल, वनस्पति, वन्यजन्तु र प्राकृतिक वातावरणसहित रानीवनको जैविक विविधताको संरक्षण गर्ने, वन्यजन्तुको संरक्षण र बासस्थान व्यवस्थापन र पुनस्र्थापनामा अनुसन्धानको लागि ध्यान केन्द्रित गर्ने, घरेलु साथै अन्तर्राष्ट्रिय पर्यटन विकासमा सहयोग पु¥याउने, जैविक विविधताको अध्ययन र अनुसन्धान गर्ने आन्तरिक र बाह्य पर्यटकहरुको लागि पर्यावरण–मैत्री मनोरञ्जन स्थलको रूपमा विकास गर्ने, एक हजारभन्दा बढी प्रजातिहरूको बिरुवा संग्रह गर्ने उद्देश्यसमेत यसका रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->