पर्वत/जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा रहेको मोदीबेणी धाम हिन्दु धर्मावलम्बीहरूको आस्थाको केन्द्र हो । नयाँ वर्षको दिन होस वा सङ्क्रान्ति, एकादशी होस वा व्रत बस्दाको दिन, जहिले पनि कालीगण्डकी नदीमा स्नान गर्नेहरूका कारण मोदीबेणी धाम भरिभराउ हुने गरेको छ ।
जीवितहरूले स्नान गरेर दिवङ्गत बनेपछि खोज्ने सहज बाटो मात्रै होइन, पार्थिव शरीरहरूलाई कालीगण्डकी नदीको जलमा छुवाएर अन्तिम संस्कार गर्नेहरूका कारण पनि कालीगण्डकी नदी अन्तर्गत मोदीबेणीधाम पर्वतमा मात्रै नभएर अन्य जिल्लाका लागि पनि लोकप्रिय छन् । विशेष दिनहरूमा स्नान गर्न आउनेहरूको तुलनामा मृत शरीरको अन्तिम संस्कार गर्न आउनेहरूका कारण भने यही धाम फोहोर र दुर्गन्धको सिकार बेला बेलामा हुने गरेको छ ।
खौरिएको कपाल, पानीका बोतल, यत्रतत्र फालिएका ब्लेड, अन्तिम संस्कारको बेलामा नजलेर बाँकी रहेका दाउराका अवशेष लगायतले तीर्थस्थलको रूपमा रहेको घाटले सरसफाइ मागिरहेको हुन्छ । यही परिवेशलाई ध्यानमा राखेर सदरमुकाम कुश्माका युवाहरूले मोदीबेणी धामको सरसफाइ अभियान सुरु गरेका छन् । विशेषतः फुर्सदको दिन पनि हुने भएकोले शनिबारको दिनलाई सृजनशील बनाउने र मोदीबेणी धाम मात्रै नभएर जिल्लाका अन्य सार्वजनिक स्थलहरूको सरसफाइमा सबैलाई आकर्षण गर्नको लागि गत शनिवारदेखि यो अभियान थालिएको हो ।
युवाहरू संलग्न रहेको शिवालय युवा विकास मञ्च र कालीगण्डकी बचाऔँ अभियानको संयुक्त आयोजनामा भएको सरसफाइ अभियानमा यी संस्थाहरूमा आबद्ध रहेकाहरूसहित सर्वसाधारणहरूको पनि सहभागिता रहेको थियो । बिदाको दिनलाई सृजनशील बनाउनको लागि तथा घाट, तीर्थस्थल, मन्दिर, बाटा, गुम्बा, चौतारी, पाटी पौवा लगायतको सरसफाइको अभियान चलाउँदा गाउँ गाउँका युवाहरूमा पनि सकारात्मक सोच र सामाजिक कार्यप्रतिको जिम्मेवारी बढ्ने भएकोले यो अभियान सुरु गरिएको कालीगण्डकी बचाऔँ अभियानका अभियन्ता आर.के अदिप्त गिरीले बताए ।
‘धार्मिक होस या प्राकृतिक स्थलमा पर्यटक आए, फोहोर ल्याए । पछिल्लो समय ‘हाइकिङ’ र ‘ट्रेकिङ’को चलन बढिरहँदा पदमार्ग र पर्यटकीय गन्तव्यहरू ‘प्लास्टिक ट्रेल’ बन्ने जोखिममा छन् । धर्म घाटहरू मलमूत्र, दोहन र प्लास्टिकले भरिएका छन्’, उनले भने, ‘नेपालीहरूमा पनि पछिल्ला दिनमा घुमफिर गर्ने संस्कृति विकास भए पनि यात्रा सभ्यता र पर्यावरणीय चेतना पटक्कै देखिएन । सरकार वा संस्थाहरूले फोहोर उठाउनु भन्दा पनि नागरिक आफै सभ्य भई जथाभाबी नफाल्ने, प्लास्टिकजन्य फोहोर सम्पदा स्थलमा नलैजाने र आफ्नो फोहोर आफैले बोकेर तोकिएको स्थानमा विसर्जन गर्न सिक्नै पर्छ भन्ने सन्देशका लागि यो अभियान थालेका हौँ ।’
पर्यटकीय स्थल हुन या सार्वजनिक सम्पदा स्थल वातावरणको हिसाबले झन् बढी संवेदनशील भएको हुँदा तीनै तहका सरकारले प्लास्टिक बोतल, झोलाजस्ता प्लास्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध लगाउनुपर्छ र सचेतता अभियान चलाउनुपर्ने उनको भनाइ छ ।
पौराणिक कालदेखि नै धर्म, आस्था र संस्कृतिको केन्द्रका रूपमा परिचित रहेको कालीगण्डकी नदी किनारमा सरसफाइ अभियान सञ्चालन गर्दा यसको संरक्षण र महत्वमा थप बल पुग्ने भएकोले अन्तिम संस्कार गरिने स्थलबाट नै कालीगण्डकीको सरसफाइ थालिएको हो । शिवालय युवा विकास मञ्चका सहसचिव सन्दीप बस्यालले बताए । भगवान् विष्णुको चौथो अवतार ‘नृसिंह मन्दिर’ समेत रहेको यो तीर्थस्थललाई मुक्तिनाथपछिको महत्त्वपूर्ण तथा कालीगण्डकी सभ्यतासँग जोडिएकाले पनि यो अभियान महत्त्वपूर्ण रहेको उनको भनाइ छ ।
शवदाहस्थल प्लास्टिकजन्य बस्तुले कुरूप बन्दा सुन्दरता हराउनुको साथै पर्यावरणमा पनि गम्भीर असर परिरहेको छ । मोदीबेणी, कालीगण्डकी र शालिग्राम शिलाको अस्तित्व रक्षाको लागि आफूहरूले यो अभियान थालेको सरसफाइमा सहभागी युवाहरूले बताएका छन् ।





