पोखरा/संविधान गतिशील राजनीतिक दस्तावेज रहेको भन्दै राष्ट्र र जनताको हितलाई केन्द्रमा केन्द्रमा राखेर संविधान संशोधन गर्नुपर्नेमा जोड दिइएको छ ।
राष्ट्रिय जनमोर्चा, कास्कीद्वारा बुधवार पोखरामा आयोजित ‘संविधान संशोधनको सन्दर्भमा गणतन्त्र र राष्ट्रियता’ विषयक अन्तरक्रियाका वक्ताहरूले आवश्यकता र औचित्यका आधारमा संविधानलाई परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिए ।
उक्त विषयमा अवधारणापत्र प्रस्तुत गर्दै राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले राजनीतिक र जनस्तरमा बहृत् छलफल गरेर मात्र संविधान संशोधनका विषयलाई अगाडि बढाउनुपर्ने बताइन् । ‘संविधान संशोधन जटिल तथा जोखिमपूर्ण तर मुलुकका लागि अत्यावश्यक प्रक्रिया हो’, उनले भनिन्, ‘संविधान संशोधनको उठान र अवतरण सही ढङ्गबाट हुन जरुरी छ ।’
मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षाको प्रश्न तथा गणतन्त्रको सुदृढीकरणको विषयलाई केन्द्रमा राखेर संविधान संशोधनको विषयलाई अगाडि बढाउनुपर्ने उनले बताइन् । पौडेलले सरकारले गठन गरेको संविधान संसोधन कार्यदलका संयोजक नै संविधान बिरोधी रहेको दावी गरिन् । उनले भनिन्, ‘सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र निर्माण कार्यदल’को संयोजकमा नियुक्त गरिएको व्यक्ति उच्चस्तरको नैतिक चरित्र र संवैधानिक कानूनको क्षेत्रमा उच्च ज्ञान नभएको र राजा आउ देश बचाउ अभियानमा संलग्न भएकाले कयौं प्रश्न र आशंका पैदा गरेको छ ।’
संविधान निर्माण वा संशोधन एउटा जटिल तथा जोखिमपूर्ण तर मुलुकका लागि अत्यावश्यक प्रक्रिया रहेको भन्दै उनले संशोधन प्रक्रियामा त्रुटि भएमा ऐतिहासिक जनआन्दोलनबाट प्राप्त उपलब्धि गुम्ने खतरा रहेको बताइन् ।
नेपाली कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्माले संघीयता नै वास्तविक प्रजातन्त्र रहेको सुनाउँदै अहिलेको कार्यदलप्रति आशंका व्यक्त गरे । मुलुकले विभिन्न चरणमा गरेको आन्दोलन र तमाम नेपालीको संघर्ष र बलिदानबाट प्राप्त संविधानलाई कसैले पनि लत्याउन नमिल्ने उनको धारणा छ ।
उनले संविधानमा जनता, परम्परा र राष्ट्रिय शक्तीलाई उपेक्षित गर्न नहुने सुझाव दिए । साथै जुनसुकै विधान आएपनि जनताको हितमा नभए त्यसको परिणाम नराम्रो हुने सुनाए । उनले भने, ‘संघीयता खारेजीबारे हामी सोच्न सक्देनौं बरु यसलाई कसरी सुधार गर्नुपर्छ त्यसतर्फ ध्यान दिन जरुरी छ ।’
नागरिक समाजका प्रतिनिधि विष्णु बरालले जडता र यथास्थितिवादी ढङ्गबाट मुलुक र जनताको आकङ्क्षा पूरा नहुने भन्दै समयसोपक्ष रूपमा संविधानलाई परिमार्जन गर्नुपर्ने धारणा राखे । कार्यक्रममा नेकपा (एमाले) का नेता राजीव पहारी, नेपाली कम्युनिष्ट पार्टीका नेता श्रीनाथ बराल, नेपाल कम्युनिष्ट पार्टीका नेतृ सावित्री बुढालगायतले भनाइ राखेका थिए ।





