आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

गण्डकीमा बाल मृत्युदर देशकै न्यून तर ४० प्रतिशत बालबालिकाका आमाबाबु विदेशमा

गण्डकीमा बाल मृत्युदर देशकै न्यून तर ४० प्रतिशत बालबालिकाका आमाबाबु विदेशमा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २ २०८३, शनिबार

पोखरा/गण्डकी प्रदेशले स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधारका क्षेत्रमा देशकै उत्कृष्ट नतिजा हासिल गरेको भए पनि वैदेशिक रोजगारीका कारण सिर्जित सामाजिक अवस्था र पिउने पानीको गुणस्तरमा भने गम्भीर चुनौती देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) नेपालको सहयोगमा सञ्चालन गरेको नेपाल बहुसूचक सर्वेक्षण २०८१÷८२ को प्रादेशिक प्रतिवेदनले यस्तो देखाएको हो ।

प्रतिवेदन अनुसार गण्डकी प्रदेश धेरैजसो मानवीय विकासका सूचकहरूमा देशका अन्य प्रदेशभन्दा अगाडि देखिएको छ । तर, परिवारका खम्बा मानिने आमाबाबु घरमा नहुँदा बालबालिकाको सामाजिक संरक्षणमा नयाँ चुनौती थपिएको संकेत प्रतिवेदनले गरेको छ । सकारात्मक सूचकहरूका बीच यस सर्वेक्षणले गण्डकी प्रदेशका दुईवटा डरलाग्दा पाटाहरू पनि उजागर गरेको हो । प्रदेशमा १७ वर्षमुनिका बालबालिकाहरूमध्ये ४०.८ प्रतिशतका जन्म दिने आमाबाबु (एक वा दुवै) वैदेशिक रोजगारीका लागि विदेशमा बसोबास गरिरहेका छन् । यो दर नेपालका सातै प्रदेशमध्ये सबैभन्दा उच्च हो । बागमती प्रदेशमा यो दर सबैभन्दा कम २१ प्रतिशतमात्र छ । त्यस्तै २.६ प्रतिशत बालबालिकाले आफ्ना एक वा दुवै अभिभावक गुमाइसकेको सर्वेक्षणले जनाएको छ ।

प्रदेशले बालबालिकाको जीवन रक्षा र आधारभूत सुविधा पु¥याउने सवालमा ऐतिहासिक सफलता प्राप्त गरेको छ । प्रदेशमा ५ वर्षमुनिका बालबालिकाको मृत्युदर प्रति १,००० जीवित जन्ममा २० जना मात्र रहेको छ, जुन देशभरिका सातै प्रदेशमध्ये सबैभन्दा न्यून (उत्कृष्ट) हो । सुदूरपश्चिम प्रदेशमा यो दर ४८ रहेको छ। गण्डकीमा नवजात शिशु मृत्युदर र शिशु मृत्युदर प्रति एक हजारमा १४ र २० रहेको तथ्याङ्कले देखाएको छ । राष्ट्रिय स्तरमा भने प्रति हजार जीवित जन्ममा ३१ जना पाँच वर्षमुनिका बालबालिकाको मृत्यु हुने गरेको छ ।

सर्वेक्षणले गण्डकी प्रदेशमा विद्युत, सञ्चार र इन्टरनेट पहुँचमा उल्लेखनीय सुधार भएको देखाएको छ । प्रदेशका ९९.५ प्रतिशत घरपरिवार निरन्तर विद्युत सेवामा पहुँच भएका छन् भने ९६.९ प्रतिशत घरपरिवारमा टेलिफोन सुविधा पुगेको छ । त्यस्तै ८७.५ प्रतिशत घरपरिवारले इन्टरनेट सेवा प्रयोग गर्ने गरेको पाइएको छ ।

स्वास्थ्य क्षेत्रतर्फ गण्डकी प्रदेशमा संस्थागत प्रसूति तथा स्वास्थ्य सेवाको पहुँच राष्ट्रिय औसतभन्दा राम्रो देखिएको छ । सर्वेक्षणअनुसार प्रदेशका ९७.३ प्रतिशत महिलाले स्वास्थ्य संस्थामै प्रसूति गराएका छन् भने ९६.६ प्रतिशतले दक्ष स्वास्थ्यकर्मीको सहयोग लिएका छन् । चार पटकभन्दा बढी गर्भ परीक्षण गराउने महिलाको प्रतिशत ९५.५ रहेको छ ।

बाल स्वास्थ्य तथा पोषणतर्फ पनि गण्डकी सकारात्मक अवस्थामा रहेको प्रतिवेदनले देखाएको छ । पाँच वर्षमुनिका बालबालिकामध्ये लिखुरे ११.८ प्रतिशत र पुड्को २१.३ प्रतिशत रहेका छन्, जुन राष्ट्रिय औसतभन्दा कम हो । उचाइअनुसार तौल कम भएका (ख्याउटे) बालबालिका ४.६ प्रतिशत रहेका छन् । त्यस्तै १२ देखि २३ महिनाका ९५.५ प्रतिशत बालबालिकाले जीवनको पहिलो वर्षभित्र आधारभूत खोप प्राप्त गरेका छन् । झाडापखालाको समस्या भएका बालबालिकाको प्रतिशत ५.६ रहेको छ भने श्वासप्रश्वास सम्बन्धी लक्षण भएका बालबालिका १.३ प्रतिशत रहेका छन् । त्यस्तै १२ देखि २३ महिनाका ९५.५ प्रतिशत बालबालिकाले आधारभूत खोप प्राप्त गरेका छन् ।

शिक्षातर्फ गण्डकी प्रदेशमा विद्यालय बाहिर रहेका बालबालिकाको संख्या राष्ट्रिय औसतभन्दा न्यून देखिएको छ। कक्षा १–५ मा ०.४ प्रतिशत, कक्षा ६–८ मा ०.६ प्रतिशत तथा कक्षा ९–१२ मा ८.२ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेका छन्। प्रारम्भिक बाल शिक्षा कार्यक्रममा सहभागी हुने बालबालिकाको प्रतिशत ८०.५ रहेको प्रतिवेदनमा उल्लेख छ ।

सुर्तीजन्य पदार्थ सेवनमा अझै चुनौती
१५ देखि ४९ वर्ष उमेर समूहका १८.६ प्रतिशत व्यक्तिले गण्डकी प्रदेशमा कुनै न कुनै प्रकारको सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको बताएका छन्। त्यस्तै ४ प्रतिशत व्यक्तिले १५ वर्ष नपुग्दै चुरोट वा विंडी सेवन सुरु गरेको सर्वेक्षणले देखाएको छ ।

सर्वेक्षणअनुसार गण्डकी प्रदेशमा कुल प्रजनन दर प्रति महिला १.५ जीवित जन्म रहेको छ, जुन राष्ट्रिय औसत १.९ भन्दा कम हो ।

१५–१९ वर्ष उमेर समूहका किशोरीको प्रजनन दर प्रति हजारमा ४६ रहेको छ। २०–२४ वर्ष उमेर समूहका महिलामध्ये १२ प्रतिशतले १८ वर्ष नपुग्दै बच्चा जन्माइसकेको देखिएको छ।प्रदेशमा २७.५ प्रतिशत प्रसूती सिजेरियनमार्फत् गरिएको तथ्याङ्कले देखाएको छ ।

बालबिवाहको चुनौती
गण्डकी प्रदेशमा पाँच वर्षमुनिका ८९.२ प्रतिशत बालबालिकाको जन्मदर्ता भएको छ । ९३.२ प्रतिशत अभिभावकलाई जन्मदर्ता प्रक्रिया सम्बन्धी जानकारी रहेको पाइएको छ ।

बालश्रममा संलग्न ५–१७ वर्ष उमेर समूहका बालबालिकाको प्रतिशत ७.६ रहेको छ, जुन राष्ट्रिय औसतभन्दा कम हो ।

प्रदेशमा २०–२४ वर्ष उमेर समूहका महिलामध्ये ४.७ प्रतिशतले १५ वर्ष नपुग्दै विवाह गरेको पाइएको छ भने २१.५ प्रतिशतले १८ वर्ष नपुग्दै विवाह गरेको सर्वेक्षणले देखाएको छ ।

मानसिक स्वास्थ्यमा पनि उस्तै
पहिलो पटक किशोरकिशोरीको मानसिक स्वास्थ्यसम्बन्धी तथ्याङ्क पनि संकलन गरिएकोमा गण्डकी प्रदेशमा १५–२४ वर्ष उमेर समूहका ८.८ प्रतिशत किशोरकिशोरीले डिप्रेसन वा चिन्ताका लक्षण अनुभव गरेको बताएका छन्। ०.६ प्रतिशतले आत्महत्याको सोच आएको र ०.८ प्रतिशतले आत्महत्याको प्रयास गरेको बताएका छन् ।

गण्डकी प्रदेशका ९८.६ प्रतिशत घरपरिवारले सुधारिएको खानेपानीको स्रोत प्रयोग गर्ने गरेका छन् । ९९.४ प्रतिशतले सुधारिएको चर्पी प्रयोग गर्ने र ९४.८ प्रतिशत घरपरिवारमा हात धुने स्थानमा साबुन र पानी उपलब्ध रहेको प्रतिवेदनले औल्याएको छ । तर पानी परीक्षणका क्रममा ७५.८ प्रतिशत घरपरिवारको पिउने पानीमा इकोलीको जीवाणु भेटिएको प्रतिवेदनले जनाएको छ ।

स्वास्थ्य बीमामा अगाडि
गण्डकी प्रदेशमा १५–४९ वर्ष उमेर समूहका ३४.३ प्रतिशत महिला र ३३.५ प्रतिशत पुरुष स्वास्थ्य बीमामा आबद्ध रहेका छन्।त्यस्तै ५–१७ वर्ष उमेर समूहका ३०.५ प्रतिशत तथा पाँच वर्षमुनिका २२.९ प्रतिशत बालबालिका स्वास्थ्य बीमामा आबद्ध रहेको सर्वेक्षणले देखाएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले यो सर्वेक्षणबाट प्राप्त तथ्याङ्क संघीय, प्रदेश तथा स्थानीय तहमा नीति निर्माण, योजना तर्जुमा तथा दिगो विकास लक्ष्यको अनुगमनमा उपयोगी हुने जनाएको छ। कार्यालयका निर्देशक कृष्ण तुलाधरले नतीजा प्रस्तुत गर्दै सर्वेक्षणले महिला, बालबालिका, स्वास्थ्य, शिक्षा, पोषण, मानसिक स्वास्थ्य, खानेपानी तथा सरसफाइजस्ता सामाजिक क्षेत्रको वास्तविक अवस्था चित्रण गरेको बताए । नेपालमा महिला तथा बालबालिकाको अवस्थाबारे राष्ट्रिय तथा क्षेत्रीयस्तरको अनुगमन मूल्यांकन, योजना तर्जुमा गर्न एवं स्तरीय तथा तुलनायोग्य सूचकहरू उपलब्ध गराउने प्रमुख उद्देश्य अनुरूप राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा आ.व. २०८१/८२ मा नेपाल बहुसूचक सर्वेक्षण सञ्चालन गरिएको उनको भनाई थियो । यो सर्वेक्षण नेपालको लागि चौथों हो ।

यस सर्वेक्षणमा तथ्याङ्क सङ्कलनको लागि नेपालभर ५४० क्लष्टर ( गणना क्षेत्र) हरूमध्ये सहरी क्षेत्रबाट ३०४ क्लष्टर र ग्रामीण क्षेत्रबाट २३६ क्लष्टर तथ्याङ्कीय विधिबाट छनोट गरी हरेक क्लष्टरबाट गणनाको लागि २४ ओटा घरपरिवारहरू छानिएका थिए। यसरी छानिएका जम्मा १२,९६० घरपरिवारहरुबाट परिवारिक विवरण सङ्कलन गरिएको थियो । जसमा प्रत्येक घरपरिवारमा भएका १५–४९ वर्ष उमेर समूहका महिला, १५–४९ वर्ष उमेर समूहका पुरुष, ५–१७ वर्ष उमेर समूहका बालबालिका तथा ५ वर्षमुनिका बालबालिकाहरूको विवरण सङ्कलन गर्नुका साथै बाल पोषणको स्थिति अवगत गर्नका लागि तौल तथा उचाई पनि मापन गरिएको थियो । गण्डकीको मनाङबाहेक ७६ जिल्लामा सर्वेक्षण गरिएको थियो । मनाङमा सर्वेक्षणका लागि घरधुरी संख्या अपुग भएकाले नसमेटिएको हो ।

पहिलो पटक १५–२४ वर्ष उमेर समूहका किशोरकिशोरीको मानसिक स्वास्थ्य सम्बन्धी विवरणसमेत सङ्कलन गरिएको थियो।
कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशकी सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले महिला र बालबालिकाको शिक्षा, स्वास्था तथा सामाजिक क्षेत्रको यथार्थ सूचक सर्वेक्षणले दिएको बताइन् । ‘सर्वेक्षणको नतीजाले योजना, नीति तथा कार्यक्रम बनाउने महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएकी छु’, उनले भनिन्, ‘तथ्यमा आधारित विकास मात्र दीगो हुन्छ ।’

राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी डा.कमलप्रसाद पोखरेलले कुनै पनि तथ्यांकले प्रशासनिक र कानुनी प्रावधान नखोजी यथार्थता देखाउने बताए । ‘गण्डकी धेरै कुरामा अगाडि रहेको छ, जुन राम्रो कुरा हो,’ उनले भने, ‘अभिभावक विदेश जाने र वाल पोषणमा सुधार गर्नु आवस्यक छ । आगामी योजनामा यो सुध्रिने विश्वास छ ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->