बागलुङ/जिल्लाका विद्यालयहरुमा मनोविमर्श कक्ष खुल्न थालेका छन् । बागलुङ नगरपालिकाले शिक्षकहरुका लागि मानसिक स्वास्थ्य तथा मनोविमर्श सम्बन्धि आधारभूत तालिम दिएपछि विद्यालयमा मनोविमर्श कक्ष खुल्न थालेका थालेका हुन् ।
बागलुङ नगरक्षेत्रका सामुदायिक र संस्थागत गरी हालसम्म २६ विद्यालयमा मनोविमर्श कक्ष स्थापना गरिएको छ । मनोसामाजिक परामर्शलाई विद्यालय तहसम्म पु¥याउने पालिकाको योजना छ । त्यसका लागि विद्यालयसंग सम्पर्क भइरहेको नगर उपप्रमख राजु खड्काको जानकारी दिनुभयो । नगरक्षेत्रमा ८२ सामुदायिक र २० संस्थागत विद्यालय छन् ।
न्यू एभरेष्ट, चिल्ड्रेन लाइफ, गुराँस विद्या सदन, युएस, गरिमा, धौलगिरी, सिद्धार्थ शिक्षा सदन, अमर आदर्श, गणेश, जनमत, जनता–धन, त्रिभुवन, पृथ्वी–हिरण्य, चौतारेडाँडा, महाविद्याजन, तित्याङ, सिगाना, विश्वकर्मा, मूलपानी, तितौरे, लहरेपिपल, विद्यामन्दिर, कुँडुले, रुद्रेपिपल माविसहित २६ विद्यालयमा मनोविमर्श कक्ष स्थापना गरिएको हो ।
बालबालिकाहरुको तनाव, चिन्ता, पीर, अलमललगायतका समस्यालाई सुनिदिएर मनको बेचैनीलाई कम गर्ने उद्देश्यले विद्यालयमा मनोविमर्श कक्ष स्थापना गरिएको पृथ्वी हिरण्य माविका प्रधानाध्यापक बुद्विप्रसाद शर्माले जानकारी दिए । ‘व्यक्तिगत समस्या खुलाउन नचाहने विद्यार्थीले विद्यालयमा छुट्टै शान्त र आरामदायी तरिकाले मनोविमर्श कक्षबाट निर्धक्क भएर आफ्ना कुरा राख्ने वातावरण सिर्जना हुनेछ,’ शर्माले भने ।
मनोवैज्ञानिक उपचार पद्धति मनोसामाजिक परामर्शले बालबालिकाको मनोसामाजिक सुस्वास्थ्यको प्रवद्र्धन तथा सिकाई तत्परताको विकासमा महत्वपूर्ण सहायता प्रदान गर्ने उप–प्रमुख खड्का बताउँछन् । बालबालिकासंग विश्वासिलो सम्बन्धको विकास र उनीहरुका समस्या समयमै पहिचान गरी व्यवस्थापनमा भावनात्मक सहयोग प्रदान गर्ने महत्वपूर्ण माध्यम मनोविमर्श सेवा भएको खड्काको भनाइ छ ।
विद्यालय जाने उमेरका बालबालिका विद्यालय नजाने, विभिन्न कारण देखाएर बीचैमा पढाइ छाड्ने वा विद्यालय नजानेलाई घरमै पुगेर परामर्श गर्ने, उनीहरुका कुरा सुनेर विद्यालय जाने वातावरण तयार गर्न नगरपालिकाले घरदैलो अभियान पनि चलाएको छ ।
नगरपालिकाको टोलीले मानसिक स्वास्थ्य तथा मनोविमर्श सेवालाई दिगो र प्रभावकारी बनाउन आवासीय पुनःस्थापना केन्द्र सञ्चालन गर्ने लक्ष्य बनाएको छ । त्यसको लागि गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङलाई भेटेर अवगत गराएको छ । उक्त भेटमा मन्त्री गुरुङले पुनस्थापना केन्द्र सञ्चालनबारे आगामी वर्षको बजेटमार्फत् सम्बोधन गर्ने आश्वासन दिएको खड्काले जानकारी दिए ।
‘बालबालिकाका भावनात्मक तथा व्यवहारिक समस्या पहिचान गर्न र मनोसामाजिक समस्याको कारण पहिल्याएर समस्या समाधानमा केन्द्रित रहन मनोविमर्श सेवा विद्यालय तहमा लागू गर्नसके अहिलेको समयमा महत्वपूर्ण उपलब्धि हुनेछ,’ खड्काले भने ।
बागलुङ नगरपालिकाले ६ महिने तालिम चलाएर २० जना मनोविमर्शकर्ता तयार गरेको छ भने गत सातामात्रै ४२ जना शिक्षकलाई आधारभूत तालिम दिएको छ । तालिम प्राप्त शिक्षकबाट विद्यार्थीको मनोसामाजिक समस्या पहिचान गर्न र मनोचिकित्सकको पहुँचमा बालबालिकालाई ल्याउन सहयोग पुग्ने खड्काले विश्वास व्यक्त गरे ।





