स्याङ्जा / गण्डकी प्रदेशका कृषि, भूमि ब्यवस्था तथा सहकारी मन्त्री भिमबहादुर कार्कीले मानव जीवन जोगाउन मौरी जोगाउनु पर्ने बताएका छन् । प्रथम फेदीखोला मौरी दिवस –२०८३ मा बिहीबार कुभिण्डेमा गरिएको कार्यक्रममा मन्त्री कार्कीले मौरी पृथ्वीबाट हराएमा त्यसको चार बर्षमा मानव हराउने बताएका हुन् ।
मौरी पालन प्रकृति जोगाउने र धर्ति जोगाउन भएको बताउदै कार्कीले मौरी एक उत्पादन अनेक भएको उल्लेख गरे । मौरी पालन जिविकोपार्जनका लागि मात्र नभई ब्यवसायिक उत्पादनमा ध्यान दिनुपर्ने बताउदै कार्कीले रोयल जेली उत्पादन गर्न सके आर्थिक समृद्धि गर्न सकिने जनाए ।
राम्रो कामका लागि गण्डकी प्रदेश सरकार सँगै रहेको साथमा साथ काधमा काध रहने बताउदै मन्त्री कार्कीले कृषक र कृषि पेशालाई सम्मानित बनाउन प्रदेश सरकारले नीति तथा कार्यक्रममा ५० प्रतिशत अनुदनमा कृषि एम्बुलेन्स कार्यक्रम ल्याएको बताए ।
कृषि पेशालाई मर्यादित बनाउन रिटर्न टु भिलेज कार्यक्रम प्रदेश सरकारले ल्याएको बताउदै मन्त्री कार्कीले गाउँमा आएर काम गर्नेलाई प्रदेश सरकारको सहयोग रहने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख श्री प्रसाद जिटी, पालिका उपाध्यक्ष देउकुमारी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत बिष्णु प्रसाद पोखरेल लगायतले धारणा राखेका थिए । कृषकलाई आत्मनिर्भर बनाउने उदेश्यले पालिकाले पालिका भित्र सामुहिक रुपमा मौरी पालन थालेको पालिका अध्यक्ष घनश्याम सुवेदीले बताए ।
पालिकामा एक वटा फेदिखोला सेरेना मौरी समुह र अन्य तीन वटा मौरी पालन पाठशाला मार्फत यहाँ मौरी पालन गरिएको हो भने यहाँका ७५ प्रतिशत कृषकले समेत घर घरमा मौरी पालन गरेका छन् । यहाँ मौरी समुहका २४ सदस्यले सात सय ८५ मौरी घार र अन्य कृषकले गरेर दुई हजार भन्दा बढी घार मौरी पालेको सुवेदीले बताए । पालिकाले एक हजार मौरीका घार ७० प्रतिसत अनुदानमा कृषकलाई प्रदान गरेको हो ।
नेटवर्क मार्फत मौरीको अनुगमन
यहाँ पालिकाले मौरी नेटवर्क मार्फत नै अनुगमन गरेको छ । आँधीखोलाका मदन पौडेलले निर्माण गरेको भूमि सेवा नेतवर्क वि डट भूमि डट अर्थ मार्फत पालिकाबाटै मौरीको अनुगमन गर्ने गरिएको हो । पालिकाले कृषकलाई ७० प्रतिसत अनुदानमा दिएका मौरीको घारमा क्युआर जोडिएको सोही मार्फत मौरीको बारेमा जानकारी हुने छ ।
कृषकले खिचेर पठाएको फोटो र पालिकाको अनुगमनमा क्युआरबाट मौरीको घार कहाँ छ, अवस्था कस्तो छ, रोग लागेको छ कि छैन पत्ता लाग्ने छ । यस्तै उत्पादन कस्तो छ, गोला फुटाउन वा नफुटाउने बारेमा समेत भूमि नेटवर्कबाट पत्ता लागाउन सकिने सुवेदीले बताए ।
दिवसमा मौरीलाई मन पर्ने चार सय कल्की, एक हजार चिउरी र ४५ राजबृक्षका बिरुवा कृषकलाई प्रदान गरिएको थियो भने कृषक पाठशालामा सहभागी उद्यमशिलता मौरी समुहका कृषकलाई दुई ÷दुई घार प्रदान गरिएको थियो ।
यस्तै दिवसमा मौरीको क्षेत्रमा काम गरेको कृषक विद्यार्थी तथा शिक्षकलाई सम्मान समेत गरिएको थियो ।





