म्याग्दी/ जिल्लाका ६ मध्ये ४ पालिकाले आगामी आर्थिक वर्षको लागि बजेट पारित गरेका छन् । २ पालिकामध्ये एउटाको बजेट पारित हुन बाँकी रहेको छ भने एउटाले आज गाउँसभा गरेर बजेट ल्याउँदैछ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम एवम् बजेट बेनी नगरपालिका सहित चार स्थानीय तहले पारित गरेका छन् भने दुई वटाले आज बुधबार गाउँसभाबाट पारित गर्दै छन् ।
रघुगंगा गाउँपालिकाले असार ४ गते नै नीति कार्यक्रम तथा बजेट पारित गरेको थियो । उसले आफूले देशमै पहिलो भएको समेत दावी गरेको छ । त्यस्तै असार ८ गते मालिका गाउँपालिकाले नीति तथा कार्यक्रम एवम् बजेट पारित गरेको हो । असार ९ मा बेनी नगरपालिका र मंगला गाउँपालिकाले पारित गरेका थिए । धवलागिरी गाउँपालिकाले ९ गते नै शुरु गरेको गाउँसभाबाट नीति तथा कार्यक्रम, लेखा समितिको प्रतिवेदन, चालु आर्थिक वर्षको खर्च अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ भने बिनियोजन विधेयक र बजेट तथा कार्यक्रम आज सभामा पेश गरेर पारीत गर्ने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।
त्यसैगरी अन्नपुर्ण गाउँपालिकाले भने आज १० गते गाउँसभाको आयोजना गरेको प्रमुख प्रशासकिय अधिकृत कपिल पाण्डेले जनाए । आजै नीति कार्यक्रम तथा बजेट पारित गर्ने कार्यसूचि रहेको समेत उनको भनाई छ । बेनी नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ७५ करोड ५२ लाख ७५ हजार रुपैयाँको प्रस्तावित बजेट पारित गरेको छ । नगर उपप्रमुख ज्योति लामिछानेले प्रस्तुत गरेको बजेटमा चालुतर्फ ५६ करोड ४ लाख ५० हजार (७४.२०) र पुँजीगत तर्फ १९ करोड ४८ लाख २५ हजार (२४.८०) मा नबढाइ खर्च गर्ने गरि बजेट पारित भएको हो ।
यसैगरी मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाको नीति तथा कार्यक्रम पछि उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगर पुनले आगामी आवका लागि चालुतर्फ ३४ करोड ३० लाख १९ हजार र पुजीगततर्फ १४ करोड ५५ लाख ८९ हजार गरी कुल ४८ करोड ८६ लाख ८ हजारको बजेट सभामा प्रस्तुत गरेकी थिइन् । गाउँसभाले आवश्यक छलफलपछि पारित गरेको थियो ।
मंगला गाउँपालिकाले ४६ करोड ५० लाख १८ हजार ७ सय ५९ रुपैयाँको बजेट पारित गरेको छ । बाबियाचौरमा सम्पन्न २३ औँ गाउँसभामा उपाध्यक्ष प्रेमकुमारी क्षेत्रीले प्रस्तुत गरेको बजेट सर्वसम्मत रुपमा पारित भएको हो । गाउँपालिकाले संघीय सरकारबाट सशर्त अनुदान चालुतर्फ २० करोड ७१ लाख, संघीय समानिकरण अनुदान ७ करोड ९४ लाख, संघीय विशेष अनुदान पुँजीगततर्फ १ करोड १० लाख, विशेष अनुदान चालुतर्फ ५८ लाख र समपुरक अनुदान पूँजीगततर्फ १ करोड ९५ लाख रुपैयाँ अनुमान गरिएको छ । त्यस्तै गण्डकी प्रदेश सरकार प्रदेश विशेष अनुदान ४० लाख, प्रदेश समपुरक अनुदान पूँजीगततर्फ ६० लाख र समानिकरण तर्फ ९६ लाख ५० हजार आय अनुमान गरेको छ ।
यसैबीच रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा गत असार ४ गते सम्पन्न २१ औं गाउँ सभाले ५६ करोड ४ लाख २० हजार सात सय रुपैयाँ बराबरको बजेट पारित गरेको हो । गाउँपालिकाले संघिय सरकारबाट प्राप्त हुने वित्तिय हस्तान्तरण, गण्डकी प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय हस्तान्तरण, राजश्व बाँडफाँडबाट हुने आय जस्ता शिर्षकबाट बजेट तर्जुमा गरेको छ ।





