शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकीका मुख्यमन्त्री पाण्डेले उद्घाटन गरे सम्झौताको समय अगाडि नै निर्माण भएका गोरखाका दुई मोटरेबल पुल

गण्डकीका मुख्यमन्त्री पाण्डेले उद्घाटन गरे सम्झौताको समय अगाडि नै निर्माण भएका गोरखाका दुई मोटरेबल पुल

एउटा पुल ७ करोड ५९ लाख ३० हजार र अर्काे पुल ३ करोड ५८ लाख ३९ हजार रुपैयाँमा निर्माण भएको हो ।


  • ढोरपाटन संवाददाता
  • असार २७ २०८३, शनिबार

गोरखा / कैयौं योजना अलपत्र भइरहेको, म्याद थप्दा थप्दै ‘क्रोनिक’ भइसकेको अवस्थामा गोरखाका दुईवटा मोटरेबल पुल ठेक्का सम्झौतामा उल्लेख भएको समयभन्दा अगावै निर्माण सम्पन्न भएका छन्।

एउटा पुल ७ करोड ५९ लाख ३० हजार र अर्काे पुल ३ करोड ५८ लाख ३९ हजार रुपैयाँमा निर्माण भएको हो ।

दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने सम्झौता भएका लुदीखोला पुल र चुक्ती खोलापुल एक वर्ष नबित्दै निर्माण सम्पन्न भएका हुन्।

पूर्वाधार विकास कार्यालय गोरखाले निर्माण गरेका दुवै पुलको शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरेका छन्।

गोरखा नगरपालिका-१२, स्याउली बजार, भट्टफाँट र सहिद लखन गाउँपालिका १ जोड्ने ६० मिटर लामो पुलको मुख्यमन्त्री पाण्डेले उद्घाटन गरेका हुन्। त्यस्तै पालुङ्टार नगरपालिका ९ स्थित तल्लो सेरा र माथिल्लो सेरा जोड्ने २० मिटर लामो पुलको पनि शनिबार नै उद्घाटन गरेका हुन्।

निर्धारित समय अगावै पुल निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायीहरू राजेन्द्र थपलिया र मिलन खड्कालाई मुख्यमन्त्री पाण्डेले उद्घाटन समारोहमा अभिनन्दन पनि गरेका छन्। दुवै निर्माण व्यवसायीलाई मुख्यमन्त्रीले दोसल्ला ओढाएर सम्मान गरेका हुन्।

लुदीखोला पुल २०८४ असार २१ गतेभित्र निर्माण सम्पन्न गरिसक्ने गरी गणेशकुण्ड इन्फ्रास्ट्रक्चर एण्ड विल्डर्सले पूर्वाधार विकास कार्यालयसँग २०८२ असार २२ गते योजना सम्झौता गरेको थियो।

गत असोज महिनाबाट निर्माण कार्य आरम्भ गरेको सो कम्पनीले यही असारको २३ गतेभित्र निर्माण सम्पन्न गरेको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले जानकारी दिए।

सो पुल ७ करोड ५९ लाख ३० हजार रुपैयाँमा निर्माण सम्पन्न भएको अर्यालले जानकारी दिए। त्यस्तै चुक्तीखोला पुल २०८३ पुस २१ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी अमृत कन्स्ट्रक्सन प्रालिले पूर्वाधार विकास कार्यालयसँग ठेक्का सम्झौता गरेको थियो।

गत भदौ महिनामा निर्माण कार्य आरम्भ गरी गत असार १५ गते निर्माण सम्पन्न गरिसकेको कार्यालय प्रमुख अर्यालले जानकारी दिए।

सो पुल तीन करोड ५८ लाख ३९ हजार रुपैयाँमा निर्माण सम्पन्न गरेको कार्यालयले जनाएको छ। लुदीखोलामा पक्की पुल बनेपछि सहिद लखन गाउँपालिका वडा नं. १, २ र ३ का बासिन्दालाई गोरखा सदरमुकामसम्म पुग्न सहज हुने भएको छ।

त्यस्तै चुक्तीखोला पुल बनेपछि गोरखा नगरपालिका वडा नं. ९ का बासिन्दा लाभान्वित हुने भएका छन्।

दुवै पुलको अलग अलग उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले देश विकासमा निर्माण व्यवसायीको महत्वपूर्ण भूमिका हुने बताए। यसैगरी निर्माण व्यवसायीले समयमै काम गरेमा देशभरि अलपत्र योजनाहरू नरहने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->