मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

समयअघि नै बने २ पुल, मुख्यमन्त्रीले गरे उद्घाटन

समयअघि नै बने २ पुल, मुख्यमन्त्रीले गरे उद्घाटन


  • ढोरपाटन संवाददाता
  • असार २८ २०८३, आइतबार

पोखरा/गोरखा नगरपालिका–१२ र शहीद लखन गाउँपालिका–१ जोड्ने लुदी खोला पुल र पालुङटार नगरपालिका–९ शेरास्थित चुक्ति खोलामा पुल बनेका छन् । पुलको शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गरे ।

मुख्यमन्त्री पाण्डेका अनुसार ती दुवै पुल सम्झौता अवधिभन्दा छिटो बनेका हुन् ।

स्याउली बजार हुँदै मनकामना जाने सडक खण्डमा निर्माण भएको लुदी खोला पुलको कुल लागत ७ करोड ५९ लाख रहेको छ । दुई वर्षमा काम सम्पन्न गर्ने गरी २०८२ साल असार २२ गते गणेशकुण्ड इन्फास्ट्रक्चर एन्ड बिल्डर प्रालिसँग सम्झौता भएको उक्त पुलको निर्माण कार्य एक वर्ष अगावै सकिएको पूर्वाधार विकास कार्यालय प्रमुख सन्तोष अर्यालको भनाइ छ । प्री–स्ट्रेस, टी–बिम प्रकारको उक्त पुलको कुल लम्बाइ ३० मिटर र चौडाइ ८.४० मिटर रहेको छ ।

समय अगावै काम सम्पन्न गर्ने निर्माण कम्पनीलाई कार्यालयले सम्मानसमेत गरेको छ । पुल उद्घाटन कार्यक्रममा निर्माण कम्पनीका सञ्चालक राजेन्द्र थपलियालाई दोसल्ला ओढाएर कदर पत्रसहित सम्मान गरिएको हो ।

पालुङटारको चुक्ति खोलामा निर्मित पुल ३ करोड ४२ लाख लागतमा बनेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । त्यसको लम्बाइ २० मिटर र चौडाइ ८.४० मिटर छ ।

उक्त पुल निर्माणका लागि २०८२ साल असार २२ गते अमृत कन्स्ट्रक्सन प्रालिसँग सम्झौता भएको थियो । आउँदो पुस महिनासम्म म्याद रहे पनि ६ महिना अगावै पुल सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

उक्त पुलबाट पालुङटार नगरपालिकाका वडा नम्बर ६, ९, १० तथा गोरखा नगरपालिका–१२ का स्थानीय बढी लाभान्वित हुनेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->