बागलुङ/ ‘हिलको पहिचान, संस्कृति संरक्षण, समृद्ध समाज निर्माण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ ताराखोला गाउँपालिका–३ हिलमा साउने संक्रान्ती मेला भव्यताका साथ सम्पन्न भएको छ। साउने युवा क्लबले आयोजना गरेको मेलाले हिल क्षेत्रलाई खेल, संस्कृति र आर्थिक गतिविधिको केन्द्र बनाएको छ।
मेलाको मुख्य आकर्षण खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता रहेको थियो। उक्त प्रतियोगिताको फाइनलमा गलकोट नगरपालिका– २ को चिनामाली युवा क्लबले शानदार प्रदर्शन गर्दै पिरो स्पोर्ट्स जापान लाई ३–० को सोझो सेटमा पराजित गर्यो । चिनामालीले पहिलो सेट २५–२, दोस्रो सेट ३५–३ र तेस्रो सेट २५–१४ ले जित्दै उपाधि आफ्नो नाममा लेखायो।
उपाधिसँगै चिनामालीले नगद १ लाख १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ। उपविजेता बनेको पिरो स्पोर्ट्स जापानले ८० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै खुल्ला वडास्तरीय प्रौढ भलिबल प्रतियोगितामा गलकोट–७ मल्म प्रथम र गलकोट२ नरेठाँटी द्वितीय भएका छन्। मल्मले ४० हजार र नरेठाँटीले २८ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन्।
मेलामा नृत्य प्रतियोगिता पनि आयोजना गरिएको थियो। चर्चित कलाकार ईश्वर सिंह सहित स्थानीय कलाकारको सांगीतिक प्रस्तुतिले मेला थप रमाइलो बनेको थियो। साउने संक्रान्तीको अवसर पारेर आयोजना गरिएको मेलामा स्थानीय उत्पादनको प्रवर्द्धन र संस्कृतिको जगेर्ना गर्नुका साथै युवाहरूलाई खेल क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्य राखिएको आयोजक साउने युवा क्लबले जनाएको छ। स्थानीयले मेलाले गाउँको पहिचान बढाउनुका साथै पर्यटन र आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाएको प्रतिक्रिया दिएका छन्।





