बागलुङ, गलकोट/ गलकोट नगरपालिका वडा नं. ४ को चमुवा आधारभूत विद्यालयले असम्भवलाई सम्भव बनाएर देखाएको छ। कक्षा १ देखि ८ सम्म सञ्चालनमा रहेको यस विद्यालयले लगातार शतप्रतिशत् शैक्षिक नतिजा हासिल गर्दै जिल्लाकै उत्कृष्ट सामुदायिक विद्यालयका रूपमा स्थापित गर्न सफल भएको छ ।
विद्यालयले पछिल्लो ३ वर्ष कक्षा ८ मा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको हो । सीमित स्रोतसाधन, शिक्षक अभाव र आवतजावतको कठिनाइका बीच पनि यो उपलब्धि हासिल हुनु ठूलो कुरा रहेको विद्यालयले जनाएको छ । शिक्षकको समर्पण, विद्यार्थीको लगनशील मेहनत, अभिभावकको साथ र विद्यालय व्यवस्थापनको दूरदृष्टिले गर्दा विद्यालयले आज नयाँ उचाइ चुम्न सफल भएको हो ।
पहिले जस्तो जीर्ण भवन होइन, अहिले विद्यालयमा आकर्षक भवन, सफा र व्यवस्थित खेलमैदान र हरियाली वातावरण छ। कक्षा कोठादेखि शौचालयसम्म सफा राख्ने अभियानले गर्दा विद्यार्थी र अभिभावक दुवै विद्यालयप्रति आकर्षित भएका छन्। अतिरिक्त क्रियाकलाप, खेलकुद र नियमित अभिभावक भेटघाटले शैक्षिक गुणस्तर अझै मजबुत बनाएको छ।
विद्यालयका प्रधानाध्यापक नवीन सुवेदी भन्छन, ‘हामी दुर्गममा छौँ भनेर कहिल्यै निराश भएनौँ। बरु चुनौतीलाई अवसर बनायौँ। हरेक विद्यार्थीलाई व्यक्तिगत रूपमा फलोअप गर्ने, नियमित गृहकार्य र अभिभावकसँगको समन्वय नै हाम्रो सफलताको मुख्य सूत्र हो।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास सुवेदीले समुदायको एकताकै कारण विद्यालयको मुहार फेरिएको बताए । ‘सरकार, अभिभावक र सरोकारवाला सबैको सहयोग भएमा सफल भइँदोरहेछ’, उनले भने ।
भौगोलिक विकटताका कारण धेरै विद्यालय ओझेलमा पर्ने गरेपनि चमुवा आधारभूत विद्यालयले देखाएको यो सफलताले इच्छा भए सबै सम्भव छू भन्ने सन्देश दिएको छ। आज यो विद्यालय केवल नतिजाको लागि मात्र होइन, ग्रामीण शिक्षाको प्रेरणादायी मोडेलका रूपमा चिनिएको छ।
साथै बिद्यालय प्रबिधिमैत्री छ । हरेक कक्षाकोठामा स्मार्ट बोर्डको ब्यबस्था समेत गरिएको छ । विद्यालयमा हाल १०७ विद्यार्थी छन् । ८ कक्षामा भने जम्मा ८ जनामात्रै छन् । सुरुसुरुमा विद्यार्थी संख्या उल्लेख्य भए पनि हाल बढ्दो बसाइसराईले विद्यार्थी घट्न पुगेको विद्यालयले जनाएको छ । विद्यालयको शैक्षिक वातावरणका कारण छिमेकी वडा नम्बर १ को दुधिलाभाटीबाट समेत विद्यार्थी आउने गरेका छन् ।





