सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

नाईरोबी फ्लाई : बढ्दो जोखिम र सावधानीका उपाय

नाईरोबी फ्लाई : बढ्दो जोखिम र सावधानीका उपाय

नाइरोबी फ्लाइले टोक्दैन, तर किचिँदा निस्कने रसायनले छालामा गम्भीर जलन र घाउ बनाउन सक्छ । समयमै सावधानी अपनाए यसको अधिकांश असरबाट बच्न सकिन्छ ।


  • कृष्णकुमार सैजु
  • साउन १३ २०८३, बुधबार

वर्षा याम सुरु भएसँगै नेपालका विभिन्न जिल्लामा ‘नाइरोबी फ्लाई’ भनेर चिनिने कीराको आतंक बढ्ने गरेको छ । प्रत्येक वर्ष हजारौँ मानिस यसको सम्पर्कमा आएर छालामा जलन, फोका, घाउ तथा लामो समयसम्म रहने कालो दागको समस्याबाट प्रभावित हुने गरेका छन् ।

नाइरोबी फ्लाई के हो ?
नाईरोबी फ्लाई वास्तवमा पेडोरिस प्रजातिको सानो रातो–कालो रंगको कीरा हो । यसको नाम ‘नाइरोबी’ भए पनि यो अफ्रिकामा मात्र सीमित छैन । नेपालसहित दक्षिण एसिया, दक्षिण पूर्वी एसिया तथा अन्य धेरै उष्ण प्रदेशमा पनि पाइन्छ ।

यसले मानिसलाई टोक्दैन वा डस्दैन । समस्या तब हुन्छ जब यो शरीरमा बसेको अवस्थामा थिचिन्छ वा किचिन्छ । त्यस बेला यसको शरीरबाट निस्कने पेडेरिन नामक विषालु रसायन छालामा लागेर तीव्र प्रतिक्रिया गराउँछ ।

देखिन सक्ने लक्षण
–छालामा पोल्ने वा जल्ने अनुभूति
–रातोपन र सुन्निने
–पानी भरिएका फोका
–तीव्र जलन र दुखाइ
–चिलाउने वा असहज महसुस हुने
–घाउ निको भएपछि हप्तौँ वा महिनौँसम्म कालो दाग बस्न सक्ने

यदि पेडेरिन आँखा मा पुग्यो भने आँखा सुन्निने, अत्यधिक दुख्ने, आँसु आउने तथा दृष्टिमा अस्थायी समस्या देखिन सक्छ । यदि यो रसायन आँखा, ओठ, मुख, नाक, जानेन्द्रिय, वा अन्य संवेदनशील छालामा लाग्यो भने सामान्यभन्दा धेरै पीडा, सुन्निने, जलन र संक्रमणको जोखिम बढ्न सक्छ । कतिपय अवस्थामा दोस्रो चरणको ब्याक्टेरियल संक्रमण भई चिकित्सकीय उपचार आवश्यक पर्न सक्छ । यस्तो अवस्था दुर्लभ भए पनि बेवास्ता गर्नु हुँदैन ।

लेखक

सम्पर्क भएलगत्तै के गर्ने ?
–कीरालाई नथिची हल्कासँग फुकाल्ने वा झार्ने ।
–प्रभावित भागलाई तुरुन्त साबुन र प्रशस्त पानीले राम्रोसँग धुने ।
–त्यसपछि हातले आँखा वा शरीरका अन्य भाग नछुने ।
–आवश्यकता अनुसार चिसो सेक गर्ने ।
–धेरै जलन, ठूलो फोका, आँखा वा संवेदनशील अंग प्रभावित भए वा संक्रमणको लक्षण देखिएमा तुरुन्त छाला रोग विशेषज्ञ वा नजिकको स्वास्थ्य संस्थामा जाने ।

के नगर्ने ?
–कीरालाई हातले किच्ने ।
–प्रभावित भाग धेरै कोट्याउने ।
–मनपरी औषधि वा घरेलु लेप लगाउने ।
–ढिलोसम्म उपचार नगरी बस्ने ।

वर्षायाममा किन बढ्छ जोखिम ?
वर्षायाममा आद्र्रता बढ्छ, किराको संख्या बढ्छ, राति बत्तीको उज्यालोतर्फ आकर्षित हुन्छ, खुला झ्यालबाट घरभित्र पस्ने सम्भावना धेरै हुन्छ । त्यसैले वर्षाको मौसममा विशेष सतर्कता आवश्यक हुन्छ ।

कसरी बच्ने ?
–राती झ्यालमा जाली प्रयोग गर्ने ।
–अनावश्यक बाहिरी बत्ती कम प्रयोग गर्ने ।
–सुत्दा झुल प्रयोग गर्ने ।
–शरीरमा बसेको देखिएमा नथिची विस्तारै हटाउने ।
–बच्चाहरूलाई यस्तो कीरा देखेमा नसमाउन सिकाउने ।
–घर वरिपरि सरसफाइ कायम राख्ने ।

नाइरोबी फ्लाइले टोक्दैन, तर किचिँदा निस्कने रसायनले छालामा गम्भीर जलन र घाउ बनाउन सक्छ । समयमै सावधानी अपनाए यसको अधिकांश असरबाट बच्न सकिन्छ ।
सचेत बनौँ, सुरक्षित रहौँ । एउटा सानो गल्तीले हप्तौँसम्म दुखाइ र महिनौँसम्म दाग छोड्न सक्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->